काठमाडौं– काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको आईसी–८१४ कलसाइनको विमान अपहरणमा परेको २५ वर्ष नाघिसकेको छ ।
काठमाडौंबाट नयाँ दिल्लीतर्फ उडेको विमान २४ डिसेम्बर सन् १९९९ मा भारतीय सीमाक्षेत्र प्रवेश गर्दैगर्दा अपहरणमा परेको थियो । काठमाडौंबाट दिउँसो ४ बजे उडेको विमानमा सवार पाँचजना अपहरणकारीले एकाएक विमान ‘हाइज्याक’ (अपहरण) भएको घोषणा गरेका थिए ।
अपहरणकारीमध्ये एकजनाले विमानको ककपिटमा पुगेर विमानलाई निर्धारित रुट नभएर पाकिस्तानको लाहौरतिर लैजान पाइलटलाई आदेश दिएका थिए ।
विमानमा १७६ यात्री र चालक दलका १५ जना (क्रु मेम्बर) थिए । उक्त विमान अपहरण नेपाल र भारतको हवाई इतिहासमा एउटा नबिर्सिने घटना भएको छ ।
यही विमान अपहरणको घटनालाई लिएर हालै भारतीय फिल्म निर्माता अनुभव सिन्हाको वेबसिरिज ‘आईसी–८१४ द कन्दाहर हाइज्याक’ प्रदर्शनमा आएको छ । सो विमान अपहरण प्रकरण के थियो त ? यो सामग्रीमा सारसङ्क्षेप चर्चा छ ।
पाइलटलाई ‘गन प्वाइन्ट’ मा भनियो– ‘विमान पाकिस्तान लैजाऊ’
कलसाइन आइसी–८१४ का फ्लाइट इन्जिनियर रहेका अनिल के जगिया र भारतीय खोज पत्रकार सौरभ शुक्लाको चर्चित पुस्तक ‘आइस ८१४ हाइज्याक्ड : द इनसाइड स्टोरी’ का अनुसार पाकिस्तानको ‘हरकत उल मुजाहिद्दिन’ का चरमपन्थीले क्याप्टेन देवी शरणलाई ‘गन प्वाइन्ट’ मा राखेर विमान पाकिस्तान लैजान आदेश दिन्छन् ।
चरमपन्थीहरूले लखनऊ (भारत) हुँदै दिल्लीतर्फ गइरहेको विमान एकाएक लाहौर (पाकिस्तान) तर्फ लैजाने आदेश दिएपछि क्याप्टेन देवी शरणले इन्धन कम भएको बताएका थिए । उनले इन्धनका लागि भारतको पञ्जाबस्थित अमृतसरमा विमान अवतरण गर्नुपर्ने बाध्यता सुनाए ।
यद्यपि, विमान हाइज्याक भएको थाहा पाउनासाथ भारतीय सुरक्षाबलले अपहरणकारीविरुद्ध कारबाही तयारी थालिसकेको थियो । तर, विमानमा रहेका अपहरणकारीलाई पनि उक्त तयारीबारे जानकारी भइसकेको हुन्छ ।
अपहरणकारीले इन्धन नथपिकन विमानलाई पाकिस्तानको लाहौर लैजान चालकलाई बाध्य बनाउँछन् । विमान अमृतसरमा अवतरण त भयो तर, इन्धन नभरी पाकिस्तानतिर लगियो ।
लाहौर पुग्दा अन्धकार एयरपोर्ट
अपहृत विमानले अमृतसरमा केही समय रोकिएर बेलुकी झण्डै ६ बजे लाहौरतर्फ उडान भर्छ । विमान लाहौर पुग्दा सुरुवातमा पाकिस्तानले अवतरण अनुमति दिँदैन । पाकिस्तानी अधिकारीहरूले एयरपोर्टका सबै बत्ती बन्द गरेर अन्धकारमय बनाइदिन्छन् ।
