मनोरञ्जन

सिसिफसजस्ता निश्चल बस्नेत : जसलाई फिल्मले चढायो शिखर

By संगम ढकाल

October 04, 2024

काठमाडौं – निश्चल बस्नेत नेपाली सिनेमा उद्योगमा सफल निर्देशक, निर्माता र अभिनेता हुन् । कलिउड भनिने नेपाली सिनेमाको रङ्गीचङ्गी दृश्यमा उनी ब्राण्ड बनिसकेका छन् ।

दर्शकहरूलाई लाग्छ – निश्चल बस्नेतले ‘फरक स्वादको सिनेमा पस्कन्छ । ऊ ब्राण्ड बनिदिन्छ र फिल्मलाई सफल बनाइछाड्छ ।’

दर्शकमा यो विश्वास हुनुको कारण हो– उनको लेखन र निर्देशन रहेको फिल्म ‘लुट’ । लुटलाई सुस्ताएको नेपाली सिने क्षेत्र ब्युँझाउने फिल्म मानिन्छ ।

चलचित्र नगरीमा रमाउन खोजेकाको लक्ष्य निश्चल बस्नेत ‘जस्तै’ कसरी बन्ने भन्ने हुन्छ । अधिकतर उनीहरू निश्चलले प्राप्त गरेका सफलतामात्रै देख्छन् ।

तर, धेरैलाई थाहा नहुन सक्छ – तिनै निश्चल बस्नेत ग्रीक पूराकथाका एक पात्र सिसिफसजस्तै असफल थिए । सिसिफल गोला ढुङ्गालाई डाँडामा पुर्‍याउन खोज्थे, टुप्पैसम्म पुर्‍याउँदा पनि त्यो ढुङ्गा पहाडको फेदमै खस्थ्यो । निश्चलले असफलताको रेकर्डमा झण्डै सिसिफसलाई नै उछिनेका !

फिल्ममा आउनुअघि उनी पटकपटक असफलताको शिकार भइसकेका थिए । खेलाडी र गायक बन्ने उनको आकाङ्क्षा तुषारापात भएको थियो । स्नातकमा अनुत्तीर्ण थिए । व्यवसायमा लाखौं रुपैयाँ डुबेको थियो । पढ्न अस्ट्रेलिया गए, डिग्री लिन चार महिना बाँकी हुँदा क्याम्पस कालोसूचीमा परेर बन्द भयो ।

यत्तिका असफलता भोगेपछि मात्रै निश्चल फिल्ममा प्रवेश गरेका हुन् । फिल्ममा लाग्नुअघि उनलाई लाग्थ्यो, ‘मेरो जीवनमा सफलता भन्ने शब्द नै छैन, यहाँ पनि अब के हुने हो !’

उनै असफल निश्चल आज नेपालका स्टार निर्देशक, फिल्म लेखक, कलाकार र गायकका रूपमा परिचित छन् । प्रस्तुतीको संसार फिल्म क्षेत्रमा उनले सक्रियता निरन्तर बढाइरहेका छन् । यो सामग्री उनै बस्नेतमा केन्द्रित छ ।

बाल्यकाल

निश्चलको पुर्ख्यौली घर झापा हो । मामाघर भने जुम्ला हो । जिल्लाकै दूरीबाट पनि अनुमान गर्न सकिन्छ– निश्चलका आमा–बुवाको प्रेम विवाह हो ।

करिब साढे चार दशक अघिको समाजमा प्रेम विवाह सामान्य थिएन । निश्चलको आमा–बुवाको हकमा पनि त्यही लागु भयो ।

परिवारले प्रेम विवाह अस्वीकार गरेकै कारण बस्नेत दम्पतीले काठमाडौंमा शून्यबाट सङ्घर्ष गर्नुपर्‍यो । निश्चल काठमाडौंकै वीर अस्पतालमा जन्मिए ।

