धितोपत्र बजार सञ्चालन, नियमन र नियन्त्रण गर्न अधिकार प्राप्त निकायले विभिन्न कानुनी व्यवस्था गरेको हुन्छ । उक्त परिधिभित्र रहेर आफ्नो सीप, योग्यता र जोखिम बहन गर्न सक्ने क्षमताको आधारमा लगानीकर्ताले आफ्नो पुँजीलाई विभिन्न रणनीतिअन्तर्गत प्रवाह गर्न सक्छन् ।
पुँजी बजारमा सफल बन्न चाहने हर कोहीले खेलको नियम जान्न र सिक्न आवश्यक छ । जसरी फुटबल खेल्नु अगाडि नै खेलाडीले नियम जानेर अनुशासनमा रहेर खेल्न जरुरी छ, त्यसरी नै लगानीकर्ताले कानुनको परिधिभित्र रहेर धितोपत्र बजारमा कारोबार गर्न प्रचलनमा रहेका व्यवस्था जान्न जरुरी छ ।
जसरी फुटबलमा नियम नजान्दा वा जानाजान गल्ती गर्दा स्तरअनुसारको कारबाही हुन्छ कसैलाई पहेलो कार्ड, कसैलाई रातो कार्ड देखाएर खेलबाट बाहिरै निकालिन्छ, त्यसरी नै पुँजी बजारमा यदि बजारको नियम विपरित चिटिङ गेम खेल्न थालियो भने कहिले आर्थिक जरिवाना, कहिले क्षतिपूर्ति भराउने त कहिलेकाँही जेल चलान र कारोबार गर्न बन्देज गरिने गरिन्छ । त्यसैले फुटबल खेल्दा जसरी विधिभित्रको स्वतन्त्रतामा खेल्न सकिन्छ, त्यसरी नै पुँजी बजारमा पनि कानुनी नियमभित्र रहेर उच्च प्रतिफल लिन रोकतोक हुँदैन ।
तर, नियमको उल्लङ्घन भयो भने कठोर र अप्रिय कारबाहीको सामाना गर्न बाध्य हुनुपर्छ । यस्ता घटनाबाट बच्नसमेत पुँजी बजारमा भएका नियमहरुका बारेमा आफूलाई अध्यावधिक गरी राख्न आवश्यक छ । यसैमध्ये लगानीसम्बन्धी केही प्रभावशाली व्यवस्था यहाँ राख्ने अनुमति चाहन्छु ।
१. इडीआइएस र क्लोज आउट : नेपालमा धितोपत्र कारोबार गर्दा लगानीकर्ताले कुनै पनि मेरो सेयरमा फ्रीमा रहेको धितोपत्रको उपकरण बिक्री गरिसकेपछि उक्त उपकरणको डब्ल्युएसीसी गणना गर्ने, होल्डिङग पिरियड गणना गर्ने र बिक्री भएको दिन वा अर्को पहिलो कार्यलय लागेको दिनभित्र इलेक्ट्रोनिक्स डेलिभरी इन्स्ट्रक्सन स्लिप (इडीआइएस) गरिसक्नु पर्दछ ।
आफूले जुन ब्रोकरबाट धितोपत्र बिक्री गरेको हो, मेरो सेयरबाट इडीआइएस गरिदिएपछि बाँकी काम सम्बन्धित ब्रोकर र निकायहरुले उक्त कारोबारको सेटलमेन्टमार्फत पूरा गर्ने गरिन्छ । यदि समयमा इडीआइएस नगरिएमा बिक्रीकर्ताले बिक्री रकमको क्लोजआउट बापत २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ ।
त्यस्तै खातामा भएभन्दा बढी सेयर बिक्री गरेमा पनि अपुग सेयर बापतको रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ । यसैले सेयर बिक्री गरिसकेपछि सधै ‘टी प्लस टू’ अर्थात धितोपत्रको कारोबार भएको दिनको दुई कार्यदिनभित्र इडीआइएस गरिसक्नु पर्ने छ । अन्यथा क्लोज आउट बापतको जरिबाना तिर्नु पर्ने हुन्छ । यसका लागि लगानीकर्ता, राफसाफ सदस्य, निक्षेप सदस्य र राफसाफ बैंकले गर्नुपर्ने कामसमेत धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ मा स्पष्टसँग व्यवस्था गरिएको छ । खरिदकर्ताले कारोबार भएको मितिको भोलिपल्ट कार्यालय खुलेको दिनमा खरिद बापतको रकम बुझाउनुपर्छ भने बिक्रीकर्ताले बिक्री गरेको धितोपत्रको इडीआइएस गरिसक्नु पर्छ । त्यस्तै कुनै लगानीकर्ताले क्लोज आउट बापत कुनै फाइदा पाएमा उक्त रकमको आकास्मिक लाभकर बापत २५ प्रतिशत दस्तुर लाग्ने व्यवस्था गरिएको छ ।
