ब्रेकिङ स्टोरी

सिटामोलको जथाभावी प्रयोग : मात्रा नमिल्दा ज्यानै जाने जोखिम

By पवन मुडभरी

January 04, 2024

पछिल्लो समय सानोतिनो समस्या हुँदा कतिपयले आफूखुसी औषधि सेवन गरिरहेका हुन्छन् । यसमा पनि धेरैले पारासिटामोलको प्रयोग जथाभावी रुपमा गरेको पाइन्छ । अझ एउटा चक्कीले निको नभएपछि डब्ल्याउने मात्र होइन, घण्टा-घण्टामा उपभोग गर्ने गरेको देखिन्छ । अझ औषधि बिक्रेताले समेत यसलाई चकलेट बेचेजस्तो बेच्ने प्रचलनले पनि यसको उपयोगिता सहज बनेको देखिन्छ ।  

बजारमा सजिलै उपलब्ध र यसको खासै कुनै तुरुन्त साइड इफेक्ट नहुने भन्ने ठानेर पनि मानिसहरु सिटामोललाई रोग निको पार्ने सजिलो उपायका रुपमा प्रयोग गर्छन् ।

फार्मेसीहरुले पनि चेकजाँच नगरी सजिलै सिटामोल दिएर पठाउने गर्दछन् । तर कम समयका लागि प्रयोग गरिने औषधिको निरन्तर सेवनले गम्भीर समस्या निम्त्याउँछ । यसको अत्यधिक प्रयोगले मिर्गौला, कलेजो लगायत शरीरका विभिन्न अंगमा गम्भीर असर पुग्ने चिकित्सकहरू बताउँछन् । 

मात्रा नमिल्दाको ननिको

सिटामोल खाँदा उमेर अनुसार मात्रा मिलाउनुपर्ने हुन्छ । थोरै मात्रामा खायो भने यसको असर नै केही हुँदैन । बढी खायो भने कलेजोलाई असर गर्ने कहिलेकाहीँ त ज्यानै जाने खतरा समेत हुनसक्ने जिल्ला अस्पताल डोल्पाका मेडिकल अधिकृत डाक्टर अखण्ड उपाध्याय बताउँछन् ।

उनका अनुसार दैनिक तीन ग्राम बढी प्यारासिटामोलको प्रयोग स्वास्थ्यका लागि घातक हुन सक्छ । त्यसैले, चिकित्सकहरूसँग सल्लाह लिएर आफ्नो तौल अनुसार मात्रै प्यारासिटामोल प्रयोग गर्नुपर्ने उनी बताउँछन् । 

चिकित्सकको सल्लाह विना गर्भवती महिलाले प्यारासिटामोलको सेवन गरेमा यसले गर्भमा रहेको शिशुको शारीरिक विकासमा अवरोध हुने गर्दछ । दुखाई कम गर्न प्रयोग गरिने प्यारासिटामोलको प्रयोग लामो समयसम्म गरेमा यसले मिर्गौलालाई क्षति पुर्‍याउन सक्छ ।

लामो समयसम्म सिटामोलको प्रयोगले पेटमा वायुको समस्या निम्तिन सक्छ । त्यस्तै, अपच वा पेट भारी भएको महसुस हुन सक्छ । त्यस्तै, केही व्यक्तिमा सिटामोलको अत्याधिक सेवनले छाला रातो हुने, छाला चिलाउने, पोल्ने लगायत समस्या हुनसक्ने चिकित्सकहरूको भनाई छ । 

उमेरअनुसार मात्रा मापदण्ड अनुसार ३२५ देखि ६५० मिलीग्रामसम्मको सिटामोलको डोज ४ देखि ६ घण्टाको अवधिमा दिन सकिन्छ । निर्देशिका अनुसार ५०० मिलीग्राम प्यारासिटामोल ज्वरो आएको ६ घण्टापछि मात्र खानुपर्छ ।

साना बालबालिकालाई प्यारासिटामोल खुवाउँदा निकै सावधानी अपनाउनुपर्छ । यदि बच्चालाई ज्वरो आएको छ र एक महिना कम उमेरको छ भने प्रतिकेजी वजनको १० देखि १५ मिलिग्राम पारासिटामोल ४ देखि ६  घण्टाको अन्तरालमा दिइन्छ । १२ वर्षसम्मका बच्चालाई ६ देखि ८ घण्टाको अन्तरालमा सोही मात्रा दिनुपर्छ ।

५०० एमजीको सिटामोल ४–५ घण्टाको अन्तरमा सामान्य दुखाइ र ज्वरो आउने बिरामीले खान सक्छन्, तर औषधि खाँदा केही खाएर मात्र खाएको राम्रो हुन्छ । खालीपेटमा खाँदा ग्यास्ट्रिक हुन सक्ने सम्भावना बढी हुने डाक्टर उपाध्याय बताउँछन् ।

कस्तो अवस्थामा खाने ? यो औषधि घरमै राखेर खान मिल्ने औषधि प्यारासिटामोल नै हो । तर एकोहोरो वा जथाभावी सिटामोल खान नहुने चिकित्सकहरू बताउँछन् । 

यदि दैनिक रुपमा सिटामोल खान परेमा चिकित्सकको सल्लाह लिनैपर्ने डा. उपाध्यायले बताए । यदि लगातार सिटामोल खाएमा त्यसले कलेजोमा हानी गर्ने बताइन्छ ।

सामान्यतः मान्छेले ज्वरो आएमा सिटामोल खाने गर्छन् । कहिलेकाहीं हल्का ज्वरो आउँदा सिटामोल खान हुन्छ । तर लगातार तीन दिनसम्म ज्वरो आएमा वा जीउ दुखिरहेमा नियमित स्वास्थ्य परीक्षण नै गराउनुपर्ने हुन्छ । यस्तो अवस्थामा नियमित सिटामोल नखान उनको सल्लाह छ ।

कुनै पनि औषधि आफूखुसी खान बर्जित सिटामोल मात्रै नभएर यस्ता थुप्रै औषधिहरू छन् , जो औषधि पसलमा गएपछि सजिलै किन्न पाइन्छ । अर्थात् यस्तो औषधिका लागि चिकित्सकको सल्लाह लिइँदैन । 

जस्तो, झाडापखाला लागेको बेला मान्छेले मेट्रोन किनेर खान्छन्, रुघाखोकी लागेमा कफ सिरफ किनेर खाइदिन्छन् । तर यसरी खाँदा कति मात्रामा कसरी खाने भन्ने जानकारी हुँदैन । अझ ग्रामीण भेगहरूमा त दिनहुँ यस्ता केशहरु आउने गरेका डाक्टर उपाध्याय बताउँछन् । यस्ता घटना बच्चाहरुमा बढी हुने गरेको उनले बताए ।

बच्चा बिरामी हुँदा सामान्य मेडिकलबाट औषधी ल्याएर खुवाउने र पछि त्यही औषधीले रियाक्सन गर्ने समस्या बढ्दो रहेको चिकित्सकको भनाइ छ । यो अवस्थामा स्वास्थ्यमा झन धेरै समस्या आउने र त्यसपछि मात्र स्वास्थ्यचौकी या अस्पताल ल्याउने गरिएको उपाध्याय बताउँछन् ।