निश्चल भन्छन्, ‘हामी पुर्ख्यौली हिसाबले झापाको सम्पन्न परिवारका नै हौँ, तर काठमाडौंमा केही थिएन । बुवा–आमाले एउटा कोठाबाट सङ्घर्ष शुरू गर्नुभएको हो ।’

उनले शुरूवाती बाल्यकाल मैतीदेवीस्थित डेरामा भोगे । पछि बुवाले नक्सालको चण्डोलमा घर बनाए । आफू बुझ्ने हुँदासम्म पनि सो घरको झ्याल ढोकाको काम सम्पन्न नभएको उनी सुनाउँछन् ।

भन्छन्, ‘धेरै कुरा त याद छैन, सानै थिएँ, तर घरको झ्याल–ढोकाको काम पछि भएको हो । अहिले बुझ्ने भएपछि थाहा भयो । बुवा–आमासँग पैसा नभए पनि दुःखले घर बनाउनुभएको रहेछ ।’

निश्चलका एक दिदी र एक बहिनी छन् । तीन सन्तानलाई शिक्षाका लागि भने बुवा–आमाले कुनै सम्झौता नगरेको उनीलाई महसुस हुन्छ ।

भन्छन्, ‘हामी तीनै जना महँगो र राम्रो भनिएका स्कूलमा पढ्न पायौं । उहाँहरूले हाम्रा आवश्यकता पूरा गर्न कुनै कसर बाँकी राख्नुभएन । आफूलाई असहज पारेर पनि हामीलाई सहज बाल्यकाल दिनुभएको महसुस अहिले हुन्छ ।’

बुवाआमासँग पैसा नहुँदा बहिनीको जन्मदिनमा केकको सट्टामा पाउरोटी काटेको घटना अझै उनको स्मरणबाट हट्न सकेको छैन ।

निश्चलको बढ्दो उमेरसँगै परिवारको आर्थिक पक्ष पनि सबल भयो । भन्छन्, ‘मैले परिवारको त्यो अवस्था पनि देखेँ । अहिले मलाई महसुस हुन्छ – हामीलाई सहज गराउन खोज्दाखोज्दै पनि आमाबुवाले सक्नुभएको रहेनछ ।’

उनी प्रश्न गर्छन्, ‘हामी तीनै जनाको माग ठूलो हुन्थ्यो, कसरी पूरा गरिदिनुभयो होला ?’

झापाको बसाइ

उनले काठमाडौंकै विद्यालयमा ६ कक्षा पास गरेपछि पारिवारिक खटपट साम्य भयो । पुर्ख्यौली घर झापा गए । सातदेखि १० कक्षासम्मको पढाइ उनले झापाबाटै पूरा गरे ।

झापामा उनको झुकाव पढाइमा भन्दा खेलकुदमा भयो । त्यहाँको माहोल पनि खेलमय नै थियो ।

निश्चल आफू पढ्न मात्रै होइन, परीक्षामा लेख्न समेत अल्छी गर्ने विद्यार्थी भन्छन् । भन्छन्, ‘म पढेको नै पास गर्नका लागि मात्रै हो । परीक्षामा यति लेख्दा पास हुन्छु भन्ने भयो भने उठेर हिड्थेँ । खै के बानी हो मेरो !’

‘काठमाडौंमा पनि फूटबल खेल्थेँ । काठमाडौं तुलनामा झापा खुला ठाउँ ! त्यहाँ घर छेउमै ठूलो ग्राउन्ड थियो । स्कूल छुट्टी भएर घर आउने बित्तिकै ग्राउन्डमा पुग्थेँ,’ उनी स्मरण गर्छन्, ‘क्रिकेट र फूटबलको क्रेज एकदमै थियो । म बढी फूटबल खेल्थेँ ।’

निश्चलले नखेल्ने खेल थिएन । पहुँचमा भएका सबै खेलमा उनको रुचि थियो । तर उनको बढी आकर्षण चाहिँ फूटबलमा हो ।

