काठमाडौं– उमेरले ६१ छिचोल्दै गर्दा वरिष्ठ कलाकार एवं रंगकर्मी पुस्कर गुरुङ अभिनयमा लागेको चार दशक बितिसक्यो । उनलाई बहुसंख्य दर्शकले अभिनेता ‘दयाहाङ राईको बुबा’ भनेर चिन्छन् ।
उनलाई ‘दयाहाङको बुबा’ भन्नुको कारण एक दशकअघि प्रदर्शनमा आएको फिल्म ‘कबड्डी’ हो । जसमा उनी दयाहाङ (काजी) का बुबाको भूमिकामा देखिएका थिए ।
पुस्कर ठट्यौली गर्दै भन्छन्, ‘बाटोमा हिँड्दा दायाहाङको बा भन्छन् । फिल्ममा बा बनियो, पैसा कमाउन पो दयाहाङको बा बन्न सकिएन त । दयाहाङले त पैसा छापेको छ, अहिले ।’
विसं २०३६ सालदेखि रंगमञ्चमा होमिएका पुस्करले ३० भन्दा बढी नाटकमा अभिनय गरेका छन् भने ५ वटा निर्देशनसमेत गरेका छन् । उनी ‘डबली थिएटर’ का संस्थापक पनि हुन् ।
केही टेलिभिजन सिरियलमा अभिनय गरेको अनुभव पनि उनीसँग छ । ‘कागबेनी’मा २० हजार पारिश्रमिक लिएर ठूलो पर्दामा होमिएका पुस्करको अभिनय रहेका फिल्मको संख्या ३० नाघिसकेको छ ।
यो उमेरमा पनि उनको व्यस्ता झन् बढ्दो छ । संयोगले उनी एक फिल्मको निर्मातासमेत बन्न भ्याएका छन् । यहाँ उनै पुस्करको कलाकारिता यात्रालाई नजिकबाट नियाल्ने प्रयत्न गरिएको छ–
दुई कक्षा नाघेर ८ मा भर्ना
पुस्करका बुबा रिटायर्ड आर्मी । पुर्खाैली घर सिन्धुपाल्चोक । तर उनको हुर्काइ दोलखाको फस्पुस्थित मामा नभएको मामाघरमा भयो ।
मामा नभएकाले आफ्ना बुबा र सानाबा ‘घर ज्वाइँ’ बसेको उनी बताउँछन् । तर, बुबालाई गाउँलेले ‘घर ज्वाइँ’ भनेर वचन लगाएपछि सर्लाहीमा बस्न हिँडेको उनी सम्झन्छन् ।
‘बा, आर्मी, त्यहीमाथि गुरुङको रिस । वचन लगाएपछि आमा र तीन सय रुपैयाँ साथमा लिएर सर्लाही झर्नुभयो,’ उनी भन्छन्, ‘म र दाइ चाहिँ दोलखा नै बस्यौं ।’
पाँच कक्षासम्म घर नजिकैको प्राथमिक विद्यालयमा पढ्दा पढाइ राम्रै भए पनि माध्यमिक विद्यालय टाढा भएकाले पढाइ प्रभावित भएको उनी सम्झन्छन् ।
‘मावि पढ्न तीन घण्टा हिँड्नुपर्ने । हजुरआमाले खोलाले बगाउँछ, हिँड्न सक्दैन भनेर पढ्न पठाउनुभएन,’ उनी सम्झन्छन्, ‘६ र ७ घरमै पढेँ । ८ देखि विद्यालय गएँ । दुई वर्ष विद्यालय नगएकाले पढाइ कमजोर भयो ।’
दाजु क्याम्पस पढ्न काठमाडौं आइसकेकाले ०३३ सालमा ९ देखि काठमाडौंमै पढ्ने अवसर पाएको पुस्कर सुनाउँछन् ।
काठमाडौंमा धोबीधाराको डेरा बसाइ । स्कुले जीवनको फुर्सदको समयमा उनलाई प्रज्ञा प्रतिष्ठानमा नाटकसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका मिल्यो । पहिलो पटक आफूले हेरेको नाटकको नाम बिर्सिए पनि एक कलाकारको नाम उनलाई याद छ– नीर शाह ।
‘दोलखामा पनि नाटक त हेरेको, तर काठमाडौंको जस्तो व्यस्थित मञ्च हुँदैनथ्यो । ०३४ सालमा नाटक हेर्न पाएँ,’ उनी सम्झन्छन्, ‘आर्टिस्टिक थिएटर प्रत्यक्ष देखेपछि मैले त्यही दिन प्रण गरेको थिएँ– म एकदिन त्यो मञ्चमा हुन्छु ।’
पहिलो पटक नै नाटकको चस्का लागेपछि एकेडेमीमा मञ्चन हुने नाटकको नियमित दर्शक बन्न थालेको पुस्कर स्मरण गर्छन् । उनी भन्छन्, ‘धेरैको नाम बिर्सिएँ, त्यस समय हरिवंश आचार्यहरू नाटकका चर्चित कलाकार थिए ।’
‘दरबारको सोर्स’ ले क्याम्पस भर्ना !
