स्टोरी

दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका प्रकाशको बयान : सौर्य एयरलाइन्स पैसा बोकेर हिँडेको छ, म इमान…

By सीता न्यौपाने

December 03, 2024

काठमाडौं – गत साउन ९ गते बिहान ११ बजे त्रिभुवन विमानस्थलको डिलमै सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो। मर्मतका लागि पोखरा जान उडान भरेको जहाजमा सवार एक विदेशीसहित १८ जनाको मृत्यु भयो। जहाजका पाइलट मनिषरत्न शाक्य घाइते भए। विमानस्थल नजिकको दुर्घटना भएकाले उनको समयमै उद्धार भएकाले बाँच्न सफल भए।

पाँच मिनेटअगाडि सिंहदरबारबाट आफैंले स्कुटरमा बोकेर विमानस्थल पुर्याएका छोरी प्रिजा खतिवडा र चार वर्षीय नाति अधिराज शर्मालाई पत्रकार प्रकाश खतिवडाले उक्त दुर्घटनामा सदाका लागि गुमाए। सौर्यमै कार्यरत ज्वाइँ मनुराज अधिकारी उक्त दुर्घटनामा बिते। सप्तरीको कञ्चनरुप नगरपालिका–७ पत्रकार खतिवडा उक्त दुर्घटनादेखि शोक र आक्रोश दुवै बोकेर हिँडेका छन्। चार छोरीमध्ये प्रिजा जेठी सन्तान थिइन्। त्यही दुर्घटनादेखि खतिवडाले थालेको संघर्ष चार महिना बितिसक्दा पनि जारी छ।

खतिवडाका ज्वाइँ मनुराज सौर्य एयरलाइन्सका आइटी इन्जिनियर थिए। मर्मतका लागि पोखरा जान लागेको प्राविधिक टिममा भएकाले श्रीमती र छोरालाई घुमाएर ल्याउने भन्दै उनैले ससुरा प्रकाशलाई खबर गरेका थिए।

जवाइँले भनेअनुसार ऊर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजा र स्कुलमा रहेका नातिलाई उनैले एयरपोर्ट छोड्न गए। तर, यो कदम केही मिनेटमै कहाली लाग्दो दुर्घटनामा परिणत होला भन्ने उनले कल्पनासम्म गरेका थिएनन्।

उनको परिवार अहिले पनि उक्त दुर्घटनाको त्रासदीकै वरपर भौतारिइरहेको छ। खबरहबसँग कुरा गर्दै भकानिएका खतिवडाले आफैंलाई प्रश्न गर्दै भने, ‘अफिसमा काम गर्दै गरेकी छोरी र स्कुलमा पढ्दै गरेको फूलको थुङ्गोजत्रो चार वर्षको नातिलाई मर्नका लागि एयरपोर्ट छोडेर आए जस्तो भयो। कतै आफैँले त मारिन ? किन मैले उनीहरूलाई पोखरा जानु पर्दैन सकिनँ ?’

उनी दुर्घटनायता त्यही प्रश्न आफैँलाई दोहोर्याइरहन्छन्। तर, उनीसँग उत्तर छैन। एयरलाइन्सको लापरवाहीले उनी आफैँलाई दोषीको कठघरामा उभ्याइरहेका छन्। उक्त दुर्घटनाबारे छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनले सन्तुष्ट छैनन्। उक्त प्रतिवेदनमा आफ्ना मृत परिवारको लागि न्याय नभएको भन्दै उनी हारगुहार गरिरहेका छन्।

अवैधानिक उडान भरेको एयरलाइन्सले छोरीलाईसमेत आफ्नो कर्मचारी बनाएर मृत छोरीलाई भ्रष्टाचारी करार गरेको भन्दै उनी लडिरहेका छन्। वायु बिमाको लागि ऊर्जा मन्त्रालयकी कर्मचारी आफ्नी छोरीलाई सौर्यले आफ्नो कर्मचारी बनाएको उनको आरोप छ। दुर्घटना र आफ्नो असन्तुष्टिको बारेमा खतिवडाले खबरहबसँग गरेको कुराकानी :

त्यो दिन के भएको थियो ?

