देश/प्रदेश

शहरे खानेपानी आयोजना लथालिङ्ग : स्थानीयलाई खानेपानीको चरम अभाव, हाइड्रोले दिएन पानी 

By खबरहब

February 04, 2024

दोलखा– दोलखाको तामाकोशी गाउँपालिका-५ शहरेका स्थानीयलाई खानेपानीको चरम अभाव रहेको पाइएको छ । बृहत् शहरे खानेपानी उपभोक्ता समितिको लापरवाहीका कारण स्थानीयले खानेपानीको चरम समस्या झेल्नुपरेको हो ।

हिमाल हाइड्रोपावरको सुरुङकाे पानीको लाइन बन्द भएपछि एक सय ७५ घरधुरीले खानेपानी अभाव खेप्नुपरेको स्थानीय भुवन केसीले बताए ।

२०७२ सालको भूकम्पपछि सुरुङ निर्माणको कारण पानीका मुहान सुकेको भन्दै खानेपानी उपलब्ध गराउन स्थानीयले आन्दोलन नै गरेपछि हाइड्रोले पानी दिँदै आएको थियो ।

तर, उक्त आयोजनाले एक्कासी  स्थानीयलाई पानीको वैकल्पिक स्रोत खोजेर प्रयोग गर्न भन्दै ५० लाख रकम दिएर पुरानो सुरुङको पानी गत माघ १५ गतेदेखि बन्द गरेको स्थानीय चन्द्रबहादुर बस्नेतले सुनाए ।

उनले हाइड्रोपावरले आफूहरू स्थानीयलाई विना जानकारी खानेपानी उपभोक्ता समितिका केही पदाधिकारीको मिलेमतोमा बैठक राखेर आफूलगायत समितिका सदस्यहरूको किर्ते हस्ताक्षर गरेको आरोप लगाए ।

उनले धमिलो, दूषित पानी वैकल्पिक स्रोतको रूपमा प्रयोग गर्न बाध्य बनाएर स्थानीयको स्वास्थ्यमाथि नै खेलबाड गर्न खोजेको आरोप लगाए ।१० वर्षदेखि पिउँदै आएको पानी एक्कासी काटेको र गाउँमा खानेपानीको वैकल्पिक मुहान तथा स्रोत नभएको उनको भनाइ छ ।

-सुवास बस्नेत