खेलकुद

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

By मनोज घिमिरे

May 03, 2024

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको छ। नेपाली दर्शकको चासो पनि टिम गेममै धेरै छ। नेपाली खेलकुदमा सरकार, समाज, सञ्चार र प्रायोजकको ध्यान फुटबल, क्रिकेट र भलिबलमा केन्द्रित भइरहेको समयमा नेपाली टिम गेमलाई नयाँ आयाम दिने व्यक्तिको चर्चा भने कम हुन्छ।

स्टारडममा फुटबल, क्रिकेट र भलिबलको प्रभाव पक्कै बढी छ। तर यो होइन कि अन्य खेलका व्यक्तित्वको कुनै भूमिका नै छैन। अन्य टिम गेमले कुनै उपलब्धि नै दिलाएका छैनन् भन्ने होइन।

कबड्डी प्रशिक्षक पार्वती राई, ह्यान्डबलमा लामो समय राष्ट्रिय टोलीको नेतृत्व गरेकी रञ्जना राई तथा नेपाली बास्केटबलको महिला स्पर्धामा माथिल्लो सफलता दिलाउने विकास शाही टिमको सवालमा यिनीहरूको चर्चा अपरिहार्य हुन्छ। पछिल्लो एसियाडमा नेपाली महिला ह्यान्डबल टोलीको कोचिङ स्टाफको नेतृत्व गरेकी बिन्दा थापाको चर्चा गर्नु लायक हुन्छ।

नेपालको बास्केटबल टिम ।

सन् २०१० को दशकको अन्त्यसम्मका बास्केटबल खेलाडी रहेका विकास अहिले प्रशिक्षक हुन्। विकासको प्रशिक्षणमा नेपाली बास्केटबलले दक्षिण एसियाली खेलकुदमा रजत पदक, एसियाली खेलकुदमा सहभागिता लगायत थुप्रै योगदान दिएका छन्।

बास्केटबलमा एउटा अनुशासन छ। खेलाडीको रूपमा मर्यादा छ। साथै निरन्तर रूपमा रचनात्मक कार्यक्रम अघि आएका छन्। नेपाली टिम गेमलाई नयाँ आयाम दिने खेल व्यक्तित्वको रूपमा विकासको चर्चा सधैँ सार्थक हुन्छ।

गत वर्ष चीनमा भएको एसियाली खेलकुदमा नेपालले पहिलो पटक टिम गेममा पदक जितेको थियो। नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो ।

सो टोलीको प्रशिक्षक थिइन्, पार्वती राई। राई कै विचारमा सरकारले विशेष प्रशिक्षण दिलाएर धेरै सहयोग गरेको थियो। पहिलो पटक महिला कबड्डी समावेश भएको थियो। यस अवसरलाई सही सदुपयोग गर्न आफ्नो टोलीका सबै खेलाडीले धेरै मेहनत गरेको उनको मत छ। यो सफलताले नेपाल कबड्डी सङ्घ उत्साहित छ। अहिले नेपालमा कबड्डी लिगको आयोजना हुँदैछ। चार प्रदेशमा छनोट कार्यक्रम सकिएको छ। मधेस प्रदेशको छनोट जनकपुर तथा कोसी प्रदेशको छनोट इटहरीमा आयोजना हुँदै छ।

कबड्डी प्रशिक्षक पार्वती राई ।

यसअघि सन् २०२२ मा भएको विश्वकपमा पनि नेपाली पुरुष कबड्डी टोली दोस्रो भएको राई बताउँछिन्। उदयपुरकै राई मुख्य प्रशिक्षक भएपछि नेपाली कबड्डी सफलताको बाटोमा अघि बढी रहेको छ।