मैले एयरपोर्टमा छोडेर आएको पाँच मिनेटमा मेरा सन्तति मसँग रहेनन्। घर फर्कंदै गर्दा बाटोमा मैले खबर थाहा पाउने कुरा भएन। घर पुग्दा रुवाबासी थियो।

हिमालय बैंकमा काम गर्ने कान्छी छोरीले फोन गरेर दिदीहरु कता गएको हो ? सौर्य एयरलाइन्स दुर्घटनामा पर्यो भन्ने समाचार आएको छ भनेर फोन गरिन्। तर पुष्टि नहुञ्जेल पत्याउने कुरा भएन। दुर्घटना नै भएको रहेछ भने पनि घाइते होलान् भन्ने थियो। तर पाइलटबाहेक अरु सबै यात्रुको मृत्यु भएको पुष्टि भयो।

मृत्यु र जीवनको दुरी कति हुन्छ ? त्यो एक छोरी गुमाएको बुवाले मात्रै महसुस गर्न सक्छ। त्यो दिनको घटनामा म आफैंले छोरी र नातिलाई एयरपोर्ट छोडेर आएको थिएँ। ज्वाइँ हाम्रै संरक्षणमा हामीसँगै हुनुहुन्थ्यो। बच्चालाई हेरचाह गर्नुपर्ने भएर हामी सँगै थियौं।

स्वभाविक र अस्वभाविक दुईखालको मृत्यु हुन्छ। यो अस्वभाविक मृत्युको मुख्य कारण भनेको लापरिवाहीले हो। अहिले पनि हामी उक्त दुर्घटनाको धङधङगीबाट मुक्त हुन सकेका छैनौं। आफूलाई सम्हालेर परिवारका सबै सदस्य उसकी आमा सबैलाई सम्हाल्ने जिम्मा मेरो छ। आफूलाई बलियो बनाउनुपर्ने दायित्त्व छ। पीडालाई अभिव्यक्त गर्न पाउँदा केही हलुका भने हुने रहेछ।

आजकाल मानिस धेरै व्यस्त छन्। आफ्ना मान्छेको पिडा सुन्ने फुर्सद छैन। तर मलाई मेरो पीडा सुनिदिए हुन्थ्यो भन्ने लाग्छ। सहानुभूतिले आत्मा हलुका हुन्छ।

छोरी बिहे गरेर श्रीमानको घरमा गएर बसेको पनि होइन। बिहे गरे पनि हामीसँगै थिइन्। नाति पुरै मैले हुर्काएको हुँ। उसका आमाबुवाले एक महिना मसँग छोडेर हिँड्थे। त्यो भावना नातिसँग मेरो टाँसिएको थियो।

चार छोरीमध्ये उनी जेठी छोरी हुन्। माइली छोरी पत्रकारितामै थिइन्। अहिले दिदीको ठाउँमा करारमा काम गर्छिन्। पीडित परिवारको एक जनालाई रोजगारी सुनिश्चित गर्ने भनेर सरकारले दिदीकै ठाउँमा काम गर्छिन्।

छोरीको बिहे गरेर लगभग आफ्नो जिम्मेवारी पुरा गरेको थिएँ। पत्रकारितामा पनि असाध्यै सन्तुष्ट भएर काम गरेँ। सत्य र तथ्यमा लेख्ने पत्रकारले इमानको आम्दानी गर्छ। ज्वाइँको घर भारत भएकाले यहाँ नेपालमा हामीसँगै हुनुहुन्थ्यो। ज्वाइँछोरी दुवै जागिरे भएकाले नाति हुर्काउने जिम्मा हाम्रो थियो। बुवाआमाले भन्दा बेसी मैले नाति हुर्काएको थिए।

उनीहरुको सम्झना कसरी चिरस्थायी बनाउने। मरेमा मान्छेलाई कसरी जीवित बनाइराख्ने भनेर ‘म्याप मेमोरियल सोसाइटी नेपाल’ अभियान सुरु गरेको छु। एम–मनुराज, अ–अधिराज र पी-प्रिजा। उनीहरुको नामको पहिलो अक्षरलाई राखेर म्याप नेपाल सुरु गरेको छु।