तर, विमानलाई इन्धन भर्न लाहौर एयरपोर्टमा अवतरण गराउनुको विकल्प थिएन । अनेक प्रयासपछि विमानलाई अवतरण अनुमति मिल्छ । पाकिस्तान सरकारको अनुमतिबिना नै विमान राति झण्डै ८ बजे लाहौर एयरपोर्टमा अवतरण हुन्छ ।
लाहौरबाट दुबई, २७ यात्री रिहा
इन्धन भरेपछि पाकिस्तानले विमान चालकलाई तत्काल एयरपोर्ट छोड्न आदेश दिन्छ ।
लाहौरबाट विमान दुबई एयरपोर्ट पुग्छ । जहाँ अपहरणकारीले इन्धन भर्ने बहानामा २७ यात्रीलाई बाहिरिने अनुमति दिन्छन् । जसमा अधिकांश महिला र बालबालिका थिए ।
भारतले दुबई एयरपोर्टमा विमान र यात्रुलाई छुटाउन कारबाही प्रक्रिया अघि बढाउन यूएईसँग अनुमति त माग्यो । तर, प्रस्ताव अस्वीकार भयो ।
बिहानै कन्धार एयरपोर्टमा विमान
लाहौरबाट दुबई हुँदै इन्डियन एयरलाइन्सको विमान अर्को दिन झण्डै ८ बजेर ३० मिनेटमा अफगानिस्तानको कन्धार (कन्दहार) एयरपोर्टमा अवतरण हुन्छ ।
त्यसबेला अफगानिस्तानमा तालिवानको शासन थियो । अपहरणको घटनाक्रम नसकिँदासम्म अर्थात ३१ डिसेम्बरसम्म विमान कन्धारमै रह्यो ।
भारतले यहाँ पनि अपहरणकारीविरुद्ध कारबाहीका लागि तालिवानसँग अनुमति मागेको थियो । तर, तालिवानले अस्वीकार गरिदियो ।
डोभालको दाबी– हाइज्याकमा आइएसआइको हात
भारतका तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार (वर्तमान पनि) अजीत डोभाल आफैं अपहरणकारीसँग वार्ता गर्न कन्धार पुगेका थिए ।
उनले विमानमा पाकिस्तानी खुफिया एजेन्सी आइएसआइका दुईजना बसेको देखे । पछि आइएसआइका केही अरू मानिसहरू पनि त्यहाँ पुगे । जसमा एकजना लेफ्टिनेन्ट कर्णेल र एकजना मेजर थिए ।
डोभालको भनाइ थियो– अपहरणकारीलाई पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको समर्थन नभएको भए भारतले उक्त सङ्कटलाई सहजै टार्न सक्थ्यो । भारतको कुनै पनि सैन्य अभियानबाट अपहरणकारीलाई जोगाउने उद्देश्यले तालिवानका लडाकुले भारतीय जहाजलाई चारैतिरबाट सुरक्षा दिएका थिए ।
पाँचै अपहरणकारीको कोड नेम– चिफ, बर्गर, डाक्टर, शंकर र भोला
भारतीय लेखक निलेश मिश्राको पुस्तकमा यात्रुले विमान भित्र १७३ घण्टासम्म पाएको दुःखको बयान गरेको छ ।
यसै पुस्तकमा पाँचै अपहरणकारीहरु एकअर्कालाई चिफ, बर्गर, डाक्टर, शंकर र भोला ‘कोड वर्ड’ले सम्बोधन गर्थे । हालै आएको वेब सिरिजमा पनि यिनै नामहरूको जिकिर गरिएको छ ।
तर, नामकै विषयमा भारतमा विवाद चलिरहेको छ ।
गृहले ठम्याएको थियो अपहरणकारीको नाम
भारतीय गृह मन्त्रालयले ६ जनवरी २००० हाइज्याकमा प्रत्यक्ष सङ्लग्न पाँचै जनाको नाम सार्वजनिक गर्यो ।