कक्षा आठ अर्थात् किशोर अवस्थामा पुगेपछि भने उनलाई सङ्गीतप्रति मोह जागेको थियो । आफ्नो किशोरावस्थाको एकतर्फी प्रेमलाई उनी यसको कारण भन्छन् ।

‘कोही केटी साथी मन पर्न थाल्यो । अहिलेको जस्तो फ्याट्ट भन्ने अवस्था थिएन । भन्न नसकेका ती शब्द लेख्न थालेँ,’ उनी भन्छन्, ‘गितार बजाउन सिकेको थिएँ । आफैँले कोरेका ती शब्द कम्पोज गर्न थालेँ । तर लजालु स्वभावको भएकाले अरूलाई सुनाउँदिनथेँ ।’

पढाइमा उनको रुचि शून्यप्रायः नै थियो । तर, एकैपटक थुप्रै कुरामा हात हाल्थे । त्यो प्रवृत्ति हालसम्म कायम रहेको उनी सुनाउँछन् ।

शुरूवाती कोशोरावस्थामा उनले फूटबल र गीतलाई प्राथमिकतामा राखे । १० कक्षामा पुगेपछि फूटबल खेलमा केही सुधार आयो । एक्लै मैदानमा अभ्यास गरेर भए पनि उनले आफूमा खेल सीप केही विकास गरेका थिए ।

‘स्कूल बाहेकको समय मैले ग्राउन्डमै बिताउँथेँ । एक्लै भए पनि झापाको घाममा फूटबल अभ्यास गर्थेँ । खेल्नका लागि मलाई साथी चाहिँदैन थियो,’ निश्चल भन्छन्, ‘त्यसरी एकहोरो खेल्न लागेपछि स्किल बढ्यो । त्यसभन्दा अगाडि रहरले खेल्थेँ । त्यसपछि चाहिँ राम्रै खेल्नेमा गनिन थालेँ ।’

उनले यही बेलादेखि राष्ट्रिय खेलाडी बन्ने सपना देख्न थाले ।

एसएलसीपछिका प्रयास

वि.सं. २०५३ मा एसएलसी (तत्कालीन प्रवेशिका परीक्षा) दिएपछि काठमाडौं आउँदा निश्चलका दुई लक्ष्य थिए । पहिलो : राष्ट्रिय फूटबल खेलाडी बन्ने ! दोस्रो : गायक बन्ने !

खेलाडी बन्ने लक्ष्य पछ्याउँदै उनी सङ्कटा क्लबमा सहभागी भए । औपचारिक रूपमै जोडिएका त थिएननन् । नियमित अभ्यास गर्ने र अवसर पाएको खण्डमा क्लबबाट खेल्न जोडिएका थिए ।

खेलसँगै गायन यात्रालाई गति दिन पनि उनी प्रयासरत थिए । एउटा गीत रकेर्ड पनि गराए । उनको पहिलो गीतको शब्द यस्तो छ :

‘कसरी ? कसरी ? म भनौं कसरी ? मनका यी कुरा पोखौं कसरी ?’

यो गीतले साङ्गीतिक बजारको मुख देख्नै पाएन । त्यसबेला अहिलेजस्तो सूचना प्रविधि विकास भएको थिएन । कम्पनीमार्फत् एल्बमको चक्का बेच्ने प्रचलन थियो ।

एकमात्रै गीत भएकाले निश्चलले बजारमा पुर्‍याउन सकेनन् । यद्यपि गीतको चक्का थाहा पाएका सबै रेडियोमा छोडे । भन्छन्, ‘कुनै–कुनै रेडियोले नयाँ गीत भनेर बजाउँथे । कहिलेकाहीँ बजाएको सुन्थेँ ।’

यसैबीच प्रवेशिका परीक्षा (एसएलसी) पहिलो डिभिजनमा उत्तीर्ण गरे । एसएलसीमा त्यति धेरै नम्बर कसरी आयो, उनले अझै पत्तो पाएका छैनन् ।

