समाचार

बाढीले पुल बगाएका स्थानमा फड्के निर्माण

By खबरहब

October 03, 2024

पाँचथर – यही असोज १२ गते आएको बाढीले पुल बगाएका यहाँका दुई खोलामा फड्के निर्माण गरी मानिसको आवतजावतलाई सहज बनाइएको छ ।

मेची राजमार्गअन्तर्गत नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को हेवा खोला तथा फिदिम–फालोट सडकअन्तर्गत फिदिम नगरपालिका १ र ११ को फेमे खोलामा फड्के निर्माण गरिएको हो । पुल बगाएपछि आवतजावत ठप्प भएका यी स्थानमा फड्के बनेपछि यात्रा सहज भएको छ ।

मेची राजमार्गअन्तर्गत हेवा खोलामा रहेको बेलिब्रिज बगाएको स्थानभन्दा करिब एक सय मिटर तल फड्के निर्माण भएको छ । नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय, फिदिम नगर प्रहरी, फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका तथा स्थानीय युवाको सक्रियतामा चार दिन लगाएर उक्त फड्के बनाइएको हो ।

फड्के निर्माण गरिएको स्थान नजिकै सडक डिभिजन कार्यालय इलामले डाइभर्सन निर्माण गर्ने तयारी गरिरहेको छ ।

फिदिम नगरपालिकाकै वडा नं १०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकालाई सदरमुकामसम्म जोड्ने फेमे खोलाको सडक पुल बाढीले बगाएपछि यातायात पूर्णरुपमा अवरुद्ध छ ।