काठमाडौं– दुई दिनअघि सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा सत्ता साझेदार नेपाली कांग्रेसलाई धक्का लागेको छ । उसले उपनिर्वाचनका क्रममा २०७९ को स्थानीय तह निर्वाचनमा जितेका ८ तह गुमाएको छ ।
उपनिर्वाचन भएका ४४ स्थानीय तहमध्ये ०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले २७ तहमा जित निकालेको थियो । जसमध्ये उसले १९ तहमा मात्रै चित्त बुझाउनु परेको छ ।
उपनिर्वाचन भएका ४४ तहमध्ये गत निर्वाचनमा कांग्रेसले २७, नेकपा एमालेले ७, नेकपा माओवादी केन्द्रले ८, जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्रले समान १ तहमा जितेका थिए ।
कांग्रेसले स्थानीय तह निर्वाचनमा जितेकामध्ये १५ तह यसपालिको उपनिर्वाचनमा गुमाएको छ । यसअघि जितेका तीन पालिकामा अध्यक्ष र दुई पालिकामा उपाध्यक्ष-उपप्रमुख पद नै कांग्रेसले गुमाएको छ ।
निर्वाचन आयोगका अनुसार कांग्रेसले मोरङको ग्रामथान गाउँपालिका, दैलेखको महाबु गाउँपालिकाकाे अध्यक्ष, बाजुराको स्वामिकार्तिक गाउँपालिकामा उपाध्यक्ष र दोलखाको गौरीशंकर गाउँपालिका तथा जाजरकोटको नलगाढ नगरपालिकामा उपप्रमुख पद गुमाएको छ ।
कांग्रेसले उपनिर्वाचनमा गुमाएका पालिका
१) ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३ (वडाध्यक्ष) २) मोरङको ग्रामथान गाउँपालिका (अध्यक्ष) ३) ओखलढुंगाको मोलुङ गाउँपालिका-५ (वडाध्यक्ष) ४) उदयपुरको त्रियुगा नगरपालिका-१२ (वडाध्यक्ष) ५) उदयपुरको बेलका नगरपालिका-९ (वडाध्यक्ष) ६) सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ (वडाध्यक्ष) ७) सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ (वडाध्यक्ष) ८) धनुषाको धनुषाधाम नगरपालिका-१ (वडाध्यक्ष) ९) नुवाकोटको ककनी गाउँपालिका-२ (वडाध्यक्ष) १०) काठमाडौंको काठमाडौं महानगर-१६ (वडाध्यक्ष) ११) दोलखाको गौरीशंकर गाउँपालिका (उपाध्यक्ष) १२) कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ (वडाध्यक्ष) १३) जाजरकोटको नलगाढ नगरपालिका (उपाध्यक्ष) १४) दैलेखको महाबु गाउँपालिका (अध्यक्ष) १५) बाजुराको स्वामिकार्तिक गाउँपालिका (उपाध्यक्ष)
तर, पनि कांग्रेसले उपनिर्वाचनको परिणामलाई सन्तोषजनक तथा उत्साहवर्द्धक संकेतका रूपमा लिएको छ । महामन्त्रीसमेत रहेका उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति निकालेर परिणामलाई सन्तोषजनक एवम् उत्साहवर्द्धक संकेतका रूपमा लिएको बताएका हुन् ।
उपनिर्वाचनमा व्यक्त भएको जनमतमार्फत् प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा गर्न बाँकी रहे पनि प्रारम्भिक विश्लेषणमा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई कांग्रेसले सन्तोषजनक एवम् उत्साहवर्द्धक संकेतका रूपमा लिएको उनले बताए ।
उपनिर्वाचनमा कांग्रेसले थपेका पालिका
१) सुनसरीको गढी गाउँपालिका-६ (वडाध्यक्ष) २) रौतहटको ईशनाथ नगरपालिका-७ (वडाध्यक्ष) ३) काठमाडौंको कीर्तिपुर नगरपालिका-४ (वडाध्यक्ष) ४) मकवानपुरको हेटौंडा उपमहानगर-१२ (वडाध्यक्ष) ५) जाजरकोटको कुसे गाउँपालिका-७ (वडाध्यक्ष) ६) बझाङको सूर्मा गाउँपालिका-४ (वडाध्यक्ष) ७) दार्चुलाको दुहु गाउँपालिका-५ (वडाध्यक्ष)