यो संस्थामार्फत सामाजिक काम गर्छु। यिनीहरुको परिवार नै सकियो, कुनै उत्तराधिकारी छैन। हाम्रो परम्परा अनुसार मासिक, ४५ दिन, वर्षदिनमा गर्ने कर्म हुन्छ। श्राद्धगर्ने संस्कार छ, तर उनीहरुको गर्ने कसले ? उनीहरुलाई कसरी सम्झने ? कम्तिमा वर्षको एकपल्ट हामी अभिभावकले वार्षिक कार्यक्रम गरेर सम्झिनुबाहेक अरु उपाय छैन।

अरुले नसम्झे पनि यो संस्थामार्फत एक अक्षयकोष खडा गर्छु। ज्वाइँ आइटी इन्जिनियर भएकाले उहाँको क्षेत्रबाट उत्कृष्ट एकलाई पुरस्कार गर्छु। छोरी निजामति सेवामा थिइन्। उनको नाममा एक पुरस्कार स्थापना गर्छु। वर्षमा एक उत्कृष्ट निजामती महिला कर्मचारीलाई पुरष्कृत गर्ने र अर्को एउटा नाति मैले पढाउन पाइन। अरु सय नाति पढाउँछु। यो लक्ष्यसहित यो म्याप नेपाल स्थापना भएको छ।

उनीहरुको तिथिका दिन सामाजिक कार्य गरेर उनीहरुलाई सम्झना गर्ने हो। ३० वर्षको पत्रकारितामा हरेक क्षेत्र वा बिटमा काम गरियो। अब एभिएसन बिटकै विसंगतिका बारेमा लेख्छु र बोल्नेछु। मैले यो नियति भोगेँ, अब अरुले भोग्नु नपरोस् भनेर यस क्षेत्रको कमीकमजोरी उठाउनेछु।

यो नरशंहार हो। यो उडान नै अवैधानिक थियो। विस्तृत रुपमा अध्ययन गरेर भनेको हुँ। विमान र यात्रु पनि अवैधानिक थियो। अर्को आयोग र आयोगले बनाएको प्रतिवेदन अवैधानिक थियो। योग्यता नपुगेका कर्मचारी राखेर आयोग बनेको छ। आजै मन्त्रीले यो कुरा स्वीकार गर्नुभएको छ।

अवैधानिक किन ? सरकारले बनाएको प्रतिवेदन हेर्नुस्। यो विधि र प्रक्रिया मिचेर बनेको आयोग हो। यो जहाज २१ वर्ष पुरानो थियो। ३४ दिनदेखि ग्राउन्डेड थियो। यो फेरि उडान (मर्मतसम्भारका लागि लगिने जहाज थियो। फेरि उडानमा असम्बन्धित यात्रु बोक्न पाइँदैन भनेर उल्लेख छ। कानुनत: मर्मतको उडानमा पाँचजना भन्दा बढी यात्रु बोक्न पाइँदैन। एकजना पनि बढी यात्रु राख्नुपर्यो भने क्यानको अनुमति लिनुपर्छ तर यहाँ अनुमति लिएको छैन। यो जघन्य लापरवाही हो।

मर्मत गर्न लगिने जहाजमा १९ यात्रु बोक्ने हो ? हामीलाई मर्मत गर्न लैजाने भन्ने थाहा थिएन। दुर्घटना भएपछि मात्रै के–के गर्न हुन्छ ? कानुन विपरीत के–के रहेछ भन्ने अध्ययन गरेँ र बल्ल थाहा पाएँ। जहाज चढ्ने यात्रुसँग विज्ञता हुन्छ र ?