त्यसबेला पहिलो डिभिजन ल्याउनेले साइन्स पढ्नुपर्छ भन्ने दबाब हुन्थ्यो । उनलाई पनि परिवारले प्रवीणता प्रमाणपत्र तह (प्लस–टू)मा साइन्स पढ्न सुझायो ।

भन्छन्, ‘नाइ ! सक्दिनँ ! मलाई पढ्न मन छैन भन्दा पनि घरबाट साइन्स नै पढ्नुपर्छ भन्नुभयो । अनि त्यही सङ्काय नलिइ सुखै पाइनँ ।’

तर उनले ११ को अन्तिम परीक्षा दिएनन् । बुवाले पढ्नकै लागि भारत पठाए । ‘फुपुको छोरा उतै पढ्ने भएकाले बुवालाई त्यहाँको पढाइ राम्रो छ भन्नुभएछ । अनि मलाई बुवाले जाने हो ? भनेर सोध्नुभयो,’ निश्चलले पढाइ अनुभव सुनाए, ‘बाहिर जाने भनेपछि हुन्छ भनेँ ।’

भारतमा पढाइ

११ को एक वर्षे पढाइ हापेर निश्चल भारत गए । त्यहाँ पनि उनले साइन्स नै पढे । तर अधिकांश समय खेलमै बित्यो ।

‘भारतको स्मरण के छ ?’ प्रश्न गर्दा निश्चल भन्छन्, ‘मस्तै खेलेँ । पढेको याद छैन ।’

भारतका कलेजमा खेलकुद क्रियाकलाप नियमित हुन्थ्यो । पहिलो वर्ष उनी कलेजको बी टिममा रहेर खेले । दोस्रो वर्ष ए टिमको क्याप्टेन नै बने ।

भन्छन्, ‘तीन विशेष अन्तरकलेज प्रतियोगिता हुन्थ्यो । मेरै क्याप्टेनसिपमा १४ वर्ष नजितेको कप जितेका थियौं ।’

प्लस टू खेलेरै बिताएकाले उनलाई सो समय अहिले सम्झँदा पनि आनन्द लाग्छ । राष्ट्रिय खेलाडी बन्न धीत मर्नेगरी कलेजको खेलकुदमा सहभागी भएको उनी बताउँछन् ।

भन्छन्, ‘फूटबल, बास्केटबल, क्रिकेट, टेबलटेनिस, ब्याटमिटन, ज्याभलिन थ्रो, सर्टपुट, म्याराथोन, रिले दौड…सबै खेलेँ । यति खेलेँ कि व्यक्त गर्ने शब्द नै छैन ।’

खेल्ने मात्रै होइन, धेरैजसो खेलमा मेडलको भागीदार आफू नै हुने गरेको उनी बताउँछन् । भन्छन्, ‘मेरो मेडल, ट्रफी र प्रमाणपत्र निकै धेरै थियो । मैले काठमाडौंमै लिएर आएको थिएँ । बुवाले त्यो देखेर भन्नुभएको थियो – दुई वर्ष तँ यही गर्न गएको होस् ?’

धेरै खेल्ने, कम पढ्ने गरे पनि निश्चलले प्लसटू भने पास गरे । पासको राज त्यहाँको शिक्षण पद्धति भएको उनी बताउँछन् ।

भन्छन्, ‘त्यहाँ अङ्ग्रेजी बाहेक तीन विषयमा पास हुँदा हुन्थ्यो । त्यो सुविधा नभएको म फेल हुन्थेँ । कुनै दिन पढेको याद चाहिँ छैन ।’

स्नातकमा असफल

भारतबाट फर्किएर निश्चल सूचना प्रविधि विषयमाा स्नातक गर्न एपेक्स कलेज भर्ना भए । त्यसबेला उनमा राष्ट्रिय खेलाडी बन्ने रहर हटिसकेको थियो । गायक बन्ने रहर चाहिँ जीवित नै थियो ।