दरबार हाइस्कुलबाट एसएससी थर्ड डिभिजनमा पास भएपछि पुस्कर ‘लअ क्याम्पस’ भर्ना भए । त्यसबेला ५५ प्रतिशतभन्दा कममा पास हुनेहरू कानुन पढ्न नपाउने क्याम्पसको बाध्यकारी नियमले बदमासी गर्नुपरेको किस्सा उनले सायदै बिर्सिछन् ।
‘देशमा राजतन्त्र थियो । क्याम्पस बाहिरबाट भित्र फोन गरेर म दरबारबाट बोलेको, पुस्कर गुरुङलाई भर्ना गरिदिनू भनेँ,’ उनी थप्छन्, ‘त्यसपछि क्याम्पसमा खैलाबैला भयो । भर्ना पनि भएँ । आफ्नो सोर्स आफैँ लगाएँ ।’
ल क्याम्पस भर्ना भएपछि नाटकमा साथीहरूसँग संगत बढेर ०३७ सालदेखि ‘सर्वनाम थिएटर’मा परिकल्पनामा काम गर्न पाएको उनी सुनाउँछन् ।
‘क्याम्पसमा रामकृष्ण निरालासँग भेट भयो । उनैमार्फत सर्वनाममा जोडिएर संस्थापक टिममा काम गर्न पाइयो, ०३८ सालमा थिएटर दर्ता भयो’ उनी भन्छन्, ‘दुई वर्ष त मैले अभिनय गर्नै पाइनँ । स्वयंसेवक भएर बसेँ । चिया पुर्याउने, टिकट छाप्ने जस्ता काममै अल्झिएँ ।’
त्यसबेला वरिष्ठ रंगकर्मीं सुनील पोखरेलहरू नाटकमा जमिसकेको सुनाउँदै उनी भन्छन्, ‘सुनील पोखरेलहरू नाटक गर्थे । नयाँलाई त अवसर पाउनै गाह्रो नि । सिक्ने ठाउँ थिएन । अरूको हेरेरै सिक्नुपर्थ्यो ।’
साना प्रहसनहरुमा छिटपुट देखिँदै गर्दा पहिलो पटक ०३९ सालमा ‘हामीले वसन्त खोजिरहेछौं’ नाटकमा अभिनय गर्ने अवसर मिलेको उनी बताउँछन् ।
खर्चका लागि ट्रेकिङ गाइड
राष्ट्रिय सभागृह र राष्ट्रिय नाचघरहरूमा व्यक्तिगत रूपमा गरेका नाटकहरू उनका लागि यादगार क्षण हुन् । पञ्चायती शासनको दबाबमा नाटक गर्नुपर्दाको अनावश्यक झन्झट त झन् उनले के बिर्सिन्थे !
