तस्बिर रोयटर्स

अन्तर्राष्ट्रिय

चीनमा वर्षाका कारण सात जनाको मृत्यु

By खबरहब

April 03, 2024

चीन– आइतबारदेखि पूर्वी चीनको जियाङ्सी प्रान्तलाई असर गरिरहेको असिना र मुसलधारे पानी बर्षा हुँदा मृत्यु हुनेहरूको सङ्ख्या सात पुगेको स्थानीय अधिकारीहरूले बुधबार बताएका छन् ।

जियाङ्सी प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयको तथ्यांक अनुसार बुधबार सम्म प्रान्तीय राजधानी नानचाङसहित नौ शहरका ५४ काउन्टीहरू खराब मौसमबाट प्रभावित भएका थिए । वर्षाका कारण ९३ हजार मानिसहरू प्रत्यक्ष प्रभावित भएका छन् ।

खराब मौसमका कारण पाँच हजार ७०० हेक्टर क्षेत्रमा लगाएको बाली र १२ हजार घरमा आंशिक क्षति भएको छ ।  वर्षाले अन्य ८० हजार घरहरूमा सामान्य क्षति पुर्‍याएको छ । प्रकोपले गर्दा निम्त्याएको आर्थिक नोक्सानको प्रारम्भिक अनुमान १५ करोड युआन पुगेको छ । 

प्रान्तीय मुख्यालयले मङ्गलबारदेखि तीन चरणमा बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया सुरु गरी असहज मौसमको कारण नदीको बाढीको जोखिमबाट सचेत रहन प्रेरित गरेको छ ।

प्रान्तीय मौसम विभागले गम्भीर मौसम जारी रहँदा नागरिकलाई घरबाहिर नजान र भारी वर्षाको अवस्थामा प्रभावित क्षेत्रहरूबाट अन्यत्र जाँदा खोला नदीहरूमा सावधानी अपनाउन वा यात्रा नगर्न निर्देशन दिएको छ ।