समाचार

चिया अनुसन्धान केन्द्र निर्माणले किसानमा उत्साह

By खबरहब

January 04, 2024

इलाम– इलामको सूर्योदय नगरपालिका-७ कन्याममा २३ करोडको लगानीमा अर्थोडक्स चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र निर्माण भएको छ । चिया रोप्न सुरु भएको करिब एक सय ६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ  ।

चिया किसान मनोज भट्टराईले केन्द्र स्थापनापछि चियामा लाग्ने स-साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए  ।

चिया प्राविधिकसमेत गाउँमा नै उत्पादन गर्न केन्द्रले मद्दत गरेमा किसानलाई थप राहत मिल्ने उनको भनाइ छ । नगरपालिकाको एउटा ‘गौरवको आयोजना’ मानिएको यो केन्द्रको भौतिक निर्माण सम्पन्न भएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिए ।

चियामा लागि उत्पादनका हिसाबले इलाम महत्वपूर्ण र उर्वर भूमि मानिन्छ । इलामको सूर्योदय नगरपालिकालाई त चियाको राजधानी नै भन्ने गरिएको छ । इलाममा अनुसन्धान केन्द्र स्थापना भयो अब नेपाली चियाको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ  । 

नगरपालिका कोशी प्रदेशकै पर्यटकीय नगरी हो । केन्द्र निर्माणले समग्र जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवाला बताउँछन् । नगरपालिकामा अन्य पनि ठूला लगानीका आयोजनामध्ये कुनै निर्माणको अन्तिम चरणमा छन् भने कुनै धमाधम निर्माण भइरहेका छन् । 

नगरप्रमुख राईका अनुसार अन्तर्राष्ट्रिय दातामार्फत केही ठूलो लगानीका आयोजना आउने चरणमा छन् । फिक्कलमा रु १३ करोड लगानीमा अस्पतालको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको बताउँदै राईले रु ४४ करोड लगानीको भालुखोपबाट वडा नं १३ र १४ जोड्ने सडक निर्माण भइरहेको जानकारी दिए। 

 नौ करोड लगानीको सिसासहितको ‘सस्पेन्सन ब्रिज’ निर्माण भइरहेको छ । रु १२ करोड लगानीमा स्वीस सरकारसँगको साझेदारीमा सिँचाइ आयोजनाको काम हुँदै गरेको र यसमा नगरसहित प्रदेश र सङ्घीय सरकारको साझेदारी रहेको उनको भनाइ छ ।