समाचार

एमालेका अध्यक्ष ओलीका लागि उनेको २ सय किलोको माला उपाध्यक्ष पौडेलको गलामा

By खबरहब

March 03, 2024

जनकपुरधाम- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम थियो । उनको स्वागतका लागि दुई सय किलोको माला उनेर राखिएको थियो ।

अध्यक्ष ओली नआएर उपाध्यक्ष पौडेल आउने कार्यक्रम तय भएपछि सोही मालाले उपाध्यक्ष पौडेललाई स्वागत गरिएको नेकपा एमाले जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए ।

एमाले जनकपुरधाम उपमहानगर कमिटीले अध्यक्ष ओलीका लागि माला तयार गरेको थियो । “अध्यक्ष कमरेड आउने भनेपछि हामीले माला उनेका थियौँ । मौसम खराबीका कारण आउनसक्नु भएन । उहाँको सट्टमा उपाध्यक्ष पौडेललाई लगाइदियौँ”, नगर अध्यक्ष भण्डारीले भने ।

फागुन १४ गतेदेखि सुरूभएको प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको आज समापन हुँदैछ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।