ब्रेकिङ स्टोरी

भुटान पुगे पूर्वराजा शाह, विमानस्थलमा ‘रेड कार्पेट’सहित स्वागत (तस्बिरहरू)

By खबरहब

October 03, 2024

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित बिहीबार भुटानको राजधानी थिम्पु पुगेका छन् ।

बिहीबार बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु प्रस्थान गरेका उनलाई पारो विमानस्थलमा विशेष स्वागत गरिएको छ ।

विमानस्थलमा पूर्वराजा र उनको परिवारलाई ‘रेड कार्पेट’सहित स्वागत गरिएको हो ।

भुटानी राजपरिवारको निमन्त्रणामा उनी भुटान भ्रमणमा पुगेका हुन् । शाहका साथमा छोरी प्रेरणा र भतिजी सिताष्मा पनि छन्।

पूर्वरानी कोमल शाह र पूर्वयुराज्ञी हिमानी शाह भने यो भ्रमणमा सहभागी छैनन् । पूर्वराजा शाह आगामी आइतबार स्वदेश फर्किने तालिका छन् ।

हिमाली मुलुक भुटान र नेपालमा लामो समय राजतन्त्र थियो । नेपालको राजतन्त्रलाई २०६५ मा गणतन्त्र घोषणासहित बिदा गरिएको थियो । भुटानमा भने अझै राजतन्त्र छ ।