उनले एल्बममै निकाल्ने भनेर पाँचवटा गीत पनि रकर्ड गराएका थिए । तर उही पुरानै कारण, कम्पनीले नकिनिदिँदा बजारमा पुर्‍याउन सकेका थिएनन् ।

एपेक्स क्याम्पसकै आन्तरिक कार्यक्रममा गीत गाउन स्टेजमा उक्लिए । उनी जीवनमा पहिलोपटक धेरै जनाका अघि उभिएको त्यो नै पहिलोपटक थियो ।

त्यहाँ उनले गायनमा रुचि भएका अन्य साथीहरू पनि भेटे । ‘परिवर्तन’ नाम दिएर ब्यान्ड नै बनाए ।

भन्छन्, ‘केही गीत रकेर्ड पनि गरायौं, तर सार्वजनिक भएनन् । काठमाडौंकै विभिन्न ठाउँमा कार्यक्रम हुन्थ्यो । चलेका कलाकारले भन्दा पहिले हामी स्थानीय कलाकारका रूपमा प्रस्तुती दिन्थ्यौँ । कभर गीत गाउँथ्यौं ।’

एपेक्स कलेजको चार वर्षको अन्तरालमा उनी थुप्रै स्थानमा गीत गाउन पुगे । सोही कारण उनलाई एपेक्स कलेजको चार वर्ष यादगार लाग्छ ।

‘मैले जीवनमा रमाइलो गरेर बिताएका क्षणहरू हुन् ती,’ उनी भन्छन्, ‘खेल्ने र गाउने आफ्नो रुचिकै विषयमा समय कटाइयो ।’

बढ्दो उमेर भएकाले ब्यान्डका साथीहरू कोही जागिर र कोही विदेश हान्निए । ब्यान्ड आयु कलेजसँगै सकियो ।

निश्चलले आइटीको डिग्री लिन सकेनन् । क्याम्पस त सधैँ गइरहेका थिए, तर हरेक कक्षाको विषय झुण्डिएको थियो । छेउमै आएर कसैले सिकाइदियो भने पनि म पास गर्न सक्दिनँ भन्ने महसुस भएको थियो । मैले हार मानेँ । डिग्री लिन सकिनँ ।’

गेम स्टेसन डुबाएर अस्ट्रेलिया

स्नातकको डिग्री हासिल गर्न नसके पनि घरबाट कुनै दबाब नआएको निश्चल बताउँछन् ।

सोहीकारण घरबाटै रकम मागेर नयाँ बानेश्वर दुई साथीसँगको साझेदारीमा उनले गेम स्टेसन खाले ।

भन्छन्, ‘०६१ सालमा महँगा ८–९ वटा कम्युटर राखेर, पूरा फ्ल्याट भाडामा लिएर गेम स्टेशन खोलेको थियौँ । ठूलो लगानी थियो ।’

धेरै कुरामा हात हाल्ने बानी छँदैथियो । थ्रिडी एनिमेसन पनि उनले सोही समय सिके ।

भन्छन्, ‘गेम स्टेशनमा भएकै ठाउँमा छुट्टै एमिनेसन गर्न मिल्ने महँगो कम्प्युटर पनि किनेर राखेको थिएँ ।’

दुई वर्ष चलाएपछि गेम स्टेशन घाटामा गयो । साहु तीनजना थिए । तीनै जना गेम खुब खेल्ने ! उनीहरू आफैँ गेममा मस्त हुन्थे । ग्राहकहरू चाहिँ पालो कुरेर बस्थे । अनि कसरी चल्थ्यो र !

