खेलकुद

एएफसी एसियन कप : दक्षिण कोरिया सेमिफाइनलमा प्रवेश

By खबरहब

February 03, 2024

काठमाडौँ– एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति कतारको अल वाक्रस्थित कल जानौव रङ्गशालामा भएको खेलमा अष्ट्रेलियालाई २–१ गोलले पराजित गर्दै दक्षिण कोरियाले सेमिफाइनलमा स्थान बनाएको हो ।

खेलमा अष्ट्रेलियाले सुरुवाती अग्रता बनाएको थियो । खेलको ४१औँ मिनेटमा क्रियाग अलेक्जान्डर गुडविनले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । तर दक्षिण कोरियाका हि चाङ ह्वाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

९० मिनेटको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको १०४औँ मिनेटमा दक्षिण कोरियाका सन ह्युङ मिनले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

दक्षिण कोरियाले अब सेमिफाइनलमा जोर्डन विरुद्ध खेल्ने छ । जोर्डनले शुक्रबार नै ताजिकिस्तान विरुद्ध जित हासिल गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।