काठमाडौं– अघिल्लो साता केराबारीमा भेटिएका राप्रपाका मोरङ जिल्ला अध्यक्ष गोपाल कटवाल भन्दै थिए, ‘गणतन्त्रवादी दलप्रति जनतामा निराशा बढ्दै गएको छ । राप्रपाको प्रभाव देशव्यापी बढिरहेको छ । यसपालिको उपचुनावमा ग्रामथान गाउँपालिकाको अध्यक्ष हामीले जित्दैछौं ।’
सोमबार ग्रामथान गाउँपालिका अध्यक्षको चुनावी नतिजा सार्वजनिक भयो । राप्रपाका कार्यकर्ताहरुले जिल्ला अध्यक्ष कटवालको भनाइलाई पत्याएकै थिए । तर, चुनावमा राप्रपाका उम्मेदवार दिनेशकुमार थान्दारले जम्माजम्मी ५५५ मत मात्र पाए ।
ग्रामथानमा ०७९ को चुनावमा राप्रपाका पखुलाल विश्वासले ४४७ मत पाएका थिए । उपचुनावमा १०८ मत मात्र थपियो ।
हुन त ग्रामथानको चुनावी रिपोर्ट हेर्दा सत्तारुढ कांग्रेस–एमालेप्रति जनतामा वितृष्णा बढेकै देखियो । तर, त्यो वितृष्णाको निकास राजावादीतर्फ नभएर गणतन्त्रवादी दल माओवादीतर्फ बगेको देखियो ।
ग्रामथानमा अघिल्लोपटक कांग्रेसले ७६०५ मत पाएको थियो, यसपालि ५३३३ मतमा खुम्चियो । त्यस्तै एमालेले ६०९३ मत पाएको थियो, यसपालि ४१५१ मत मात्रै पायो ।
माओवादीले चाहिँ अघिल्लोपटक २७२७ मत पाएको थियो, यसपालि ६९६९ मत पाएर जित निकाल्यो । माओवादीले विगतको भन्दा ४ हजार मत बढायो । तर, माओवादीको ४ हजार मत बढ्दा राप्रपाको एक सय मात्रै थपियो । यसले राजावादी दलप्रति जनताको आकर्षण नरहेको देखाएको छ ।
यता, काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा ०७९ सालमा राप्रपाकी बिन्दिका गुरुङले ५५७ मत पाएकी थिइन् । यसपालि श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाए । यो भनेको ६५ मत बढी हो ।
यहाँ पनि कांग्रेस र एमालेको मत घटेकै देखियो । अघिल्लोपटक ४ हजार मत ल्याएको कांग्रेस २२ सयमा खुम्चियो । अघिल्लोचोटि ३३ सय मत ल्याएको एमाले पनि २२ सयमै खुम्चियो । तथापि काठमाडौं–१५ मा पनि राजावादीको खासै उन्नति–प्रगति देखिएन, बरु गणतन्त्रवादी रास्वपाले जित्यो । गणतन्त्रवादी दलको विकल्प गणतन्त्रवादी दल नै देखियो ।
मधेसको धनुषाधाम–१ मा राप्रपाले यसपटक २७ मत पायो । अघिल्लोपटक उसले १६ मत पाएको थियो । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा राप्रपाले यसपटक २ भोट पायो ।
राप्रपाले ओखलढुंगाको मोलुङमा ३ मत, रौतहटको गढीमाईमा ४ मत, तेह्रथुमको लालीगुराँसमा ४ मत, सप्तरीको डाक्नेश्वरीमा ६ मत, गुल्मीको मुसिकोटमा ५ मत र जाजरकोटको कुसे गाउँपालिकामा ६ मत पायो ।
मधेसमा जस्तै पहाडमा पनि राप्रपाको बढोत्तरी भएको देखिएन । जबकि उपचुनावमा राप्रपा नेता राजेन्द्र लिङदेन, रवीन्द्र मिश्र र ज्ञानेन्द्र शाहीहरुले विभिन्न जिल्लामा दौडधूप गरेकै थिए ।
