फाइल तस्वीर- एपी

अन्तर्राष्ट्रिय

शहबाज सरिफ फेरि पाकिस्तानको प्रधानमन्त्री निर्वाचित

By खबरहब

March 03, 2024

इस्लामावाद- पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शहबाज सरिफ पाकिस्तानको राष्ट्रियसभा नेशनल एसेम्बलीबाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका छन् ।

पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएल–एनका अध्यक्ष तथा नवगठित आठ दलीय गठबन्धनका नेता सरिफलाई दोस्रो पटक प्रधानमन्त्री बन्न भारी मत मिलेको छ ।

साथै, जेलमा रहेका विपक्षी नेता इमरान खानका अनुयायीलाई सरकारमा पुग्न नदिन गठबन्धनलाई सफलता मिलेको छ ।

पाकिस्तानको नेशनल एसेम्बलीमा नवनिर्वाचित २०१ सांसदले सरिफको पक्षमा मतदान गरेका छन् भने पूर्वप्रधानमन्त्री खानप्रति वफादार सांसदहरूको उम्मेदवारका रूपमा प्रधानमन्त्रीको नेतृत्वको दाबी गरेका ओमार ऐयुब खानले ९२ मत प्राप्त गरेका छन् ।

निर्वाचनको परिणाम घोषणा गर्दै नेशनल एसेम्बलीका नवनियुक्त सभामुख सरदार अयाज सादिकले भने, “शहबाज सरिफ इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।”