समाचार

नागरिकता पाएपछि प्रधानमन्त्रीलाई भेट्न पुगे प्रकाश

By खबरहब

September 02, 2024

काठमाडौं – ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’मार्फत चर्चामा आएका प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार साँझ प्रकाशसँग भेटवार्ता भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । नेपाली नागरिकता पाएलगत्तै काठमाडौं आएका प्रकाशले बालुवाटार पुगेर ओलीलाई भेटेका हुन् । भेटमा प्रकाशले प्रधानमन्त्रीलाई आफ्नो नागरिकता समेत देखाएका थिए ।

प्रकाशसँगको भेटपछि प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनुभयो । नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो।’

करिब ३५ वर्ष अगाडी बाल्यकालमा नै काठमाडौंको जोरपाटीबाट हराएका प्रकाशकाे ‘हेर्ने कथा’मार्फत भोजपुरमा रहेका परिवारसँग भेट भएकाे थियाे । उनलाई हेर्ने कथाकाे टाेलीले गोरखाको चुमभ्यालीमा भेटाएको थियो ।