अस्ट्रेलियाका ठक्कर

गेम स्टेसन बन्द भएपछि भने उनी विद्यार्थी भिसामा अस्ट्रेलिया उडे । यो निर्णय उनले चाहेको विकल्प थिएन ।

भन्छन्, ‘म जे गरे पनि यहीँ गर्छु भन्नेमै थिएँ । सबै साथी सेटल भइसकेका थिए । आफैँलाई केही गर्नुपर्छ भन्ने दबाब भइसकेको थियो । अनि उडेको हो ।’

अस्ट्रेलिया जानुअघि निश्चलले प्रयास गरेका सबै काम असफल छँदैथिए । गायक, खेलाडी, स्नातकको डिग्री, व्यवसाय, एनिमेसन…यी सबै काम बीचमै छाडे । परिवारको ठूलै रकम चुना लगाए । अन्तिम विकल्पकै रूपमा विदेश रोजेका थिए ।

अस्ट्रेलियामा तीन वर्ष पढ्ने र एक वर्ष काम गरेर नेपाल फर्कने योजना उनको थियो । तर, पढाइ सकिनुभन्दा चार महिना अगाडि कालोसूचीमा परेर कलेज बन्द भयो ।

यो समयलाई निश्चल आफ्नो जीवनको एकदमै कठिन मान्छन् । भन्छन्, ‘धेरै प्रयासमा मेरो इच्छाशक्ति र अभ्यास पर्याप्त थिएन होला । कलेज नै बन्द भएपछि चाहिँ मेरो जीवनमा सफलता लेखेको रहेनछ भन्ने भयो । त्यो बेला मेरो भाग्यमा सफलता रहेनछ भनेर मनमा कुरा खेलाउन बाध्य भएको थिएँ ।’

अस्ट्रेलिया बसाइको अन्त्यतिर उनी बिरामी पनि परे । एन्जाइटी नै भयो । बुवालाई फोन गरेर नेपाल फर्कन चाहेको सुनाए । तर बुवाको भनाइ थियो रे, ‘डिग्री लिएर फर्कनू !’

‘डिग्री चाहिए छोरा माया मार्नू’ भनी जवाफ फर्काएपछि बुवाले भोलिपल्टै टिकट पठाइदिएको उनी बताउँछन् ।

भन्छन्, ‘अस्ट्रेलिया गएको चार महिनापछि म काममा लागेँ । तर, फर्कने बेला पैसा नै थिएन । बुवाले काटिदिएकै टिकटमा फर्किएको हुँ ।’

नेपाल फर्कंदा निश्चलमा चरम निराशा थियो । तर, त्यहाँको बसाइमा उनले निकै धेरै नेपाली फिल्म हेरेका थिए । उनले यति धेरै हेरे कि नेपाली फिल्मप्रति वितृष्णा नै पैदा भयो ।

एकै शैलीका फिल्म बनेका कारण उनलाई लागेको थियो, ‘यो भन्दा राम्रो त म नै बनाउन सक्छु ।’

नेपाल फर्कने पक्का भएपछि उनले फिल्म निर्माणबारे अनलाइन पढ्न शुरू गरे । त्यसैले उनीसँग निराशा चिर्ने एउटै विकल्प थियो – फिल्म निर्माण ।

नेपाल फर्केर फिल्म कलेज

निश्चलले नेपालमै आएर आफ्नो उपचार गराए । सँगै फिल्म निर्माणबारे स्वाध्ययन पनि गरिरहेका थिए ।

उनलाई नेपालमा फिल्मसम्बन्धी पढाइ हुने कलेजबारे थाहा थिएन । बहिनीले फिल्म कलेजबारे जानकारी दिएपछि उनी भर्ना भए ।

भन्छन्, ‘बहिनीलाई थाहा रहेछ । कलेज छ भनिन् । आएको ६ महिनामै भर्ना भएँ ।’

निश्चल सन् २०१० मा फिल्म कलेज भर्ना भएका थिए ।

अनि बन्यो लुट

लुट बन्नुअघि निश्चलले दुई फिल्ममा ‘क्ल्याप ब्वाय’ भएर काम गरे । ती फिल्म हुन्– गुड बाई काठमान्डूजय होस्