ऊर्जा मन्त्रालयमा काम गर्ने मेरी छोरीलाई एयरलाइन्सले आफ्नो कर्मचारी बनाएको छ। किन बनाएको हो ? यसको प्रमुख कारण आर्थिक हो। एयरलाइन्समा दुईवटा बिमा हुन्छ। एक यात्रु बिमा र अर्को जहाज बिमा। यसको सन्दर्भमा अन्तर्राष्ट्रिय कानुन छ। यसलाई वासा कन्भेन्सन भनिन्छ। नेपालमा पनि सन् १९९९ देखि मनिटरियल कनभेन्सन भन्ने लागू भएको हो।

यात्रुको बिमा पाउनु स्वभाविक हो। तर जहाजको बिमा पाउन त्यो उडान वैधानिक हुन परेन ? उडान वैधानिक हुनका लागि उक्त जहाजले कर्मचारीबाहेक अरु बोक्नै नपाइने हो। प्रशासनको पनि हवाई प्राविधिक कर्मचारी मात्रै बोक्न पाउछ। उसले ऊर्जा मन्त्रालयको कर्मचारीलाई चढाउने हो ?

उडान अवैधानिक बन्ने र बिमा नपाउने भएपछि एयरलाइन्सले मेरो छोरीलाई कर्मचारी बनाइदियो। कर्मचारी बिमावापत २५ करोड सुरक्षित गर्न मेरी छोरीलाई कर्मचारी बनाए।

मरिसकेपछि भ्रष्टाचारी बनाइदिने ? मेरी छोरीलाई मरेपछि कर्मचारी बनाउन कसरी पाइन्छ ? यो मेरो छोरीको इमानमाथिको प्रहार हो। मरिसकेपछि भ्रष्टाचारी बनाइदिने ? कंलकित गरिने ? उसको व्यापारिक स्वार्थको लागि उसको कर्मचारी बन्दिन पर्ने ?

दुर्घटना भयो, दुनियाँले सहानुभूति प्रकट गरे। आक्रोश व्यक्त हुन सुरु हुन्छ। नेपालमा किन यस्ता दुर्घटना हुन्छन् भन्छन्। सरकारले आयोग बनाउछ। एउटा प्रतिवदेन दिन्छ। पीडितकै अवस्था पनि केही दिन रुने, काजकिरयामा लाग्ने। १३ दिनपछि बिमा कति आउँछ ? क्षतिपूर्ति कति आउछ ? त्यसमा केन्द्रित हुने र सबै कुरा बिर्सने अवस्था छ।

आयोगमा क–कसलाई राखियो कसैलाई मतलब छैन। परिवार, नागरिक समाज र मिडियालाई पनि छैन। गैरसैनिक हवाई उडान जाँच नियमावली-२०७१ छ। यो कानुनले १५ वर्ष एयर ट्राफिक कन्ट्रोलरको रुपमा काम गरेको, १५ वर्ष जाँचसम्बन्धी अनुभव भएको र सेवाप्रदायकसँग प्रत्यक्ष सम्बन्ध नभएको मात्रै यसको सदस्य हुन पाउने भन्ने छ।

यसमा के भएको छ ? मुकेश डंगोल एयर ट्राफिक कन्ट्रोलर हुन्। तर उनको १५ वर्ष अवधि पुगेको छैन। उनी र पाइलट मनिषरत्न शाक्य बीचमा भिनाजु र सालोको नाता कायम छ। कानुनले निर्धारण गरेको कुरालाई मिचेर बनेको आयोग अवैधानिक छ।

ल एकछिनलाई आयोग बन्यो. आयोगको नाम के हो ? जहाज दुर्घटना अनुसन्धान आयोग। भनेको अनुसन्धानबाट जे पनि आउनसक्छ। प्रतिवेदनले पहिलो परिच्छेदमा यो अनुसन्धानले दोष र दायित्त्व बाँडफाँड गर्दैन भन्छ। दोषै पत्ता नलगाउने हो भने अनुसन्धान किन ? अर्को यस प्रतिवेदमा लेखेको आधारमा केही कतै नागरिक वा आपराधिक घटनाको तथ्य वा प्रमाणको रुपमा पेश गर्न पाइने छैन भनेर उल्लेख छ। ५० औं लाख राज्य कोषबाट खर्च गरेर यस्तो आयोग किन गठन गर्नु ? यो लेखाइको तरिकाले पनि यो आयोग वैधानिक छैन।