२. धितोपत्रको औसत लागत गणना : एउटै कम्पनीको सेयर वा धितोपत्र उपकरणहरु विभिन्न माध्यमबाट खरिद तथा प्राप्ति गरिएको हुन्छ । यस्तो धितोपत्रको प्राप्ति मुल्य फरक फरक हुने गर्छ तर बिक्री गर्दा त्यस्तो धितोपत्रमा लागेको लागत, नाफा तथा घाटा थाहा पाउन जुनसुकै माध्यमबाट प्राप्त गरेको भएता पनि धितोपत्रको औसत लागत ‘वयटेड एभरेज कष्ट अफ क्यापिटल’ (डब्ल्युएसीसी) निकाल्नुपर्ने हुन्छ ।
विभिन्न लागतमा किनेर धितोपत्रको औसत लागत निकाल्ने विधि नै डब्लुएसीसी हो ।
मानौं– क ख ग कम्पनीको सेयर रु १०० दरका १० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन ‘इनिसियल पब्लिक अफरिङ’ (आईपीओ) रामसँग छ ।
उक्त कम्पनीको बोनस एक कित्ता प्राप्त भयो । हकप्रद बापत प्रतिकित्ता रु १०० का दरले एक कित्ता फेरि प्राप्त भयो । दोस्रो बजारबाट रु २०० का दरले १० कित्ता थप सेयर खरिद गरियो । लिलामीबाट प्रतिकित्ता रु १५० का दरले १०० कित्ता खरिद गरियो । ‘फर्दर पब्लिक अफरिङ’ (एफपीओ) मा रु १३० का दरले आवेदन गरेर १० कित्ता प्राप्त भयो ।
कम्पनी मर्ज हुँदा रु १७० का दरले किनिएको ३० कित्ता सेयर प्राप्त भएमा यस कम्पनीको सेयर बिक्री गर्दा प्रतिकित्ता लागत कति हो भनेर हेर्ने कार्य नै डब्लुएसीसी हो । यस्तो अवस्थामा जम्मा सेयर संख्याको योग १६२ कित्ता र लागत रु २४,६०० रहेको छ । उक्त लागतलाई सेयर सङ्ख्याको कुल योगफलले भाग गर्दा आउने रु १५१ दशमलब ८५ भागफल नै प्रतिकित्ताको औसत लागत हो ।
यदि यो दर भन्दा बढीमा सेयर बिक्री गर्न सकिएमा पुँजीगत लाभ र कममा बिक्री गरिएमा घाटा हुने गर्छ । हाल मेरो सेयर आफैंले सफ्ट्वेयरबाट डब्लुएसीसी गणना गर्ने हुँदा प्रत्यक्षरुपमा नदेखिए पनि यही विधिबाट गणना गर्ने गरिएको छ । धितोपत्रको डब्ल्युएसीसी गणना सही ढङ्गबाट नगरी फरक तरिकाले गरेमा हुनुपर्ने भन्दा बढि लागत देखाएर वा अन्जानमा मुनाफा कम देखाई कर छली हुन गएमा करको परीक्षण हुँदा झमेला भोग्नुपर्ने अवस्था आउन सक्छ । यस्तै– वास्तविक लागत नदेखाई कम लागत देखाउन गएमा आवश्यकता भन्दा बढी नाफा देखिन गई बढी कर तिर्नुपर्ने अवस्था आउन सक्छ ।
कम्पनी मर्जर तथा एक्युजिसन हुँदा विशेष ख्याल गरेर आफूले जुन मूल्यमा सेयर खरिद गरेको हो, सोही मूल्य राखेर मेरो सेयरमा डब्लुएसीसी निकाल्ने गर्नुपर्छ । यसले अनावश्यक नाफा वा घाटा देखिन दिँदैन भने करको झमेलाबाट समेत सुरक्षित रहन मद्दत गर्छ ।
