देश/प्रदेश

बल्खुका बाढीपीडितलाई नेपाल-भारतमैत्री संघको राहत

By खबरहब

October 03, 2024

काठमाडौं-  नेपाल-भारतमैत्री संघले काठमाडौंको बल्खुका बाढी पीडितलाई दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।

बिहीबार एक कार्यक्रम गरी नेपाल-भारतमैत्री सङ्घले बल्खुका बाढी पीडितहरूका नेपाल चिकित्सक सङ्घमार्फत दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।

बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक सङ्घको आग्रह बमोजिम सङ्घले सो राहत सामग्री हस्तान्तरण गरेको संघका कार्यवहाक अध्यक्ष ई. शैलेन्द्र मोहन झाले बताए ।

राहत सामग्रीमा खाद्यान्न, औषधि, व्याङ्वेट, कम्बलहरू लगायत बहुउपयोगी सामग्री छन् । ‘बल्खु क्षेत्रमा धेरै क्षति पुगेकाले चिकित्सक सङ्घको आग्रह अनुरूप हामीले खाद्यान्न, औषधि, ब्लांकेट, कम्बलहरू लगायत बहुउपयोगी सामानहरू हस्तान्तरण गरेका छौं’, उनले भने, ‘उहाँहरूले उचित व्यवस्थापन गर्नुहुन्छ भन्ने हामीलाई आशा लागेको छ ।’

कार्यक्रममा बोल्दै नेपाल चिकित्सक सङ्घको अध्यक्ष डा. अनिल कार्कीले आफूहरूले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताए ।

उनले बल्खुमा दुई दिनभित्र मेडिकल क्याम्पसहित आफूहरू जाने र राहत वितरण गर्ने बताए ।

उनले विपद्को बेलामा आगामी दिनमा पनि नेपाल-भारतमैत्री सङ्घले यस्तै सहयोग गर्ने विश्वास व्यक्त गरे ।

विभिन्न पेशा, व्यवसाय र समाजका विभिन्न क्षेत्रमा कार्यरत विशिष्ठ व्यक्ति आबद्ध भई नेपाल- भारत मैत्री संघका क्रियाकलाप हुने गरेका छन् ।