तेस्रो कुरा, दुर्घटनाको निष्कर्ष वजन र गतिको असन्तुलन भनिएको छ। नेपालको सन्दर्भमा प्रायः हवाई दुर्घटना खराब मौसम र प्रतिकुल भौगोलिक अवस्था हुन्छ। तर त्यो दिन मौसम खराब थिएन। भौगोलिक अवस्थालाई दोष दिने ठाउँ पनि थिएन। एयरपोर्टकै आँगनमा दुर्घटना भएको थियो। प्रतिवदेन लेख्नेले दोषी पत्ता लगाउने भन्दा पनि दोष कसलाई थोपार्ने भन्नेमा अनुसन्धान भएको छ।

यहि हो अनुसन्धानको उद्देश्य ? अनुसन्धान गर्ने यसरी हो ?योजना बनाएर अनुसन्धान गर्ने हो ? प्राय दुर्घटनामा सबैको मृत्यु हुन्छ। यसमा पाइलट जीवित छन्। पाइलट र एयरलाइन्सको बदमासी जोगाउने चलखेल स्पष्ट छ। एयरलाइन्सको आर्थिक चलखेलमा प्रतिवेदन तयार भएको छ।

कानुनमा आयोगले ३० दिनभित्र प्रतिवेदन बुझाउनुपर्छ भन्ने छ। तर यसलाई ४५ दिनको म्याद दिइएको थियो। प्रारम्भिक प्रतिवेदन ४३ दिनमा तयार थियो। आज पनि मन्त्रीलाई फाइनल प्रतिवेदनबारे जिज्ञासा राख्दै आएकै छैन। यस्तो लापरवाही गर्न पाइन्छ ? सोमबार आज चार महिना एक दिन भयो।

हरेक दृष्टिबाट वैधानिक बनाउन जालसाजी गरिएको छ। मेरो छोरी पनि कर्मचारी बनाएका छन्। इमान र निष्ठामा बाँचेको एक पीडित बुवालाई यो कुरा स्वीकार्य हुन्छ ? म जनतालाई सूसुचित गर्ने पत्रकार मेरो छोरीको नाम भजाँएर आर्थिक उपार्जन गर्नेप्रति मेरो घोर आपत्ति छ।

मेरा पाँच माग -१८ जना नरसंहार भएको घटनाका दोषीलाई कारवाही गर। -मेरी छोरीको किर्ते जालसाज गर्ने सौर्य एयरलाइन्सका कर्मचारी को-को हुन्. पत्ता लगाई कारवाही गर। -नियोजित प्रतिवेदन तयार पार्ने आयोगलाई कारवाही गर। -प्रतिवेदनको निष्पक्षता जाँच गर्न छुट्टै अर्को आयोग गठन गर। – म्याप मेमोरियल सोसाइटी नेपाललाई मृतकको उत्तराधिकारी बनाऊ।

पीडितलाई दिने क्षतिपूर्ति र किरिया खर्चको सम्बन्धमा ठूलो विडम्बना छ। हामी किरियामा हुँदा भनेका हामी बोर्डले निर्णय अनुसार खर्च दिने भएको छ। बिल अपडेड गर्न भन्यो। त्यो १३ दिन भित्र गर्ने सहयोग हो। आज चार महिना नाघ्दासम्म दिँदैन। यसमा कति मानवीयता छ ? यसलाई हेर्ने सरकारी निकायको लापरवाही कति छ स्पष्ट छैन ?

आफ्नो निर्णय कार्यान्वयन गर। मरेको लासले कमाएको सम्पत्तिले कसैको घर खर्च चलाउने, गाडी किन्ने, ऋण तिर्ने, विलासी हुने, घर बनाउने भन्दा यसमा लगानी गर। यी मृतकका उत्तराधिकारी कोही छैनन्। बिमा र क्षतिपूर्ति यिनकै नाममा स्थापित संस्थामा राखिदेऊ भनेको हो।

हामी माइतीले दिएको दाइजो पनि होइन। उनीहरुको घरको अंश पनि होइन। उनीहरुको लासले कमाएको हो। यो संस्थाको विश्वास छैन भने, सरकारले आफैं यिनीहरुको नाम लिएर चलाउन सक्छ। यसमा मलाई र मेरो परिवारलाई कुनै आपत्ति छैन। मेरा सन्ततीका नाममा आएको पैसा सामाजिक कार्यमा खर्च होस्।

