समाचार

बेइजिङ पुगे प्रधानमन्त्री ओली, उपमन्त्री सुनले गरे स्वागत

By खबरहब

December 02, 2024

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् ।

चार दिने भ्रमणमा सोमबार बेइजिङ पुगेका उनलाई चिनियाँ कम्युनिष्ट पार्टीको वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

ओलीको यो चार दिने चीन भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप गाढा बनाउने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता, द्विपक्षीय समझदारी पत्रहरूमा हस्ताक्षर, र बहुपक्षीय सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा नेपाल र चीनबीच ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गत सहकार्यलाई औपचारिक बनाउन समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ।

चीनसँग मस्यौदाका दुईवटा प्रस्ताव बनाइएको छ- एक हस्ताक्षरका लागि र अर्को थप छलफलका लागि । भ्रमणका क्रममा विभिन्न पूर्वाधार परियोजना अघि बढाउने सहमति हुने सम्भावना छ ।

काठमाडौं रिङरोडको स्तरोन्नति टोखा-छहरे सुरूङमार्ग निर्माण जिलुङ-केरुङ-काठमाडौं रेलमार्ग अध्ययन खाँदबारी-किमाथांका सडकमा मितेरी पुल निर्माण

चीनले मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि सहयोग गर्नेछ। नेपाली र चिनियाँ जनताबीच सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्न भाषा विकासका कार्यक्रम अघि बढाइनेछ।

चीनले २० मिलियन अमेरिकी डलर नगद अनुदान र ३०० मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने सहमति हुनेछ।

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा-५ मा स्पोर्ट्स कम्प्लेक्स। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा सभाहल निर्माण।

मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्नेछन्। बुधबार उनले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ।

चीन भ्रमणको टोलीमा सरकारी टोलीमा ३९ जना र निजी क्षेत्रबाट ४८ जना रहेका छन् । ओलीको टोली आगामी मंसिर २० गते काठमाडौं फर्किने छ ।