सो समय फिल्म निर्माण सिक्न जुनै जिम्मेवारीमा भए पनि सुटिङ टिमसँग जोडिने उनको इच्छा हुन्थ्यो ।

भन्छन्, ‘म त्यसबेला फिल्ममा काम सिक्न पैसा तिर्छु, बरु टिममा राख्नु भन्दै हिँडेको थिएँ ।’

गुड बाई काठमाडौं’मा आफ्नै एकोहोरो जिद्दीले काम पाए । ‘निर्मातालाई काम दिनू भनेको, सबै जना फाइनल भयो भन्नुभयो । बरु चिया बनाउने काम दिएर पनि फिल्ममा राख्नू, म तपाईंलाई निराश गर्दिनँ भनेको थिएँ,’ उनी सुनाउँछन्, ‘मलाई त्यो समय जसरी हुन्छ काम सिक्नु थियो । जिम्मेवारीको पर्वाह थिएन ।’

फिल्म बाहेक कलेजकै साथीहरूले बनाएको केही सर्ट फिल्ममा उनले सहायक निर्देशकको जिम्मेवारीमा काम गरेका थिए । फिल्म कलेज पढ्दै गर्दा उनलाई पनि सर्ट फिल्म बनाउने सोच आयो । कलेजकै साथी मीनबहादुर भामलाई उनले कथा सुनाए ।

मीनले सर्ट फिल्म नभएर फिचर फिल्म नै बनाउने सुझाव दिए । अनि निश्चल सो स्क्रिप्टलाई तन्काएर फिल्म ‘लुट’ बनाउन अग्रसर भए ।

भन्छन्, ‘मीनले भनेपछि मात्रै फिचर फिल्म बनाउने सोच आयो । उसले कथा भौलिक छ भनेपछि किन बनाउने त भनेर लागिपरेँ ।’

लुट बनाउने क्रममा उनी दुई कुरामा स्पष्ट थिए । पहिलो : नेपालमा बनिरहेका भन्दा फरक धारको फिल्म बनाउने ! दोस्रो : आफूले दैनिक जीवनमा देखेका व्यक्ति र संवाद पर्दामा उतार्ने !

कलेजको पढाइ नसक्दै उनको पहिलो फिल्म ‘लुट’ प्रदर्शनमा आयो । जसका लेखक र निर्देशक निश्चल नै हुन् । फिल्ममा आधा लगानी उनैको थियो ।

निश्चलका अनुसार यो फिल्म ५५ लाख रुपैयाँमा बनेको थियो । सन् २०१२ मा प्रदर्शन भएको ‘लुट’ले ५ करोड रुपैयाँ ग्रस कलेक्सन गर्‍यो । फिल्म सुपरहिट बन्यो ।

कमाए नाम र दाम

‘लुट’लाई नेपाली फिल्म इतिहासले कोशेढुङ्गाको रूपमा चिन्छ । लगभग सुस्ताएको फिल्मी बजारलाई यही फिल्म उठाएको हो भन्दा फरक पर्दैन ।

प्रदर्शनपछि यो फिल्म मिडियामा हेडलाइन बन्न थाल्यो । पत्रिकामा फिल्मबारे अनगिन्ती समाचार आएको देखेर निश्चललाई बुवाले भन्थे रे, ‘पैसा दिएर लेख्न लगाउँछस् कि के हो मिडियालाई ?’

