आर्थिक

पसले र डमीले रुँगेका काठमाडौंका सुनसान दशैँबजार (तस्बिरहरू)

By खबरहब

October 04, 2024

काठमाडौं – नेपालीहरूको महान चाड बडादशैँ आउन करिब हप्ता दिनमात्रै बाँकी छ । सङ्घीय राजधानी काठमाडौंका चर्चित बजारहरूमा भीडभाड पनि केही बढेको देखिन्छ ।

तर, जब कुनै पसलभित्र पुगिन्छ – ग्राहक फाट्टफुट्टमात्रै भेटिइन्छन्‌ । सोहीकारण दशैँको मुखमा पनि न्यूरोड र असनलगायत ऐतिहासिक बजार क्षेत्रका व्यापारीहरू निराश मुद्रामा भन्छन्‌ – यत्रो ठूलो चाडबाडमै व्यापार भएन ।

काठमाडौंको मुख्य व्यापारिक शहर न्यूरोडमा अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत पनि व्यापार नभएको व्यापारीको भनाइ छ ।

‘केही दिनयता मानिसहरू बजारमा प्रशस्त देखिएका छन्‌, तर बजारमा के छ भनेर बुझ्नमात्र हिँडेका छन् । पोहोर एक लाख रुपैयाँको सामान किन्ने मानिसहरूले अहिले १० हजारको पनि खरिद गरेका छैनन् ।’

आर्थिक अवस्था सामान्य रहेको अवस्थामा दशैँतिहारका बेला पसलेहरूलाई सामान बेच्न, मिलाउन र रकम मिलाउनै हम्मेहम्मे पर्थ्यो । यो वर्षको दशैँ बजारमा चाहिँ व्यापारीहरू पसलमा मोबाइल चलाउँदै बसिरहेका भेटिइन्छन्‌ ।

न्यूरोडमा पसल सञ्‍चालन गरिरहेका मनिष खड्का भन्छन्‌, ‘यो पटक मानिसहरूलाई ३० देखि ५० प्रतिशतसम्म छुट दिएर सामान बेच्न खोज्दा पनि व्यापार भएको छैन, अचम्म लागेको छ ।’

अहिले धेरै पसलहरूले सेलमा सामान बेच्न राखे पनि नबिकेको र पोहोरको तुलनामा व्यापार निकै घटेको खड्काले बताए । उनका अनुसार यस्तो शून्य व्यापारको स्थिति त कोरोना महामारीका बेलामा मात्रै थियो ।

स्मार्ट स्वाइसका सञ्‍चालक कृष्ण घिमिरे व्यापारको मूख्य सिजनमै मोबाइलमा गेम खेलेर र रिल हेरेर दिन बिताइरहेको बताउँछन् । ‘दिनमा मुस्किलले १० जना ग्राहक पसलमा छिर्छन्‌, ती मध्ये दुईरतीन जनाले मात्रै निकै बार्गेनिङ गरेर बल्लतल्ल सामान किन्छन्‌, चाडबाडको मुखमै यस्तो हालत भएपछि कसरी टिक्नु ?’

गत साल दशैँका बेला आफूले दैनिक डेढ लाख रुपैयाँ बराबर कारोबार गरेको विवरण उनले सुनाए । ‘पोहोर यो समयमा मेरो दैनिक डेढ लाखभन्दा बढीको कारोबार हुन्थ्यो । अहिले दुई हप्तासम्म एक लाख रुपैयाँ पनि नाघेको छैन ।’

‘मानिसहरूको भीड यत्रो छ त !’ भन्ने हाम्रो प्रश्नमा उनले सडकमा भीड देखिएको, तर पसलमा ग्राहक नै नपस्ने स्थिति रहेको बताए ।

दशैँ मनाउन गाउँदेहात जाने तयारी गरिरहेका मानिसहरूलाई गत साता आएको बाढीपहिरोले प्रभावित पारेको छ । देशका प्रमुख राजमार्ग पूर्ण या आंशिक अवरुद्ध रहेकाले धेरैले काठमाडौं छाड्ने योजना स्थगित गरेका छन्‌ ।

‘बाढी पहिरोले मानिसहरू गाउँ जान नपाउने भएर पनि होला । कमैले मात्र जुत्ता वा कपडा किनेका छन् । धेरै मानिसहरू मलाई मात्रै त हो नि ! घर जानु छैन भन्दै आउँछन् । एउटामात्रै सामान किनेर गइरहेका छन्‌,’ कृष्णले सुनाए । घर जने टुङ्गो नभएकै कारण सामान खरिदमा मानिसहरूले ध्यान नदिएको हुनसक्ने कृष्णको अनुमान छ ।

महिलाले लगाउने विभिन्न डिजाइनका लुगा फिँजाएर बसेकी दीपा भण्डारीलाई यो वर्ष सुस्ताएको दशैँ किनमेलले अचम्ममा पारेको छ । अबको केही दिनमा किनमेल नबढे यो पटक व्यापारीहरूकै दशैँ खल्लो हुने उनले सुनाइन्‌ ।

‘यो पटक त नाफाको कुरो होइन, आफैँलाई पनि दशैँ खर्च पनि नहुने भयो,’ उनले भनिन्‌, ‘पोहोर यो समयमा मेरो पसलमा खुट्टा टेक्ने ठाउँ थिएन । पोहोर मैले काममा सहयोग लिन छोरीलाई समेत पसलमा राखेकी थिएँतर अहिले त म आफैं रमिता हेरेर बसेकी छु ।’

अन्य समयमा शुक्रबारका दिन बढी नै व्यापार हुने गरेको, तर दशैँकै बेला कुनै पनि बार व्यापार बढ्न नसकेको उनको भनाइ छ ।

नेपाल राष्ट्रिय व्यापार महासंघका संस्थापक अध्यक्ष नरेश कटुवाल अर्थतन्त्र चलायमान भएको हल्ला गरे पनि सोचेजस्तो नभएकाले बजारमा उत्साह नजागेको बताउँछन् । त्यसमा पनि अहिले कारणले व्यापार व्यवसायमा असर भइरहेको उनको भनाइ छ । अहिले युवाहरूको विदेश पलायनले गर्दा पनि चहलपहल कमै देखिएको कटुवालले बताए ।

‘यो पटक सोचेजस्तो व्यापार-व्यवसाय भएको छैन । दशैँकै मुखमा बाढीपहिरोले विपद् निम्त्यायो,’ कटुवालले भने, ‘बैंकहरूको ब्याजदर हेर्दा नै बजारमा व्यापारको हालत कस्तो छ भन्ने थाहा भैहाल्छ । दशैँका बेला त चर्को ब्याजमा भए पनि ऋण लिएर व्यापारीहरूले सामान किनबेचमा लगाउने गर्थे ।’

अहिले सुस्ताएको अर्थतन्त्र र पछिल्लो विपद्‌का कारण बजार ठप्प रहेको उनको भनाइ छ । ‘अहिले त व्यापार व्यवसाय त हामीले साचेको भन्दा ७५ प्रतिशत नै कम छ । सामान पनि ६० प्रतिशत आइपुगेन । ४० प्रतिशत सामान भित्रिएको थियो । अरू सबै बाटोमै अड्किए ।

मानिसहरूको भीड देखिए पनि मानिसहरू कहाँ सेल लागेको छ सस्तोमा के पाइन्छ भनेर हेर्न मात्र आएका छन् । अन्य होलसेल पसल त बन्द नै जस्ता छन्,’ उनले भने । अहिले व्यापारीहरू पनि ठूलो चिन्तामा रहेको उनको भनाइ छ ।