तस्विर एपी

अन्तर्राष्ट्रिय

चक्कू प्रहारबाट घाइते दक्षिण कोरियाली नेता लीको स्वास्थ्यमा सुधार 

By खबरहब

January 04, 2024

सियोल– घाँटीमा धारिलो हतियार प्रहार हुँदा घाइते बनेका दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे–म्युङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको  सियोल नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले बताएका छन् ।

लीलाई दक्षिणी बन्दरगाह शहर बुसानमा मङ्गलबार पत्रकारहरूसँगको कुराकानीपछि गाडीतर्फ जाने क्रममा समर्थकको रूपमा आएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । उनको घाँटीको बायाँ भागमा चक्कुको चोट लागेको थियो । 

टाउकोबाट शरीरमा रगत जाने नसामा चोट लागेका लीलाई तत्काल स्थानीय अस्पतालमा लगिएको थियो । उपचार त्यहाँ सम्भव नभएपछि नेता लीलाई पछि राजधानी सियोल लगी करिब दुई घण्टा लामो शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया गर्ने चिकित्सक मिन सेउङ–कीका अनुसार लीको ‘भाग्यवश स्वास्थ्यमा सुधार आएको छ ।’  लीको मांसपेशीमा १.४ सेन्टिमिटर छेडिएको घाउ देखिएको र घाँटीमा रगत जमेको भएपनि शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार देखिएको हो । 

चक्कूले ‘भित्री नशा (जुगुलर भेन) करिब ६० प्रतिशत भाग काटेको’ सर्जन चिकित्सकले बताएका छन् ।