सांकेतिक तस्बिर

देश/प्रदेश

आगलागीमा परी दुई सय बाख्रा जले, डेढ करोडको क्षति

By खबरहब

March 03, 2024

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० लप्सेमा रहेको विष्णु कृषि एग्रो फार्ममा आज आगलागी हुँदा २०० बाख्रा जलेर मरेका छन् ।

आगलागीका कारण बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट हुँदा रु एक करोड ५० लाख बराबरको क्षति भएको सञ्चालक विनोद खड्काले जानकारी दिए ।

हाई भोल्टेजका कारण विद्युत् लाइन सर्ट भई आगलागी भएको हुनसक्ने स्थानीय मीनराज गिरीले बताए । वैदेशिक रोजगारबाट फर्किएका खड्काले रु एक करोड लगानी गरेर बयर जातका बाख्रा फार्म सञ्चालन गर्दै आएका थिए ।

आधुनिक तरिकाले खोर बनाएर दुई तलामै खड्काले बाख्रापालन गर्दै आएका थिए । खोरमा रहेका एउटै बयर जातका बोका तथा बाख्राको रु एकलाख ५० हजारदेखि दुई लाखसम्म मूल्य पर्छ ।