३. लकइन पिरियड : धितोपत्र कारोबारको सिलसिलामा लकइन पिरियड सम्बन्धमा नेपालको विद्यमान कानुन, धितोपत्र दर्ता तथा निष्काशन नियमावली–२०७३ र धितोपत्र दर्ता तथा निष्काशन निर्देशिका–२०७४ ले विभिन्न किसिमका व्यवस्थाहरु गरेको देखिन्छ ।
संगठित संस्थाले आफ्नो जारी पुँजीको दश प्रतिशतसम्मको सेयर उद्योग वा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई बिक्री गर्नको लागि छुट्याउन सक्नेछ । यस्तो सेयर सार्वजनिक निष्काशन भएर बाँडफाँड भएको मितिले तीन वर्ष पूरा नभएसम्म अरु कसैलाई बिक्री वा हस्तान्तरण गर्न नपाइने व्यवस्था गरिएको छ । तर, सेयरधनीको मृत्यु भएमा वा अंशवण्डा भएको हकमा एकाघर परिवारको सदस्यमा हस्तान्तरण गर्न सकिने छ ।
यस्तै आईपीओ जारी गर्दा निष्काशित सेयरको दश प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँड्फाँड गर्नुपर्नेछ । यस्तो सेयर बिक्री हुन नसकेमा सर्वसाधारण समूहमा थप गरी जारी गर्नुपर्छ ।
संगठित कम्पनीका कर्मचारीहरुलाई निष्काशित पुँजीको पाँच प्रतिशतसम्म सर्वसाधारणलाई सेयर दिन सक्ने व्यवस्था रहेको छ । उक्त कर्मचारीले प्राप्त गरेको सेयर र जलविद्युत कम्पनी एवं उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरको हकमा सर्वसाधरणलाई सार्वजनिक निष्काशन भएर बाँडफाँड भएको मितिले तीनवर्ष पूरा नभएसम्म अरु कसैलाई बिक्री वा हस्तान्तरण गर्न नपाइने व्यवस्था गरिएको छ ।
बुक बिल्डिङ्ग विधिबाट आईपीओ जारी गर्दा निष्काशित धितोपत्रकोे ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्नुपर्ने छ । त्यस्तै ‘म्युचुअल फण्ड’को हकमा निष्काशित पुँजीको पाँच प्रतिशत धितोपत्र छुट्याई बाँड्फाँट गर्नु पर्छ । यी दुवै धितोपत्र बजारमा सूचीकरण भएको मितिले छ महिनासम्म अरु कसैलाई बिक्री वा हस्तान्तरण गर्न नपाइने व्यवस्था गरिएको छ ।
समग्रमा विवरणपत्र प्रकाशन गरी निष्काशन गरिएको धितोपत्र बाहेक अन्य समूह (सर्वसाधरण समूहमा रहेको वा विवरण पत्र प्रकाशन गरी बिक्री गरिएको बाहेक) को धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लगि आईपीओ मार्फत जारी गरेको सेयर बाँडफाँट भएको मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइँदैन । तर, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, हेज फण्ड वा यस्तै प्रकारको कोषको रुपमा बोर्डमा वा विदेशमा दर्ता भएका कोषको वा विदेशी सरकारको लगानी भएको संस्थाको स्वामित्वमा रहेको धितोपत्रको हकमा भने आईपीओ बाँडफाँट भएको एक वर्षको अवधि पूरा भए पश्चात बिक्री गर्न सक्नेछ ।
४. सर्किट ब्रेक :
