राजनीति

निर्वाचन अगावै टीआरसी विधेयक टुंग्याए एमालेले राष्ट्रियसभामा ६ सिट पाउने

By खबरहब

January 04, 2024

काठमाडौं – राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफल गर्न बसेको गठबन्धनको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँड गर्ने विषयमा पनि छलफल भएको थियो ।

एमालेलाई राष्ट्रियसभा निर्वाचनमा सँगै लैजाने विषयमा बैठकमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचन अगाडि नै टीआरसी विधेयक टुङ्गोमा पुर्‍याउने गरी सैद्धान्तिक सहमति भए मात्र एमालेसँग सहकार्य हुनसक्ने आफूहरूको अडान राखेको उनले जानकारी दिए ।

एमालेले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन दलसँग ६ सिट मागेको छ ।

एमालेलाई सिट बाँडफाँड गर्ने विषयमा माधव नेपाल भने सकारात्मक नदेखिएको बुझिएको छ । नेपाल एमालेलाई सिट दिने विषयमा छलफल गर्न नसकिने भन्दै बैठक छाडेर हिँडेका थिए ।

गठबन्धन दलको बैठक फेरी बसेर यो विषय टुङ्गोमा पुर्‍याउने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

आजै बेलुका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने तयारी छ ।