समाचार

देशलाई संकटबाट मुक्त गराउन गणतन्त्रको विकल्प खोज्नुपर्छ : राप्रपा नेपाल

By खबरहब

July 03, 2024

काठमाडौं– राप्रपा नेपालले संविधान संशोधनको निम्ति नयाँ गठबन्धन बनाएको अमूर्त तर्क केवल सत्ता आरोहणलाई पुष्टि गर्ने निरर्थक बहानामात्रै भएको टिप्पणी गरेको छ । 

केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि वक्तव्य जारी गरेर राप्रपा नेपालले देशलाई संकटबाट मुक्त गर्न संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्प खोज्ने साहस गर्नुपर्ने बताएको छ । 

‘संविधान संशोधनको निम्ति नयाँ गठबन्धन बनाउनु परेको अमूर्त तर्क केवल सता आरोहणलाई पुष्टि गर्ने निरंथक बहानामात्र हो,’ वक्तव्यमा भनिएको छ, ‘देशलाई संकटबाट मुक्त तुल्याउने हो भने संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्प खोज्ने साहस गर्नुपर्छ ।’

नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो पार्टी निकायमा संविधान संशोधन, पुनरावलोकन बारे कुनै छलफल र निर्णय नगरेको भन्दै राप्रपा नेपालले केवल सतही सुधारले देशले भोग्नुपरेको संकटको समाधान हुन नसक्ने जिकिर गरेको छ ।  

राप्रपा नेपालले राप्रपाप्रति व्यंग गर्दै संविधान संशोधनको चर्चाबाट हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना र प्रदेश संरचनाको खारेजी चाहनेहरूले उत्साहित हुनपर्ने र स्वागत गर्न हतारिनु पर्ने कुनै आवश्यकता नरहेको पनि टिप्पणी गरेको छ । 

‘यही असफल र भ्रष्ट व्यवस्थालाई थप टेको लगाउन वा सुदृढ तुल्याउन गरिने भनिएको कथित संविधान संशोधनको चर्चाबाट हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना र प्रदेश संरचनाको खारेजी चाहनेहरूले उत्साहित हुनपर्ने वा स्वागत गर्न हतारिनु पर्ने कुनै आवश्यकता छैन,’ महामन्त्री राजाराम बर्तोलाद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ । 

अहिलेको अवस्थामा सतही संविधान संशोधन नभएर धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताबारे पुनरावलोकन गरी सबै नेपाली अटाउने हिन्दुराष्ट्र सहितको राजनीतिक प्रणाली निर्माण गर्न सर्वपक्षीय सम्मेलन वा ति विषयमा जनमत संग्रह गर्न राप्रपा नेपालले माग गरेको छ ।