उपनिर्वाचन भएका ४४ मध्ये १९ वटामा मात्रै जिते पनि ०७९ को गठबन्धनको बलमा जितेभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक रुपमा थोरै भए पनि राजनीतिक, सांगठनिक र गुणात्मक रुपले बढी महत्वपूर्ण भएको कांग्रेसको बुझाई छ ।
‘०७९ मा विजय पाएका केही स्थान हामीले गुमाएका छौँ । त्यसबेला अन्य दलले जितेका केही स्थानमा विजयी भएका छौँ । लोकतन्त्रमा शतप्रतिशत जितको अपेक्षालाई राम्रो सोच मान्नि सकिन्न,’ कांग्रेसले भनेको छ, ‘तर, जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी रणनीतिका लागि महत्त्वपूर्ण रहने हाम्रो निष्कर्ष छ ।’
कांग्रेसले उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति मैदानमा देखिए पनि गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने कुरा आमरूपमा परास्त भएको कांग्रेसको ठहर छ ।
‘निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काममार्फत् विश्वास जगाउन र सामाजिक सञ्जालमार्फत्का भ्रमहरू चिर्न पार्टी पंक्तिको विशेष सतर्कता र क्रियाशीलता जरुरी देखिएको छ,’ महामन्त्री शर्माले भनेका छन् ।
उनले चुनावी दौड सकिएकाले अब सबै तिता-मिठा भुलेर काममा जुट्न पनि आग्रह गरेका छन् ।
०७९ मा कांग्रेसले जितेका पालिका
१) ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३ २) मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष ३) तेह्रथुमको गालीगुराँस वडाध्यक्ष ४) ओखलढुंगाको जिसस सभापति ५) ओखलढुंगाको मोलुङ गाउँपालिका-५ वडाध्यक्ष ६) उदयपुरको त्रियुगा नगरपालिका-१२ वडाध्यक्ष ७) उदयपुरको बेलका नगरपालिका-९ वडाध्यक्ष ८) सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ वडाध्यक्ष ९) सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ वडाध्यक्ष १०) धनुषाको धनुषाधाम नगरपालिका-१ वडाध्यक्ष ११) रौतहटको राजपुर नगरपालिका-६ वडाध्यक्ष १२) नुवाकोटको ककनी गाउँपालिका-२ वडाध्यक्ष १३) काठमाडौंको काठमाडौं महानगरपालिका-१६ वडाध्यक्ष १४) काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख १५) काठमाडौंको कीर्तिपुर नगरपालिका-१ वडाध्यक्ष १६) दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष १७) गुल्मीको मुसीकोट नगरपालिका-१ वडाध्यक्ष १८) कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ वडाध्यक्ष १९) रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ वडाध्यक्ष २०) रोल्पाको रुन्टीगढी गाउँपालिका-४ वडाध्यक्ष २१) बर्दियाको ठाकुरबाबा नगरपालिका-४ वडाध्यक्ष २२) जाजरकोटको नलगाढ नगरपालिका उपाध्यक्ष २३) दैलेखको महाबु गाउँपालिका अध्यक्ष २४) डोटीको पूर्वीचौकी गाउँपालिका-६ वडाध्यक्ष २५) कैलाली जिल्ला समन्वय समिति, सभापति २६) कञ्चनपुरको भीमदत्त नगरपालिका-६ वडाध्यक्ष २७) बाजुराको स्वामिकार्तिक गाउँपालिका- उपाध्यक्ष