स्टोरी

तीन गृहमन्त्री फेरिँदा पनि पक्राउ परेनन् जीबी राई

By ज्ञानु घिमिरे

September 02, 2024

काठमाडौं– आधा दर्जनभन्दा बढी धेरै सहकारी संस्थाको बचत रकम दुरुपयोग आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) करिब एक वर्षदेखि फरार छन् ।

दुई वर्षअघिसम्म रवि लामछिानेका साझेदार उनी अहिले मलेसियामा लुकेर बसेको सूचना सरकारसँग पनि छ । तर उनी पक्राउ पर्न सकेका छैनन् ।

वर्तमान सरकारका गृहमन्त्री रमेश लेखकले केही समयअगाडि जीबीलाई समात्न नेपाल प्रहरीले आफ्नो ढंगले काम गरिरहेको बताएका थिए । तर, अहिलेसम्म सरकारले जीबीलाई खोज्ने प्रक्रिया नथालेको प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको आरोप छ । तर रास्वपाकै सभापति लामिछाने गृहमन्त्री हुँदा पनि जीबीलाई ल्याउने ठोस पहल गर्न सकेनन् ।

यता सहकारीको समस्या अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले पनि राई मलेसियामै भएको सूचना सरकारलाई दिइसकेको छ । तर, पनि सरकारले प्राविधिक कारण भन्दै राईलाई पक्राउको पहल गर्न सकेको छैन । समिति सभापति सूर्य थापाले यसअघि नै राई मलेसियामा भएको जानकारी पाएको बताएका थिए । उनलाई सरकारले झिकाउने आश्वासन दिएको उनको भनाइ थियो ।

यति मात्रै होइन, समितिको बयानमा आएका ५० जनामध्ये जीबी राईको सहकारीसँग ३० भन्दा बढी जोडिएका बताएका छन् । देशभर सहकारीको लहरो बनाएर राईले जनताको पसिना लुटेको बयानमा आएकाहरूले बताएका छन् ।

प्रमाण छ, पक्राउ पर्दैनन्

जीबी राईको संलग्नता अति समस्याग्रस्त आधा दर्जन सहकारीमा रहेको समितिले जनाएको छ । अन्य सहकारीमा पनि कुनै न कुनै रूपमा जीबी जोडिएको हुन सक्ने संसदीय समिति सदस्यहरू बताउँछन् । जीबीले देशभर सहकारीको नेट्वर्क बनाएर बचत हिनामिना गरेको प्रमाण संसदीय समितिसम्म आइपुगेको समिति सदस्यहरूले उल्लेख गरेका छन् ।

जीबीले काठमाडौंमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थां, पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट बचत हिनामिना गरेर व्यक्तिगत स्वार्थमा लगाएको तथ्य फेला परेको छ ।

त्यस्तै, समता बचत तथा ऋण सहकारी संस्था नेपालगञ्ज, सारा चितवन बचत तथा ऋण सहकारी संस्था, चितवन र सानो पाइला बचत तथा ऋण सहकारी संस्था, वीरगञ्जको रकम पनि राईले हिनामिना गरेको प्रमाण भेटिएको समितिका सदस्यले बताएका छन् ।

यी ६ सहकारीमा आबद्धहरूले समितिसँगको बयानमा जीबीले नै सबै रकम हिनामिना गरेको बताएका छन् । सम्पूर्ण कारोबार नै उनैले गर्ने गरेको पनि उनीहरूको भनाइ छ । जीबीका साझेदार भनिएका कुमार रम्तेल, रास्वपा सभापति लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले पनि आफूहरूको हस्ताक्षर किर्ते भएको बयान दिएका थिए ।

तीमध्ये रम्तेल अहिले कास्की कारागारमा थुनामा छन् । यी तीनजनाले पनि राई मलेसियामा लुकेको बयान दिए । यति मात्रै होइन, लामिछानेले आफू गृहमन्त्री हुँदा राई प्रक्रिन खोजे पनि सरकारले नै भगाएको आरोपसमेत समितिसँगको बयानमा लगाए । आफ्नै पूर्वसाझेदारलाई पक्राउ गर्न खोज्दा सरकारी निकायले नै उनलाई भगाएको दाबी लामिछानेको थियो ।