यही फिल्मले निश्चलको नाम ब्रान्ड बन्यो । फरक शैलीको फिल्म बनाउने मेकरको रूपमा उनी परिचित भए । अझ भनौं – उनी सेलिब्रिटी निर्देशक बने । नेपालमा मात्रै होइन, यो फिल्म नेपालीहरूले विदेशका हलहरूमा हेर्न पाए ।

निश्चल भन्छन्, ‘लुटअघि कम्युनिटी हलमा नेपाली फिल्म देखाइने चलन थियो । मैले हलमा नदेखाए विदेशको प्रदर्शन अधिकार दिन्नँ भनेर अडान लिएँ ।’

सोहीकारण ओभरसिज राइटबाट थोरै कमाए पनि बजार विकास भएको उनको दाबी छ । भन्छन्, ‘मैले धेरै देशबाट थोरै पैसा कमाएँ । हलबाहेक अन्त प्रदर्शन हुन दिन्नँ नै भनेँ । त्यसपछि विदेशका हलमा पनि नेपाली फिल्म लाग्न थाल्यो । अहिले बाहिरको बजार राम्रो छ । शुरूवात हाम्रै फिल्मबाट भएको हो नि !’

लुटपछि फिल्मको ओइरो

निश्चलले अहिलेसम्म चार फिल्म ‘लुट’, ‘लुट २’, ‘टलकजंग भर्सेस टुल्के’ र ‘दिमाग खराब’ निर्देशन गरेका छन् । लुट श्रृङ्खला लेखक उनी स्वयम् हुन् । चारै फिल्मका निर्माता पनि हुन् ।

निश्चल थप्छन्, ‘मेरो सबै फिल्ममा लगानी छ । निर्देशन गरेको फिल्ममा हतपत म नाम राख्दिनँ, तर लगानी हुन्छ ।’

निश्चल सुपरहिट फिल्म ‘कबड्डी’का निर्माता र कलाकार पनि हुन् । अहिले निश्चलको व्यस्तता निर्देशनसँगै अभिनयमा पनि छ । अभिनयमा उनी स्टार कलाकारभन्दा कम व्यस्त छैनन् ।

भन्छन्, ‘म तालिम लिएको कलाकार होइन, तर निर्देशकहरू मलाई अभिनय गराउनुहुन्छ । किन हो, थाहा छैन ।’

अहिले निश्चलले अभिनय गरेको फिल्मको संख्या दर्जन नाघेको छ । अब भने थोरै भए पनि हरेक फिल्ममा अभिनय सुधार्दै जाने योजनामा उनी छन् ।

‘प्रसाद–२ बाट म अभिनयमा गम्भीर भएको हुँ । थोरै भए पनि सुधार गर्दै जानुपर्छ भन्ने लागेको छ । तर म निर्देशक भएको भए आफ्नो अभिनयसँग सन्तुष्ट हुने थिइनँ,’ उनी भन्छन् ।

उनका लागि फिल्म ‘लुट–२’ र ‘दुई रुपैयाँ’ विशेष छन् । लुटमा लेखकको रूपमा आफ्नो कमजोरी रहेको उनी स्वीकार गर्छन् । तर, यही फिल्मबाट उनले धेरै पैसा कमाएका हुन् ।

‘दुई रुपैयाँ’मा उनी नायकको भूमिकामा छन् । यस फिल्मको गीत ‘कुटुमा कटु’ले २१ करोड भ्यूज पाएको छ । सोहीकारण पनि उनका लागि सो फिल्म विशेष छ ।

अहिले विभिन्न फिल्मका गीतहरूमा उनले स्वर दिइरहेका पनि हुन्छन् । गीतको संख्या पनि बढ्दो छ । निश्चल भन्छन्, ‘अहिले पुराना सपना पूरा गर्न पाइरहेको छु ।’

अहिले निश्चल

निश्चल कलाकार र निर्माता रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ अहिले प्रदर्शनरत छ ।

उनले केही साताअघि मात्रै फिल्म ‘घर नम्बर २’ को छायाङ्कन पूरा गरे । यसमा उनी कलाकारको भूमिकामा छन् ।

त्यस्तै, उनी पाँचौ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने योजनामा छन् । आगामी माघ–फागुनमा सो फिल्मको छायाङ्कनमा निस्कने उनको लक्ष्य छ ।