कीर्तिपुरमा राप्रपाको चुनावी र्याली ।
राप्रपाले विभिन्न पालिकाका १७ वटा वडामा १० देखि १ सय भोटसम्म पाएको छ । उसले कुनै पनि पालिकामा ६२२ भन्दा बढी भोट कटाएको छैन । कीर्तिपुर नगरपालिकामा समेत अहिलेसम्मको गणनामा राप्रपा छैठौं स्थानमा छ ।
विगतमा राप्रपाको गढ मानिने हेटौंडामा राप्रपाको मत १७८ मात्र खसेको छ । जबकि यो १२ नम्बर वडामा उसले ०७९ को चुनावमा १८३ मत पाएको थियो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको गृहजिल्ला झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा यसपालि राप्रपाका उम्मेदवारले २६ मत पाएका छन् । ०७९ सालमा यस वडाबाट राप्रपालाई १९ मत आएको थियो ।
आखिर किन उपनिर्वाचनमा राप्रपाप्रति उभार आएन त ? यसबारे राप्रपा नेताको कुरा सुनौं ।
उपनिर्वाचनलाई हेरेर राप्रपा अलोकप्रिय भयो भन्न मिल्दैन : श्रेष्ठ
राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ यो उपचुनावलाई हेरेर राप्रपा अलोकप्रिय भयो भन्न नमिल्ने तर्क गर्छन् । उनी भन्छन्, ‘राप्रपाले उपचुनावमा केही पनि गुमाएको छैन । पहिले भन्दा भोट बढेकै छ । पहिले उम्मेदवार नै नउठाएका ठाउँमा हामीले उम्मेदवार उठाउन सक्यौं । दुईचार भोट भए पनि बढेकै छ, त्यसैले राप्रपा कमजोर भयो भन्न मिल्दैन ।’
श्रेष्ठले थपे, ‘आगामी ०८४ को चुनावमा राप्रपाले भोट पनि बढाउँछ र सिट पनि थप्छ ।’
उनले अगाडि भने, ‘हामी यो उपचुनावबाट निराश छैनौं, तर समीक्षा भने अवश्य गर्नेछौं ।
आँखा खोल, नभए सकिन्छौ भन्ने सन्देश उपचुनावले दियो : बर्तौला
कमल थापा नेतृत्वको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला भने यो उपनिर्वाचनले राजावादी र हिन्दुवादी दललाई गतिलो सन्देश दिएको बताउँछन् ।
‘राजावादीहरुको भोट नबढ्नुमा उनीहरु जनताकेन्द्रित नभएर हो । आत्मकेन्द्रित भएर हो,’ बर्तौला भन्छन्, ‘अब तिमीहरु सबै कि त एकै ठाउँमा आउनुपर्छ, नभए अझै सकिँदै जानेछौ भन्ने सन्देश यो उपचुनावले दिएको छ, अब हामीले यसमा गम्भीर भएर मनन गर्नैपर्छ ।’
गणतन्त्रको विरोध गर्दै देशमा राजसंस्था पुनस्थापनाको वकालत गर्नेहरु आपसमा मिल्न सकेका छैनन् । एकातर्फ राजेन्द्र लिङदेनको पार्टी राप्रपा क्रियाशील छ भने अर्कोतिर कमल थापाले राप्रपा नेपालको नेतृत्व गरिरहेका छन् । त्यस्तै, केशरबहादुर विष्टले पनि अलग्गै समूह चलाइरहेका छन् ।
त्यसो त मेडिकल व्यवसायी दूर्गा प्रसाईले पनि बेग्लै राजावादी मोर्चा बनाएका छन् । यी सबै राजावादी शक्तिहरु एकापसमा मिल्न र एकै ठाउँमा आउन सकेका छैनन् ।
यो पनि-