कणालीका लागि रन जोड्न दौडिदै शिखर धवन । तस्बिर: एनपिएल

क्रिकेट

चर्चित ब्याट्सम्यान नचल्दा कर्णालीलाई पहिलो गाँसमै ढुङ्गा

By खबरहब

December 03, 2024

काठमाडौं- नेपाल प्रिमियर लिगको सोमबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने भए । उक्त खेल कर्णालीको पहिलो हो । जनकपुरसँग भने उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई पराजित गरेको अनुभव थियो ।

ब्याटिङमा बलियो मानिएको कर्णालीले मैदानमा कमजोर देखियो । लिगकै महँगा ब्याटर शिखर धवन १४ रन जोडेर मैदानबाट बाहिरिए ।

ओमानको राष्ट्रिय टिमका ओपनरसमेत रहेका अर्का ब्याटर जिशान मकसूदले त रनको खाता पनि खोल्न सकेनन् । २ बल खर्चेर पवेलियन फर्किए ।

घरेलु खेलाडी गुलशन झा, अर्जुन घर्ती र सोमपाल कामीले खेललाई लयमा फर्काउने प्रयास गरे । फलतः कर्णालीले १४२ रनको लक्ष्य दियो ।

जनकपुरका ब्याटर सुरुमै आक्रमक देखिए । जित सहजै निस्कियो । १५ दशमलव १ ओभरै कर्णालीले दिएको लक्ष्य पूरा भयो ।

कर्णालीको कमजोर ब्याटिङ र बलिङ

कर्णाली टिमको ब्याटिङतर्फ उत्कृष्ट मानिएको छ । खेलाडीको लाइनअपले पनि त्यही देखाउँछ । टस जितेर जनकपुरलाई पहिला बलिङको निम्तो दिनुले पनि त्यही संकेत गर्छ ।

कर्णालीमा ब्याटरको लाइनअफ पनि बलियो देखिन्छ । भारतीय राष्ट्रिय टिमका पूर्वसदस्य तथा ओपनर शिखर धमन, ओमनको राष्ट्रिय टिमका ओपनर जिशान मकसूद, वेस्ट इन्डिजका टप अडर ब्याटर चाडविक वाल्टन र हङकङ ब्याटर बाबर हायत छन् ।

यता घरेलु खेलाडीतर्फ स्टार ब्याटर देव खनाल छन् । अर्थात् कर्णालीले आफ्नो ब्याटिङ पक्ष बलियो बनाउन चारै जना ब्याटरलाई अनुबन्ध गरेको छ ।

धवन स्वभाविक रुपमा आशा गरिएका खेलाडी हुन् । उनीसँग भारतका लागि २४ टेस्ट, १६७ ओडीआई र ६८ वटा टी–ट्वान्टी आई म्याच खेलेको अनुभव छ । तर, कर्णालीका लागि भने उनको पहिलो प्रस्तुति सम्झना लायक बनेन ।

धवन मात्रै होइन विदेशी ब्याटर कुनै पनि जनकरपुरका बलर सामु टिक्न सकेनन् । सबै सस्तैमा पेवेलिएन फर्किए ।

१३ दशमलव २ ओभरमा ६ विकेट गुमाउँदै कर्णाली ७९ रनको दयनीय अवस्थामा थियो । यद्यपि कर्णालीको ब्याटिङ पक्ष सबल छ भनेर प्रमाणित गर्न घरेलु खेलाडी नै काफी बने ।

चौथो विकेट गुमेपछि मैदानमा प्रवेश गरेका गुलशन झाले ३६ रन जोडे । अर्जुन घर्तीले ३३ र सोमपाल कामीले अविजित २९ रन जोडे । घरेलु खेलाडीले कर्णालीलाई दयनीय अवस्थाबाट उकासे ।

समग्रमा कर्णालीलाई पहिलो गाँसमा ढुङ्गा लागेको छ । मुख्यतः सुरुवाती क्रमका ब्याटरबाट सम्झनलायक प्रदर्शन नभएपछि कर्णालीले आफ्नो पहिलो खेलमै हार सहनु पर्‍यो ।

जनकपुर टिमका घरेलु ब्याटर आक्रमक

जनकपुरको जितका लागि घरेलु ब्याटर नै हाबी भए ।  क्याप्टेन अनिल शाह र मार्की प्लेयर आशिफ शेखले ८४ रनको साझेदारी गरे ।

अनिल एनपीएलमा अर्धशतक पूरा गर्ने पहिलो घरेलु ब्याटर बने । उनले अविजित ६२ रन प्रहार गरे । आशिफले टिमलाई जिताउन ३६ रन जोडे ।

लाहिरु मिलन्थाले २४ रन जोडे । जेम्स निशमको अविजित १६ रन टिमको जितका लागि पर्याप्त भयो । कर्णालीका बलर सामु जनकपुरका ब्याटर नै हाबी भए ।

जनकपुरमा विदेशी खेलाडीको बलिङ हाबी

कर्णालीका भेवीवेट ब्याटर शिखरका लागि क्यानडियन अलराउन्डर हर्श थाकरको बलिङ घातक बन्यो । थाकरले शेखरलाई बोल्ड गरे ।

अमेरिकी अलराउन्डर मोहम्मद मोहसिनले कर्णालीका विदेशी खेलाडी चाडविक वाल्टन र बाबर हायतलाई सस्तैमा पेविलियन फर्काए ।

चाडविकलाई ८ रनमै समेट्न मोहम्मदले एलबीडब्ल्यू आउट गरे । १२ रन जोडेका बाबर हायतलाई मोहम्मदले जेम्स नीशममार्फत् क्याच आउट गराए ।

त्यस्तै, ओमानका ओपनरसमेत रहेका जिशान मकसूदलाई जेम्स नीशमले एलबीडब्ल्यूमार्फत् आउट गराए । जिशानले रनका खाता खोल्न सकेनन् ।

कर्णालीका चार विदेशी ब्याटरलाई जनकपुरका चार विदेशी खेलाडी नै पेवेलियन फर्काए । देव खनालाई भने ललिज राजवंशीले बोल्ड गरे । गुल्शन झालाई किशोर महतोले बोल्ड गरे ।