‘वर्षमा एक पटक नाटक महोत्सव हुन्थ्यो, अरुबेला आफैँले नाटक देखाउने हो,’ उनी भन्छन्, ‘स्क्रिप्ट अञ्चलाधीश कार्यालयमा लगेर सेन्सर गराउनुपर्थ्यो । कर कार्यालयमा गएर टिकट छाप्नुपर्थ्यो । चोक र खुला ठाउँमा पोस्टर टाँसेर, माइकिङ गरेर अनेक गरी प्रचार गर्नुपर्थ्यो ।’
बढ्दो उमेरको दबाब र नाटकबाट आम्दानी नहुने भएपछि ‘ट्रेकिङ गाइड’का रूपमा काम गरेको अनुभव पनि उनीसँग छ । जागिर खाए पनि नाटकबाट भने टाढा नभएको उनी बताउँछन् ।
सडक नाटक
जागिरसँगै नाटकलाई निरन्तरता दिने क्रममा नौलो अभ्यास स्वरूप सडक नाटकमा काम गरेको पुस्कर सुनाउँछन् । ०३९ भदौ २० गते कीर्तिपुरमा गरिएको सडक नाटक नै नेपालको पहिलो रहेको उनको दाबी छ । आफूसहित रंगकर्मी सुनील पोखरेलको टिमले सो नाटक गरेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘पहिलो नाटक सफल भएपछि वाक स्वतन्त्रताको पक्षमा हामीले सडक नाटकहरू धेरै गर्यौँ । हामीले चेतना जगाउने नाटकहरू गर्थ्यौँ । त्यसपछि सडक नाटक बिस्तारै फस्टाउँदै गयो ।’
बिछोडले पढ्ने बानी
‘ट्रेकिङ गाइड’मा एक वर्ष काम गरेपछि पुस्कर ट्रेकिङ एजेन्सी’को मालिकसमेत बने । तर, उनलाई त्यसले खुसी दिएन । यद्यपि त्यसबेला भेटिएकी क्यानेडियन युवतीसँगको विछोडले पढ्ने बानी सिकाएको उनलाई महसुस हुन्छ ।
‘उनीसँग शारीरिक आकर्षण बढ्यो । घुलमिल भइयो । उनी स्वदेश फर्किएपछि म मायामा परेँ,’ उनी भन्छन्, ‘उनलाई भुल्न पढ्ने शैली विकास गरेँ । त्यसपछि किताबको खातहरू लगाएर पढ्न थालेँ । हिन्दी, अंग्रेजी र नेपाली किताब जुन विधाका भए पनि पढ्न थालेँ ।’ यसरी पढ्दा साहित्य र समाज बुझ्ने मौका पाएको उनको अनुभव छ ।
ट्रेकिङसम्बन्धी आफ्नै अफिस खोलेपछि व्यस्तता बढ्दै गएकाले नाटकबाट केही समय दूरी बढेको उनी सम्झन्छन् । तर नाटकको मोहले राम्रै चलिरहेको अफिस छोडेको उनी बताउँछन् ।
‘त्यो बेला पैसा छोडेर मलाई अभिनय नै रोज्न मन लाग्यो । दुबैतिर उत्तिकै समय दिनुपर्ने । मैले अफिस छोडेर नाटक गर्न थालेँ ।’ उनी सम्झन्छन् ।
आफ्नै घरको बसाइ
करिब ३० वर्षको उमेरतिर बाले बालुवाटरमा घर बनाएपछि उतै बस्न थालेको बताउँदै उनी भन्छन्, ‘त्यसअघि डेरा र साथीहरूको घरमा विना पैसा बस्थेँ । बाले घर बनाएको छु, आइज भनेपछि गइयो बस्न थालियो ।’
घर बसाइसँगै विवाह बन्धनमा बाँधिएपछि खर्चका लागि ‘मेडिकल रिप्रिजेन्टेटिभ’ भएर कामसमेत गरेको उनी सुनाउँछन् ।
उनी थप्छन्, ‘त्यसभन्दा अघि एक्लो ज्यान, अल्लारे भएर हिँडेको, बिहेपछि त बन्धनमा परिहालेँ नि ।’
