काठमाडौं– वर्षाका कारण देशका प्रमुख सडक राजमार्ग अवरुद्ध भएर ढुवानी र आपूर्तिमा समस्या बढ्दा सरकारी अधिकारीहरूले दशैँसम्म खाद्यान्न तथा उपभोग्य वस्तु अभाव नहुने दाबी गरेका छन् ।
हाल सरकार र निजी व्यापारीसँग पर्याप्त मौज्दात रहेकाले दशैँमा खाद्यवस्तु अभाव नहुने बताइएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तत्कालका लागि उपभोग्य र खाद्यवस्तुको अभाव नहुने जनाएको छ । कम्पनीले हाल विभिन्न प्रदेश कार्यालयमा ९० हजार ४३१ क्विन्टल चामल मौज्दात रहेको जानकारी दिएको छ ।
थप ९० हजार क्विन्टल चामल आपूर्ति भइरहेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले खबरहबलाई जानकारी दिइन् । ‘अहिले स्टकमा भएको ९० हजार ४३१ क्विन्टल चामल कम्पनीका विभिन्न प्रदेश कार्यालयमा रहेको छ,’ उनले भनिन्, ‘अरू ९० हजार क्विन्टलजति चामल प्राप्त भइरहेको छ ।’
दशैँका बेला कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, रोल्पा, बझाङ, र बाजुरालगायत जिल्लामा पनि खाद्यान्न आपूर्ति र ढुवानी व्यवस्था गरिएको उनले बताइन् । कर्णाली प्रदेशका लागि हाल २८ हजार ३९७ क्विन्टल चामल मौज्दात छ ।
सुवेदीले भनिन्, ‘तत्कालका लागि दशैँअघि खाद्यान्न अभाव हुने अवस्था देखिँदैन, केही दिनमा सडक खुला हुनेबित्तिकै कर्णालीलगायत जिल्लामा पनि खाद्यान्न ढुवानी हुनेछ ।’
सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले पनि दशैँसम्मका लागि चिनी र नुन लगायत खाद्यवस्तु अभाव नहुने जनाएको छ । कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार हाल ११ महिनाका लागि पुग्ने नुन मौज्दात छ । ‘कम्पनीसँग १ लाख ३२ हजार मेट्रिक टन नुन मौज्दात छ । त्यो नुन करिब ११ महिनालाई पुग्छ,’ उनले भने, ‘त्यस्तै १८०० मेट्रिक टन चिनी मौज्दात नै छ ।’
कम्पनीले सञ्चालन गरेको सहुलियत मूल्य पसलमा त्यस्ता उपभोग्य वस्तुहरू बिक्री भइरहेको छ । कम्पनीले चामल, दाल लगायत खाद्यवस्तुहरू भने स्वदेशमै खरिद गरी बिक्री गर्ने गरेको छ । ‘दशैँसम्म पुग्ने चिनी कम्पनीले पहिले नै ल्याइसकेको छ,’ उनले भने, ‘अरू खाद्यान्न पनि हप्ता/१० दिन सम्मका लागि अभाव नहोला ।’ तर, कुनै कारणले लामो समय बाटो अवरुद्ध भएको खण्डमा भने समस्या पर्ने उनको भनाइ छ ।
व्यापारीहरूले पनि दशैँमा उपभोग्य वस्तु अभाव नहुने बताएका छन् । काठमाडौं उपत्यकामा सधैँजसो २/३ महिना पुग्ने खाद्यान्न तथा उपभोग्य वस्तु मौज्दात हुने गरेकाले यसपालिको दशैँमा त्यति असर नपर्ने नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य बताउँछन् ।
‘कम्तिमा २/३ महिनालाई पुग्ने खाद्यान्न काठमाडौं उपत्यकामा सधैँ स्टक रहन्छ, खुद्रा पसलमा पनि ८/१० दिनसम्म त स्टक नै रहन्छ,’ उनले भने, ‘त्यसकारण बाटो अवरुद्ध भयो भन्दैमा यसले तत्काल असर पार्ने होइन, दशैँसम्मका लागि त्यति समस्या हुँदैन ।’
तर, वर्षा नरोकिए र दशैँअघि पनि पानी परेर सडक अवरुद्ध भए ढुवानी र आपूर्तिमा समस्या पर्ने बज्राचार्यको भनाइ छ ।
सहुलियत पसलमा आकर्षण
सरकारले विभिन्न स्थानमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य कम्पनीले गत असोज ७ गतेदेखि काठमाडौं उपत्यकासहित ४२ जिल्लाका ६१ स्थानमा सहुलियतपूर्ण पसल चलाइरहेको छ ।
पछिल्लो पटक सरकारले सञ्चालनमा ल्याएको सहुलियत पसलमा उपभोक्ताको आकर्षण बढ्न थालेको छ । बाहिरी बजार भाउको तुलनामा सरकारले सञ्चालन गरेको पसलमा छुट र सहुलियत पाउने भएपछि आम उपभोक्ताले आफुलाई चाहिने उपभोग्य सामान किन्ने क्रम बढेको न्यौपानेले बताइन् ।
‘सुपथ मूल्य पसलमा ग्राहकहरूको आकर्षण छ,’ उनले भनिन, ‘हालसम्म ७ हजार ३०० क्विन्टलभन्दा बढीको चामल र चिनीलगायत उपभोग्य वस्तु बिक्री भइसकेको छ ।’
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले काठमाडौं उपत्यका र बाहिरी जिल्ला सदरमुकाममा नुन, चिनी, दाल, तेललगायत उपभोग्य वस्तु बिक्री गर्न सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ ।