राजनीति

यो सरकार बिचौलियाले बनाएको हो भन्ने घटनाक्रमले पुष्टि गरेको छ : वर्षमान 

By खबरहब

August 03, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले काँग्रेस र एमालेलाई बिचौलिया र दलाल पुँजीपति वर्गले मिलाइदिएको बताएका छन् । 

पार्टी सम्बद्ध काठमाडौँ–दोरम्बा सम्पर्क मञ्चले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै पुनले प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानबाट तर्सिएका बिचौलिया र दलालहरूले राजनीतिक समीकरण फेरेको पछिल्लो घटनाक्रमहरूले पुष्टि गर्दै लगेको बताए । 

पुनले बिचौलियाहरूले नेपालमा प्रधानमन्त्री र मन्त्रीहरूको नियुक्ति र सचिव सरुवा गर्ने हैसियत बनाएको भन्दै उनले यो अवस्था अब लामो समयसम्म रहन दिन नहुने उल्लेख गरे । 

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा करोडमा नभई अरबमा लेनदेन भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले हिम्मतसाथ बिचौलियाको चाहनामा काम नगरेको उनको भनाइ थियो ।

 ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भएको त्यही हो । प्रधानमन्त्री र मैले बिचौलियाले भनेअनुसार नियुक्ति सरुवा र बढुवा गर्न नमानेका कारण हामीलाई सरकारबाट हटाइयो’, उनले भने, ‘हामीले बिचौलियाको हित हुने गरी धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न इन्कार गरेकै हौं । भ्रष्टाचारविरुद्ध लड्दा सरकारबाट निकालिएका छौं । यो जनताले बुझेका छन् ।’ 

देशमा बिचौलियाले नियुक्त गरेका प्रधानमन्त्री र मन्त्री भएका कारण भ्रष्टाचार, अनियमितता र राज्य दोहनको प्रक्रिया तीव्र रुपमा बढेर जाने दाबी पुनले गरे । त्यस्ता प्रवृत्तिविरुद्ध प्रतिपक्षमा बसेर संघर्ष गर्ने नीतिमा आफूहरु रहेको पुनले बताए ।

सरकार कसले र केका लागि बनाएको थियो भन्ने विषयको पटाक्षेप ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत महसुल नतिर्ने व्यवसायीहरूलाई सरकारले संरक्षण गरिरहेबाटै भएको तर्क उनले गरे । लाल आयोगले न्यायोचित ढंगले ८ अर्ब तिर्नुपर्छ भनेकामा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले तिर्नुपर्दैन भनेर हिंड्नुले उनीहरूको असली चरित्र उदाँगो भएको आरोप पुनले लगाए । 

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विद्युत महसुल तिर्दिनँ भन्ने उद्योगीलाई बोलाएर छलफल गर्नु गम्भीर विषय भन्दै उनले त्यसप्रति आपत्ति जनाए । ‘जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर उद्योग चलाउनेहरूले महसुल तिर्दिनँ भनेर च्यालेन्ज गरिरहेका छन् । 

सरकारमा रहेका दलहरु जनताको नभई बिचौलिया र दलाल पुँजीपतिहरुको हित संरक्षणमा लागेको आरोप उनले लगाए । पुनले बिचौलिया वर्गको हित संरक्षण गर्न नसकेका दिन वर्तमान केपी ओली नेतृत्वको सरकार बनाउनेहरुले नै ढाल्ने ठोकुवा गरे ।

 पुनले काँग्रेस र एमालेले आफ्ना नागरिकलाई भुटानी बनाएर अमेरिका पठाउँछु भन्दै पैसामा बेच्ने, बुटवलसहित विभिन्न ठाउँमा सुकुम्बासीका नाममा सरकारी जमिन ओगटेर बेच्ने, बालुवाटारको सरकारी जमिन किर्ते गर्ने तथा ठूला भ्रष्टाचारका काण्ड घटाएकामा जनता स्पष्ट रहेको दाबी गरे । 

उनले दुई ठूला दलले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकार खोज्ने र मुलुकलाई पछाडि फर्काउने गरी संविधान संशोधनको सहमति गरेको भन्दै त्यो सफल हुन नदिइने बताए । 

माओवादी र प्रचण्डका कारण मुलुकमा राजनीतिक अस्थिरता निम्तिएको भन्ने दुई दलको दाबी सही नभएको भन्दै पुनले दुई तिहाई बहुमतको संसद विघटन गर्ने केपी ओली र उनलाई बोक्ने काँग्रेसले अरुमाथि त्यस्तो आरोप लगाउन नसुहाउने तर्क गरे । 

सरकारबाट बाहिरिनुपर्दा पनि आफ्नो पार्टीको शीर्ष नेतृत्वदेखि कार्यकर्ता पंक्तिसम्म कुनै चिन्तामा नरहेको भन्दै पुनले सुशासनको मामिलामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सँग पनि सहकार्य गरिने स्पष्ट गरे । 

फरक प्रसंगमा उनले पृथ्वीनारायण शाहपछिको युगनायक आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको बताए । पुनले प्रचण्ड नेतृत्वमा भएको १० वर्षे सशस्त्र माओवादी जनयुद्धले समाज परिवर्तनमा अतुलनीय भूमिका निर्वाह गरेको बताए । 

जनयुद्धका महिला, मजदुर, मधेसी, दलित, जनजाती, धार्मिक अल्पसंख्यक र किसानका पक्षमा गरिएको संघर्ष भएको चर्चा गर्दै उनले जनयुद्धले दबाएर राखिएका बोल्न नसक्नेलाई बोल्न सक्ने बनाएको तर्क गरे । जनताको अधिकारका लागि भएको संघर्षको नेतृत्व गरेका कारण कुनै दिन चोकचोकमा प्रचण्डको शालीक बनाउने अवस्था आउने दाबी उनको थियो ।