काठमाडौं– थाइ एअर एसियाले गौतमबुद्ध विमानस्थल भैरहवामा सिधा उडान थालेको छ । थाइले बैंकक–भैरहवा–बैंकक उडान आइतबारबाट सुरु गरेको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाइ एअर एसियाले भैरहवाबाट साताको २ दिन उडान भर्नेछ।
अब ८ नोभम्बर (मंसिर २३) मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए।
राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७:४० बजे बैंकक प्रस्थान गरिसकेको छ। विमानमा चालक दलका ७ सदस्यहरू मात्रै आएका थिए।
यो तालिकाकै उडान हो। थाइ एअर एसियाले केही दिनअघि भैरहवा र पुनः उडान काठमाडौंमा सुरु गर्न अनुमति पाएको थियो । हतारमा उडान सुरु भएकोले टिकट बिक्री लगायत बजार प्रवर्द्धन गर्न नपाएको राउतले बताए।
भैरहवाबाट बैंङ्ककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ छ।
यससँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको २ दिन उडान गर्ने तयारी गरेको प्रवक्ता राउतले बताए।
विगतमा पनि उडान भएर रोकिएकाले यहाँका पर्यटन व्यवसायीले नियमित उडान हुनुपर्ने माग गरिरहेका छन्।