उनीहरू बहावलपुरका इब्राहिम अतहर, कराचीका शाहिद अख्तर सइद उर्फ गुलशन इकबाल, कराचीको डिफेन्स एरियाका सनी अहमद काजी, कराचीको अख्तर कोलोनीका मिस्त्री जहुर इब्राहिम र सुक्कुर सिटीका शाकिर थिए ।
भारतीय विदेश मन्त्रालयको वक्तव्यमा अपहरणकारीले विमानमा चिफ, डाक्टर, बर्गर, भोला र शंकर जस्ता ‘कोड नाम’ राखेका उल्लेख थियो ।
जब नवविवाहितको घाँटी रेटियो
अपहरणकारीले विमानमा आतङ्क फैलाउन यात्री रूपेन कात्यालको घाँटी रेटिदिएका थिए । जसकारण विमानमा रगतको आहाल बनेको थियो ।
अपहरणकारीले नवविवाहित दुलही रचना कात्यालकै अघि उनका पति रूपेनको घाँटी रेटेका थिए । घाँटी रेटेका कारण रूपेनले तड्पी–तड्पी प्राण त्यागेका थिए । जसका कारण विमानका केही यात्रु बेहोस भएका थिए ।
अपहरणकारीको माग : ३६ साथीको रिहाइ, २० करोड डलर फिरौती
अपहरणकारीले भारतीय जेलमा थुनिएका ३६ आतङ्ककारी रिहाइका साथै २० करोड अमेरिकी डलर फिरौती मागेका थिए ।
तर, भारत सरकारले अस्वीकार गरेपछि उनीहरू पछि हटेका थिए । त्यसपछि अपहरणकारीहरू भारतमा बन्दी बनाइएका तीनजना साथीलाई रिहा गर्नुपर्ने मागमा अडिए ।
जसवन्त सिंहका साथ आए तीन आतङ्ककारी
अपहरण सङ्कट नसकिँदासम्म कन्धार एयरपोर्ट भारत र तालिवानी अधिकारीहरूको केन्द्रमा परिणत भयो ।
त्यस दौरान भारतमा अटल बिहारी वाजपेयी नेतृत्वको सरकारका विदेशमन्त्री जसवन्त सिंह थिए । त्यसबेला उनी दुईपटक कन्धार एयरपोर्ट पुग्नुपरेको थियो ।
पहिलोपटक अपहरणकारीसँग वार्ताका लागि गएका जसवन्त दोस्रो पटक भारतीय जेलमा बन्द आतङ्ककारी जैश–ए–मोहम्मदका मौलाना मसुद अजहर, मुस्ताक जरगर र अहमद उमर सइद शेखका साथ कन्धार पुगेका थिए ।
आतङ्ककारीलाई साथमा लैजानुको मुख्य उद्देश्य थियो– विमानका यात्रुको रिहाइ ।
बाजपेयीमाथि आतङ्ककारीसामु घुँडा टेकेको आरोप
भारतका तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीले नयाँ वर्षको पूर्वसन्ध्यामा सरकार अपहरणकारीका माग सक्दो कम गर्न सफल रहेको प्रतिक्रिया दिएका थिए । उनले सङ्कट समाधान भएको पनि बताएका थिए ।
डिसेम्बर ३१ मा जब भारतले अफगानिस्तानको कन्धारमा तीन आतङ्ककारी रिहा गरेपछि यात्रु अपहरणमुक्त भएका थिए । विमानमा रहेका यात्रीहरू अपहरणमुक्त भएपछि सरकारले सङ्कट समाधानका लागि अपनाएको तरिकाबारे प्रश्न उठाइएको थियो ।
आतङ्ककारीसामु घुँडा टेकेको भन्दै प्रधानमन्त्री बाजपेयीको भारतमा तीव्र आलोचना गरिएको थियो ।