जीबीविरुद्ध सहकारीको रकम हिनामिनामा प्रमाण भेटिए पनि सरकारले नसमातेको भन्दै सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक तथा सफ्टवेयर डेभलपर भगीश्वर अर्यालले बयानमा गुनासो पोखे ।

‘मैले गल्ती गरेको छैन । गरेको भए कारबाही भोग्न तयार छु । तर जीबी राई जस्तो ठूलो मान्छेलाई पहिले पक्रिनु पर्छ । उनलाई ल्याइयोस्’, अर्यालले बयानमा भने, ‘हामीलाई चाहिँ जेलमा राख्ने ? खै त सरकारले ठूलो मान्छे पक्रिएको ?’

यस्तै सुप्रिम सहकारी बुटवलकी क्यासियर रोशनी गुरुङले बयानमा जीबी र रविका कारण आफ्नो जीवन बर्बाद भएको पीडा पोखिन् । ‘रवि र जीबीका कारण केरो जीवन बर्बाद भयो । म न्याय माग्न कहाँ जाऊँ, न्याय चाहियो’, उनले बयानमा भनिन् ।

उनी २०८० वैशाखमा २ लाख धरौटी बुझाएर रुपन्देही जिल्ला अदालतको आदेशमा छुटिसकेकी छन् । तर आफूलाई सहकारी ठगीको मतियारका रुपमा समाजले हेरिरहेको उनले बताइन् ।

जीबीलाई पक्रिने काम सरकारको

सहकारी छानबिन समितिले विभिन्न प्रमाण फेला परिसकेकाले अब जीर्बीलाई पक्रिने कुरा सरकारको हातमा रहेको नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल बताउँछन् ।

सरकारले चाहेमा जुनसुकै बेला प्रमाणका आधारमा पक्रिने सक्ने उनी बताउँछन् । प्रहरीले ठूला ठूला घटनाका अपराधी र आरोपीलाई देशभित्रै र विदेशमा पनि पक्रिएको बताउँदै उनले भने, ‘राजनीतिक स्वार्थ नभए प्रहरीलाई अपराधी पक्रिन समस्या नहुनुपर्ने हो ।’

यता गृहमन्त्री रमेश लेखक प्रहरीले आफ्नो ढंगले काम गरिरहेको बताउँछन् । उनले भने, ‘हरेक कुराको जवाफ कामले देखाउँछ । प्रहरीले काम गरिरहेको छ ।’

समिति सभापति सूर्य थापा पनि जीबीलाई नेपाल ल्याउन पक्रिने काम सरकारको भएको बताउँछन् । समितिले सरकारलाई यसबारे जनकारी दिइसकेको उनले बताए ।

राजनीतिक स्वार्थ हुन सक्छ : मल्ल

सरकारले अहिले पनि जीबीलाई पक्रिन पहल गरिरहेको जनाएको छ । तर नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरू सरकारको कामलाई शंकास्पद बताउँछन् ।

पूर्वडीआईजी मल्लले सरकारले यस प्रकरणमा राजनीतिक स्वार्थ राखेजस्तोे देखिएको बताए । राजनीतिक स्वार्थ नभए जीबीलाई पक्रिन कुनै समस्या नभएको उनको तर्क छ ।

मल्लले जीबी मलेसियामा बसेको पत्ता लागेको भए रेर्ड कर्नर नोटिस गरेर नेपाल ल्याउन सकिने बताए ।

उनले नेपालमा गरेका अपराधहरू अनुसन्धानले प्रमाणित भएमा तिनलाई सम्बन्धित देशमा पेस गरेर फिर्ता ल्याउन सकिने अवस्था रहेको पनि बताए ।

कुनै एक देशमा भएको अपराधलाई अर्को देशले अपराध मान्न नसक्ने अवस्थामा जीबीका गल्तीको प्रमाण लिखित रुपमा पेस गर्न सकिने व्यवस्था छ ।