धितोपत्र बजारको विशेषता गतिशील हुनु हो । यो बजार कहिले अत्याधिक दु्रत गतिमा बढ्ने र कहिले घट्ने गर्दछ । यसरी हुने उच्च घटबढबाट लगानीकर्तालाई एकै पटकमा धेरै नाफा घाटा नहोस् भनेर धितोपत्र बजारको नियामकले कानुन बनाएर निश्चित प्रतिशतको उतार–चढाबपछि उक्त दिनको कारोबार स्थगन गर्ने व्यवस्था गरेको हुन्छ । यसलाई सर्किट ब्रेकर (सर्किट ब्रेक) भन्ने गरिन्छ । यो अत्याधिक सकारात्मक र नकारात्मक दुवै हुने गर्छ ।
सर्किट ब्रेकले लगानीकर्तामा आइरहेको निराशा र आक्रमकता दुवै अवस्थामा सोचेर निर्णय गर्ने समय उपलब्ध गर्न मद्दत गर्छ । जसका कारण लगानीकर्ताले आफ्नो सम्पति र जोखिमको लाभ उठाउन सक्ने अवसर सिर्जना हुने देखिन्छ ।
अन्तराष्ट्रिय अभ्यास र बजारको आवश्यकता अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २०७५ चैत १९ देखि धितोपत्र बजारमा सर्किटसम्बन्धी नयाँ व्यवस्था लागु गरेको थियो । जसअनुसार एक कारोबार दिनमा ३ पटकसम्म सर्किट ब्रेक लगाइने व्यवस्था गरिएको छ । उक्त नियमअनुसार कारोबार दिनमा बजार खुलेको पहिलो एक घण्टाभित्र (११ बजे देखि १२ बजे सम्म) नेप्से परिसूचक चार प्रतिशतले घट्यो वा बढ्यो भने सर्किट लगाई २० मिनेटका लागि कारोबार बन्द गरिन्छ । जसले बजारलाई कुलडाउन गराउनमा सहयोग गर्छ ।
यस्तै, त्यस लगतै बजार खुलेर कारोबार सुरुवात हुनासाथ वा दोस्रो घण्टाभित्र (१२ः०० बजेदेखि १ः०० बजेसम्म) नेप्से इन्डेक्स पाँच प्रतिशतले तल वा माथि भयो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ ।
त्यस्तै दोस्रो सर्किटपछि पनि सूचक घटबढ हुने क्रम निरन्तर रहयो र तुरुन्तै वा (१ बजेदेखि ३ बजे भित्रमा) तेस्रो घण्टापछि परिसूचक ६ प्रतिशतले घट्यो वा बढ्यो भने सर्किट ब्रेक लगाई सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ ।
कुनै पनि धितोपत्र उपकरणको हकमा भने हरेक कारोबारमा २ प्रतिशतका दरले अधिकतम १० प्रतिशत घटबढ भएपछि सो कम्पनीको धितोपत्र मूल्यमा सर्किट लाग्ने व्यवस्था छ । यस्तो अवस्थामा कारोबार नै बन्द त हुँदैन तर उक्त दिनमा १० प्रतिशतको घटबढसम्म मात्र कारोबार गर्न पाइन्छ ।
यस्ता चल्तीका विधिविधान, ऐन, नियम र आदेशहरु बुझेर कुनै पनि लगानीकर्ताले आफूबाट हुन सक्ने गैरकानुनी कार्यलाई रोक्न सक्छ भने अरुमार्फत भएका अवैधानिक क्रियाकलापबाट आफूलाई कुनै हानी–नोक्सानी भएमा त्यसको क्षतिपूर्ति भराई लिन सक्छ ।
माथि उल्लेखित तथा अन्य नियमहरु, जस्तै– बुक बिल्डिङ्ग, धितोपत्र कारोबारमा लाग्ने कमिसन दस्तुर, पुँजीगत लाभकर, सेयर धितो कर्जा र मार्जिन कर्जा आदिका बारेमा जानकारी राख्नु हरेक लगानीकर्ताका लागि हितकर हुने गर्छ । त्यसैले, खेल खेल्नु अगाडि खेलको नियम जानौं र आफूबाट हुने कमजोरीलाई न्यूनीकरण गर्दै लगानीमा उच्च प्रतिफलसहित सफलता प्राप्तिका लागि सधैं सक्षम बनौं ।
(लेखक धितोपत्र बजारका विज्ञ हुन् )