समाचार

‘रिभरगाइड’ मजदुरद्वारा पारिश्रमिक वृद्धि गर्न माग

By खबरहब

January 03, 2024

चितवन– जलयात्रामा आश्रित मजदुर (रिभरगाइड)ले पारिश्रमिक बढाउनुपर्ने माग गरेका छन् । उनीहरूले कम्तीमा दैनिक ज्याला तीन हजार हुनुपर्ने माग गरेका छन् ।

चितवनको इच्छाकामना–३ फिस्लिङमा सम्पन्न हिमालयन रिभरगाइड एसोसिएसन (हर्गान)को १५औँ साधारणसभाले कम्तीमा रिभरगाइडको दैनिक पारिश्रमिक तीन हजार हुनुपर्ने निर्णय समेत गरेको छ ।

हर्गानका उपाध्यक्ष डोलबहादुर  गुरुङकाअनुसार जलयात्रा मजदुरले हाल दैनिक ज्याला दुई हजार पाँच सय पाउँदै आएका  छन् । साथै साधारणसभाले धेरै दिनको यात्रामा जान परेमा रिभरगाइडको दैनिक ज्याला चार हजार हुनुपर्ने माग गर्ने निर्णय गरेको उनले बताए ।

काममा लामो समय खटिनुपर्ने भएकाले हाल पाइरहेको दैनिक पारिश्रमिक कम भएको उनीहरूको भनाइ छ । लामो समयदेखि रिभरगाइडको काम गर्दै आएका चितवनका मिलन गुरुङले बिहानदेखि राति अबेरसम्म खटिनुपर्ने भएकाले हाल जलयात्रा पर्यटन व्यवसायीहरूले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा वृद्धि गर्नुपर्ने आफूहरूको माग रहेको बताए ।

त्रिशूली नदीमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रो पावर निर्माण रोक्न पनि रिभरगाइडले  माग गरेका छन् । सो स्थानमा बन्ने हाइड्रो पावरले  त्रिशूली नदीको जलयात्रामा आश्रित  स्थानीय ७० जनाभन्दा बढीको रोजगारी नै गुम्ने रिभरगाइड गुरुङको भनाइ छ ।