समाचार

महिला हिंसा नियन्त्रण गर्न सरकार कडा रूपमा प्रस्तुत हुन्छ : मन्त्री सुडी

By खबरहब

September 03, 2024

काठमाडौं– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक हिंसा नियन्त्रण, सामाजिक कल्याण, ज्येष्ठ नागरिक संरक्षणलगायत कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनमा रहेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उनले वैदेशिक रोजगारीका क्रममा रहेका महिलाले भोगेको घरेलु हिंसाका बारेमा ध्यानाकर्षण भएको बताए । महिलामाथि भइरहेको हिंसा नियन्त्रणका लागि सरकारले आवश्यक पहल गरिरहेको उनको कथन छ ।

हिंसापीडित महिलालाई सम्मानपूर्वक राख्नका लागि देशभर नै आश्रय स्थल निर्माणका लागिसमेत मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिँदै उनले मधेस प्रदेशमा उक्त स्थलको निर्माण प्रक्रिया अगाडि बढेको र बागमती प्रदेशमा छिट्टै बोलपत्रको काम अगाडि बढ्ने बताए ।

अछामको छाउपडीसँग जोडिएको एक घटनाको छानबिन प्रक्रिया अगाडि बढिसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने मन्त्री साहको भनाइ छ । उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित र सेवाका लागि सरकारले आवश्यक पहल गरीरहेको उल्लेख गरे ।