तर यो प्रक्रिया नै सरकारले सुरु नगरी हल्ला गरेर बसेको मल्लको गुनासो छ । अधिकारीरूले जीबीले नेपाली राहदानी त्यागेर मलेसियन नागरिक भएको कतै नदेखिएको बताएका छन् । ‘नेपालको पहल नदेखिएकाले कतै–कतै राजनीतिक व्यक्तिहरूको स्वार्थ हाबी भएको शंका गर्ने ठाउँ छ’, मल्लले भने ।

उनले थपे, ‘यदि जिबिले नेपाली पासपोर्ट त्यागेको भए पनि अन्य प्रकृर्या छन् । कुनै फरक पर्दैन ।’

उनले विभिन्न समयमा विश्वभर अपराधी पक्रन यी अभ्यास भइरहेको बताए । ‘सरकारले चाहेमा पक्रिन सक्दैन र ? खै त पहल भएको ?’, उनले प्रश्न गरे ।

यस्तै, अर्का पूर्व डीआईजी पनि सरकारले जीबीलाई देखाएर सहकारीको समस्या समाधान नगर्ने प्रपञ्च रचेको बताउँछन् । उनले राजनीतिक आस्था र पहुँचका आधारमा अपराधी पक्रिने, नपक्रिने गर्दै आएको तर्क गरे।

सुपुर्दगीे सन्धि भएको देशमा रहेका व्यक्तिलाई प्रहरीले तुरुन्त पक्राउ गरेर पठाउने व्यवस्था छ । ती पूर्व डिआइजीले भने, ‘इनटरपोलबाट रेड कर्नर नोटिस जारी भएपछि पक्रिएर पठाउन सकिने व्यवस्था छ । यो आम चलन हो ।’

तर नेपाल र मलेसियाबीच सुपुर्दगी सन्धि भएको छैन । राजनीतिक समझदारी र कूटनीतिक सम्बन्ध भने बलियो ।

राजनीतिक समझदारी भएपछि पनि यसअघि पनि थुप्रै मानिस पक्राउ परेको ती डीआईजीको भनाइ छ । ‘बाहिर जीबी भेटिएनन् भन्ने तर भित्रचाहिँ पक्रिन पहल नगरेको हो कि ? उसले भित्र मिलाइराख्यो ? बाहिर सरकार चाहिँ नागरिक ढाँट्ने गरी कराएर बसेको छ’, उनले भने ।

नेपाल प्रहरीका पूर्वअधिकारीहरू प्रहरी पठाएर जिबीलाई पक्रन नसक्ने अवस्थामा मलेसियाको सहयोग लिन सकिने बताउँछन् । मलेसियाले मागेको अवस्थामा नेपालबाट प्रहरी गएर अनुसन्धानमा सघाउन सक्ने उनीहरूको तर्क छ ।

नेपाल र मलेसिया सरकारको उच्चस्तरीय समझदारीमा जीबीलाई नेपाल ल्याउन सक्ने उनीहरू दाबी गर्छन् ।

तीन गृहमन्त्री आए, जीबी ल्याएनन्

जीबी राई सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिँदा नारायणकाजी श्रेष्ठ थिए । त्यसबेला राईलाई पक्राउ गरेको समाचार पनि आएका थिए । श्रेष्ठले पनि प्रहरीको उच्च तहलाई अह्राएर एक्सनमा उतारेको दाबी गरेका थिए । तर जीबी पक्राउ परेनन् । त्यसपछि रास्वपा सभापति रवि लामिछाने गृहमन्त्रीमा फर्किए । गोर्खा मिडिया नेट्वर्कका साझेदार समात्न लामिछानेमाथि दबाब थियो । अर्कातिर राईलाई जोगाएको आरोप पनि उनलाई लाग्यो । लामिछानेले राईलाई जसरी पनि पक्रिने जिकिर गरे ।

त्यसबेला मलेसियाका गृहमन्त्रीसँग फोन संवाद गरेर लामिछानेले राईबारे सूचना मागेको आफैँले जानकारी दिएका थिए । पक्रिन नसकेपछि चितवन पुगेर लामिछानेले वैशाख १९, ०८१ मा यसअघिको सरकारले जीबीलाई भगाएको आरोप लगाए । उनले त्यो बेला भने, ‘भगाएको मान्छेलाई खोज्न समय लाग्छ । नियन्त्रणमा लिने प्रयास भइरहेको छ। तर, यत्रा समस्या आउँदाआउँदै भगाएको किन भन्ने प्रश्न सोध्न सकिन्छ नि ।’

त्यसपछि कसले भगाएको भन्ने प्रश्न लामिछानेलाई पत्रकारले गरे । उनले जवाफमा भने, ‘भाग्दाखेरि सरकारमा को थियो ?’

