राजनीति

वर्षमानको दाबी- वर्तमान सरकारका कारण जनता उकुसमुकुस भएका छन्

By खबरहब

September 02, 2024

नेपालगञ्ज- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन् ।

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बाँके जिल्ला सम्मेलनलाई सोमबार नेपालगञ्जमा सम्बोधन गर्दै पुनले सदन र सडकबाट जनताको पक्षमा काम गर्न सरकारलाई खबरदारी गर्ने बताए ।

पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन र समृद्धिका पक्षका काम गर्दा बिचौलियाहरूको डिजाइनमा कांग्रेस–एमालेले रातारात समीकरण निर्माण गरेको गरेको आरोप लगाए ।

सरकारले जनताको पक्षमा काम गरेकै कारण सरबारबाट बाहिरिँदा पार्टी पंक्तिको मनोबल उच्च भएको उनको भनाइ थियो । पुनले सातवटै प्रदेशका परामर्श बैठक सकिँदै पार्टीभित्रका आन्तरिक समस्या समाधान भएर गएको दाबी गरे ।

अब एकताबद्ध भएर सडक र सदनबाट संघर्ष गर्ने उनले बताए । ‘हामीलाई सरकारमा जान होइन, जनतामा जान हतारो छ’, पुनले भने, ‘हामी जनताको एजेण्डामा एकजुट सडक र सदनबाट सरकारलाई खबरदारी गर्छौं, संघर्ष गर्छौं ।’

मुलुकको राजनीतिमा बिचौलियाको संरक्षण गर्ने, भ्रष्टाचार र राज्य दोहन गर्ने र सुशासनका लागि त्यस्ता प्रवृत्तिहरूसँग संघर्ष गर्नेहरूबीचको ध्रुवीकरण पैदा भएको टिप्पणी पुनले गरे ।

‘बिचौलियाहरूको पक्षमा सरकार छ । हामी तिनीहरूलाई पराजित गर्नुपर्ने पक्षमा छौं । हामीले सरकारमा हुँदा भ्रष्टाचार र राष्ट्रिय सम्पत्ति दोहन गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गरेका थियौं’, पुनले भने, माओवादीले सरकार छाडेपछि पनि हाम्रो पंक्ति किन उत्साहित छ र उच्च मनोबल किन छ भन्दा सामाजिक न्याय र सुशासन लागि जनताको आकांक्षाका अनुसार काम गरेका छौँ ।’

पुनले सरकारबाट बाहिरिएपछि पुराना संसदवादी पार्टीहरू एकातिर र आफूहरू अर्कोतिरजस्तो भएको बताए । माओवादी पनि पुराना पार्टीहरूजस्तै भयो भन्ने गुनासाहरू थिए र खबरदारीहरू रहेको भन्दै उनले आफूहरूका अगाडि कांग्रेस–एमालेभन्दा फरक हौँ भन्ने मौका आएको तर्क गरे ।

‘अब हामीलाई पुराना पार्टीहरूभन्दा फरक हौं भनेर पुष्टि गर्ने मौका आएको छ । आफ्नो धार बोकेर अगाडि बढेका छौं’, पुनले भने, ‘सुशासनको, सामाजिक न्यायको, गरिखाने जनताको र उत्पीडित वर्गको आवाज र एजेण्डाको नेतृत्व हामी गर्छौँ ।’

एमाले अध्यक्ष केपी ओली नेतृत्वमा वर्तमान सरकार बनेपछि जनतामा उकुसमुकुस, असन्तुष्टि र विद्रोहको भावना बढेको उल्लेख गरे । सत्ताधारीप्रति जनतामा बढेको वितुष्णा र असन्तुष्टि भड्काएर प्रतिगमनतिर लैजाने प्रयासमा एकथरि शक्ति लागेको पुनले बताए ।

फरक प्रसंगमा उनले अबको राजनीतिको मात्र नभई राष्ट्रिय जीवनका सबै क्षेत्र तथा सामाजिक–आर्थिक आन्दोलनको नेतृत्व युवाहरूको हातमा जाने बताए ।