विभिन्न काम गरे पनि समय मिलाएर नाटकलाई निरन्तरता दिन भने नछोडेको उनी बताउँछन् । उनी भन्छन्, ‘जागिर चाहार्दै हिडे पनि अभिनयचाहिँ छोडिएन । ०४२ सालमा टेलिभिजन आएपछि सिरियलमा काम गरियो ।’
‘एकरात’ र ‘दलन’ उनले काम गरेका लोकप्रिय सिरियल हुन् । उनी भन्छन्, ‘त्यसबेला टेलिभिजनमा सानो भूमिका निर्वाह गर्दा पनि बाटोमा टीभीमा देखेको मान्छे भनेर बोल्न आउँथेँ ।’
नाटक मोहले नै अन्ततः ०५२ सालमा सर्वनाम थिएटर छोडेर ‘डबली थिएटर’ खोलेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘नयाँले अवसर पाउन् भन्ने सोचले थिएटर खोलेको हुँ ।’ डबलीपछि अभिनय प्रशिक्षणका लागि विभिन्न जिल्लासमेत पुग्ने अवसर पाएको उनले सुनाए ।
अभिनय नै पेसा
लामो समय नाटकमा बिताएर थिएटरसमेत खोलेपछि भने विभिन्न एन्जियोमार्फत् वाक स्वतन्त्रता पक्षमा नाटकहरू गर्दै देशका विभिन्न स्थानमा पुगेको अनुभव पुस्करसँग छ ।
तर, विदेशीले ‘फन्ड’ दिएको थाहा पाएपछि साथीभाइले राजनीति गरेर प्रोजेक्ट हत्याउन थालेपछि त्यो काम छाडेको उनी बताउँछन् ।
‘जनचेतना फैलाउने नाटकका लागि फन्ड आउँथ्यो । म यहाँबाट पैसा आउन लागेको छ भन्थेँ, साथीहरु आफ्नै लागि डिल गर्न उता जाँदा रहेछन्,’ उनी भन्छन्, ‘कतिले डबलीको कागजपत्रसमेत स्टाफलाई प्रलोभनमा पारेर प्रोजेक्ट हत्याएको थाहा पाएँ ।’
पैसाका लागि किचलो गर्ने स्वभाव नभएकाले यस्ता प्रोजेक्टबाट बिस्तारै आफू टाढिएको उनी बताउँछन् । यद्यपि नाट्य कर्मबाटै अष्ट्रेलिया लगायतका देशमा भ्रमण गर्ने मौका पाएकामा उनी सन्तुष्ट छन् ।
अनि फिल्म यात्रा…
पुस्करको पहिलो फिल्म ‘कागबेनी’ हो । सन् २००८ मा प्रदर्शनमा आएको यस फिल्मबाट २० हजार पारिश्रमिक पाएको उनी बताउँछन् । उनी भन्छन्, ‘त्यतिबेला त राम्रै पैसा आएजस्तो लागेको थियो ।’
यद्यपि उनका लागि विशेष फिल्म हो– कबड्डी । यही फिल्ममा खेलेको भूमिका उनको परिचय बनेको छ । उनी सो फिल्ममा अभिनेता दयाहाङ राईको बाको भूमिकामा छन्
उनी भन्छन्, ‘मलाई धेरै दर्शकले चिनेको नै कबड्डीबाट हो । अहिले पनि बाटोमा हिँड्दा दयाहाङको बा भन्छन् । ए म उसको बा होइन, भन्दै हिँड्छु ।’
यसरी फिल्ममा प्रवेश गरी लोकप्रियता कमाएका पुस्करले ३० भन्दा बढी फिल्म खेलिसके । अनुबन्ध भएर सुटिङ जान बाँकी फिल्म कति छन्, उनलाई सम्झन मुस्किल पर्छ ।
अभिनयबाट खासै पैसा कमाउन नसके पनि बालुवाटरमा बाले बनाएको घरसँग जोडिएको ५ आना जग्गा जोड्ने आर्थिक हैसियतको जस पनि उनी रंगकर्मलाई नै दिन्छन् ।
उनी भन्छन्, ‘पैसाचाहिँ कताबाट पुर्याएँ, थाहा छैन । पाँच लाखमा पाँच आना जग्गा किनेको हुँ । घरमा घाम छेकिने पीरले त्यो जग्गा किन्न बाध्य भएको हुँ । राम्रै भयो अहिले ।’