रविले स्टन्टबाजी मात्रै गरेको बताउँदै नेपाली कांग्रेसले त्यसबेला आलोचना गरेको थियो । कांग्रेस नेताहरूले रवि जीबी भगाउन लागेको बताउँथे ।

तर लामिछानेले समितिको बयानमा भने तत्कालीन सरकारले जीबीलाई भगाएको दाबी गरे । उनले भने, ‘सरकारले भगाएको जीबी राई खोज्दै थिएँ, मेरो मन्त्री पद गयो । अब गृहमन्त्री रमेश लेखकलाई यसमा लाग्न लगाउनस् ।’

जीबीलाई कसको संरक्षण ?

नेपाली कांगेसले करिब दुई महिना प्रतिनिधि सभा बैठक अवरोध गरेपछि माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला संसदीय समिति बनाउने निर्णय भएको थियो ।

त्यसबेला सदनमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक र महामन्त्री गगन थापा लगायतले गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको प्रमाण भेटिएको दाबी गरेका थिए ।

उनीहरूले प्रमाण नै भएकाले गृहमन्त्री लामिछानेलाई तुरुन्त पक्राउ गर्नुपर्ने आधार भएको आवाज सदनमा उठाए । तर एमाले र माओवादी पनि संलग्न सरकारमा लामिछाने आफैँ भएकाले उनलाई बचाउन दुवै दल लागे । आरोप लाग्दैन पक्राउ र छानबिन हुन नसक्ने भन्दै समिति गठन गर्न सबै दल तयार भए ।

तर अहिले एमाले र कांग्रेसको सरकार बनेको छ । प्रधानमन्त्रीमा ओली र गृहमन्त्रीमा लेखक आफैँ छन् । यति समयसम्म सरकारले न त रविलाई सहकारी प्रकरणको दोषी किटान गर्न सकेको छ जन जीबी ल्याउन सकेको छ ।

पूर्व गृहमन्त्री रविले सार्वजनिक कार्यक्रममै जीबीलाई पक्रिएर नेपाल ल्याउन गृहमन्त्री र सरकारलाई चुनौती दिइरहेका छन् । सरकारले चाहे जीबीलाई पक्रिन सक्ने पूर्वडीआईजीहरूको तर्क छ ।

उता प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा पनि सरकारले सहकारीको समस्या समाधान गर्न जीबी राईलाई पक्रिनु पर्ने बताउँछन् । जीबीलाई देखाएर सरकार समस्याबाट भाग्न खोजेको सापकोटाको आरोप छ ।

अर्कातिर सत्ता पक्षीय नेताहरू पनि सहकारी ठगीका मुख्य दोषी जीबी भए सरकारले पक्रिन कूटनीतिक पहल गर्नुपर्ने बताइरहेका छन् ।

गृहमन्त्री लेखक भने प्रहरीले आफ्नो काम गरिरहेको बताइरहेका छन् । जीबी पक्रिएर ल्याउन सके सहकारीको ८० प्रतिशत समस्या समाधान हुने तर्क उनीहरूको छ ।

याे पनि हेर्नुहाेस् :

सहकारी ठगी : जेलका १९ सहित ५० जनासँग बयान, चोखिन खोजे ठूलाबडा र पहुँचवाला

सहकारीमा गगन–रवि वाकयुद्ध : ४ नम्बर बुँदाले गर्‍यो संकटमोचन

सबैले बोले, आफूलाई जोगाउँदै जीबी राईलाई पोले

जीबीलाई पनि पोलेनन् विपिनले, अब छवि र रविलाई बयानमा तान्दै संसदीय समिति