‘राज्यप्रति त हाम्रो खासै गुनासो छैन। हामीलाई महत्त्व दिएको छ। तर जत्ति चर्चा परिचर्चा हुनुपर्ने थियो त्यो नभएको हो कि भन्ने आभास हामीलाई छ’, उनले भनिन्। नेपालमा ह्यान्डबल खेल नै ओरालो लागेको समयमा उदयपुरको बेलटारबाट उदाएको रञ्जना सहितको समूहको कारण नेपाली महिला ह्यान्डबलले पुर्नजीवन पाएको थियो। २०६० को दशकमा नेपाली महिला ह्यान्डबल उकालो लाग्दा रञ्जनाको कुशल नेतृत्व प्रमुख कारण थियो।

सन् २०१२ मा ललितपुरमा आइएचफ अन्डर डेभ्लपमेन्ट राष्ट्रको खेलमा नेपालले तेस्रो स्थान पाउँदा रञ्जना लगातार प्लेयर अफ द म्याच घोषित भएकी थिइन्। सन् २०१३ मा लखनउमा भएको चौथो दक्षिण एसियाली ह्यान्डबल च्याम्पियनसिपमा रञ्जनाको नेतृत्वमा नेपाल तेस्रो भएको थियो। त्यसको लगत्तै कतारमा भएको कतार ओमन इन्टरनेसनल ह्यान्डबल च्याम्पियनसिपमा उनकै नेतृत्वमा नेपाल कास्य पदक प्राप्त गर्न सफल भएको थियो।

उनकै नेतृत्वमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेको थियो। काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदमा नेपालले रजत पदक जितेको समयमा उनी टोलीको कप्तान थिइन्। ह्यान्डबलको रेफ्री र प्रशिक्षकको कोर्स पुरा गरेकी रञ्जनाले भारतबाट डिप्लोमा गरेकी हुन्।

ह्यान्डबल टोलीको कोचिङ स्टाफको नेतृत्व गरेकी बिन्दा थापा ।

आठौँ एसियन जुनियर ह्यान्डबल प्रतियोगितामा उनी टोलीको प्रशिक्षक थिइन्। राज्यको मूलधारबाट टाढा रहेकी रञ्जना अहिले उदयपुरमा ह्यान्डबललाई एकेडेमीक स्वरूप दिने प्रयासमा छिन्। उनले त्यहीँ रहेर प्रशिक्षण गरिरहेकी छन्। ‘यहीँ रहेर पनि केही उपलब्धिमूलक बाटो खोजी रहेकी छु,’ रञ्जना भन्छिन्। यसअघि नवौँ राष्ट्रिय खेलकुदमा उनले मधेश टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हालेकी थिइन्।

उदयपुरकी पार्वतीको प्रशिक्षणमा रहेको नेपाली कबड्डी टोलीले सनसनी फैलाइ रहँदा उदयपुरकै बिन्दा थापाले नेपाली ह्यान्डबलको प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हालेकी थिइन्। उनको टोलीले पार्वतीको टोलीले जस्तो कमाल त गरेन। तर नेपाली ह्यान्डबलको विकासमा उनको भूमिका कम्तीको छैन। खेलाडी र प्रशिक्षक हुँदै अघि बढेकी बिन्दा अहिले पनि प्रशिक्षण मात्र होइन, प्रतियोगिता आयोजना लगायत विषयमा केन्द्रित छिन्। ह्यान्डबल खेलमा धेरै राष्ट्रिय खेलाडीको उदय भएको समयमा सबैले सम्झने अर्को नाम हो पार्वत गुरुङ। राष्ट्रिय खेलकुद परिषदबाट गुरुङ पनि अहिले अवकाश पाइसका छन्।

पछिल्लो समय सत्ता, सञ्चार र प्रायोजकको ध्यान निश्चित टिम गेममा बढी भइरहेको समयमा अन्य टिम गेम छायामा परेको साँचो हो। उल्लेखित केही नाम उदाहरण मात्र हुन्। अन्य यस्ता धेरै प्रतिभा हुन सक्छन्, जसले नेपाली खेलकुदमा केही न केही समर्पण छ।