समाचार

बालेनले नसुनेपछि सडक विभागले टाल्यो न्यूरोडको सडक

By खबरहब

June 03, 2024

काठमाडौं- फुटपाथ विस्तारका नाममा काठमाडौं महानगरपालिकाले काटेको न्युरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकमा कालोपत्रे गरिएको छ ।

फुटपाथ विस्तार गर्न भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनाअनुसार काटिएको सडकलाई कालोपत्रे गरेर पुरानै अवस्थामा फर्काइएको हो ।

सडक डिभिजन कार्यालयको टोलीले सोमबार उक्त सडकको काटिएको भाग कालोपत्रे गरेर पुरेको हो ।

उक्त सडक काटिएपछि काठमाडौं महानगरपालिका र सडक विभागबीच जुहारी चलेको थियो । उता मेयर साह र वडाअध्यक्षबीच पनि उक्त सडक काटिएकोमा भनाभन भएको थियो ।

सडक विभागले मापदण्डविपरीत काटिएको उक्त सडक तीन दिनभित्र पुर्न काठमाडौं महानगरपालिकालाई भनेको थियो । तर मेयर साहले आफ्नो अडान नछाडेपछि सडक विभागले सोमबार उक्त सडकमा कालोपत्रे हालेको हो ।