मेरो विकल्प म मात्रै हुँ। मानवीयता पीडितलाई मात्रै थाहा हुन्छ। अरुले दुर्घटना बिर्सन्छन्। आजीवन मनमा गाँठो लिएर परिवारले हिँड्नुपर्छ। म एक पीडित बुवा हुँ। मलाई पराजित हुने छुट छैन। यो संघर्षबाट पछाडि हट्ने छुट मलाई छैन र हट्दिन।

व्यापारीसँग संघर्ष गर्न त्यति सजिलो छैन। असोज ६ गते क्यानमा निवेदन दिएँ। तर आजसम्म त्यो निवेदन कहाँ गयो ? कुन प्रक्रियामा छ ? मलाई केही जानकारी छैन। वार्सा कन्भिन्सन अन्तर्राष्ट्रिय कानुन अनुसार क्षतिपूर्ति वापतको रकम आम यात्रुलाई २० हजार डलर र चालक दलका सदस्यलाई ५० हजार डलर भुक्तानी गर्नुपर्छ। बिमा गरेको भए पनि र नगरेको भए पनि पाउने क्षतिपूर्ति हो। त्यो विषयमा नेपाल पक्ष भएर त्यसमा हस्ताक्षर गरिसकेपछि पाउनुपर्छ।

अब अहिले बिमाले दुर्घटना गराएको हो र बिमा कम्पनीसँग दाबी गर्नलाई ? यो जटिल प्रश्न छ। एयरलाइन्स कम्पनीलाई तत्काल त्यति पैसा तिर्न अप्ठ्यारो भएकाले सुरुमै दिर्घकालीन सोच राखेर पछि अप्ठ्यारो पर्यो भने के गर्ने ? भनेर गराएको बिमा हो। त्यो पैसा आएपछि दिन्छु भनेको हो।

त्यो पैसा आएन भनेपनि एयरलाइन्स कम्पनीले तिर्नुपर्छ। दुर्घटना एयरलाइन्सले गरेपछि क्षतिपूर्ति पनि यसैले दिनुपर्छ। बिमा आउँछ र दिन्छ भन्ने होइन। बिमा गरेको थिएन भने के हुन्छ ? क्षतिपूर्ति नपाउने ? कुकुर बिरालो मरे जत्तिकै हो मान्छे दुर्घटनामा मर्नु ?

बिमा गरेको भए, बिमा कम्पनीले दिन्छ। नगरेको भए एयरलाइन्सले दिनुपर्छ। यात्रुको अधिकारको कुरा हो। मृत्युपछि पाउने सुविधा हो। त्यसकारण गैरकानुनी तवरबाट आएको क्षतिपूर्ति लिन्न भन्न मैले नपाउनु ? नेपालमा सबै बेइमान भए भन्दैमा हुन्छ ? म इमानमा छु। मेरो निष्ठा र स्वाभिमानमा ठूलो ठेस पुगेको छ।

मेरी छोरीले त्यो दिन पनि ऊर्जा मन्त्रालयमा हाजिर गरेकी छन्। हाजिर गरेर चढ्न गएको निजामती कर्मचारीलाई एयरलाइन्सको कर्मचारी बनाइनु भ्रष्ट बनाइएको होइन ? १२ वर्ष सचिवको सचिवालयमा काम गरेकी हुन्।

म जहाँजहाँ पुगेको छु, त्यहाँ-त्यहाँ एयरलाइन्सको कर्मचारी पैसा बोकेर पुगेको छ। निवेदन दिन क्यान पुगें, उ त्यहाँ पैसा बोकेर पुगेको छ। इन्सुरेन्स निवेदन दिन पुगें, त्यहाँ पैसा बोकेर पुगेको छ। बिमा प्राधिकरणमा निवदेन दिएको छु, त्यहाँ पैसा बोकेर पुगेको छ।

म इमान बोकेर गएको छु, सौर्य एयरलाइन्स पैसा बोकेर पुगेको छ। कति सजिलो होला यो लडाइँ ? मसँग पैसा छैन, राज्य छैन, स्टेक होल्डर छैन। तर, म हार्नेवाला छैन ।