राजनीति

घरदैलोमा पुगेका नेतालाई कांग्रेस कार्यकर्ताको चेतावनी– गुट, लुट र गठबन्धन छोड

By ज्ञानु घिमिरे

February 04, 2024

काठमाडौं- नेपाली कांग्रेसले यतिबेला समुदायमा कांग्रेस अभियान सञ्चालन गरिरहेको छ । कर्णालीका पाँच हिमाली जिल्ला, मनाङ, मुस्ताङ, खोटाङ र सोलुखुम्बु गरी ९ जिल्लाबाहेक ६८ जिल्लामा कांग्रेस केन्द्रका नेताहरू अभियान लिएर वडा तहमा पुगेका छन् ।

दोलखामा जाडो बढेकाले ३ दिनपछि यो अभियान चल्न सकेन तर, दोलखाको भीमेश्वर नगरपालिकामा भने यो अभियान सञ्चालन भएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जिल्लाका सबै वडामा यो अभियानमा उत्साहजनक भएको प्रारम्भिक रिपोर्ट आएको बताउँछन् ।

उनले खबरहबलाई भने, ‘कांग्रेस वडा-वडामा पुगेको छ । कांग्रेस पुगेको वडामा तल्लो कमिटीमा उमङ्ग, जोस जाँगर र जनताको प्यारो पार्टी भएको देखिएको छ । साथीहरूले अभियानबाट आएका विषयलाई सबै समस्या सुनेर केन्द्रमा पठाउने भएकाले अझ उत्साहजनक सहभागिता जनाउनुभएको छ ।’

के भन्छन् तल्लो तहका नेता कार्यकर्ता ?

कांग्रेस जिल्ला तहका अधिकांश नेताहरूले कांग्रेसमा देखिएको गुट उपगुटले कांग्रेसको साख कमजोर बनाएको बताएका छन् । उनीहरूले कांग्रेसले जनताका लागि काम नगरेर गुट, गठबन्धन र लुटको पक्षपोषणमा लागेको भन्दै चिन्ता व्यक्त गरे ।

नेपाली कांग्रेस दोलखा जिल्ला कमिटीका उपसभापति छवि लामाका अनुसार कांग्रेसले यो अभियान गरेकोमा धन्यवाद दिन्छन् । तर यो अभियानले कांग्रेसको गुट–उपगुटमा देखिएको चरम राजनीतिकरण अन्त्य भएर जानुपर्ने उनको मान्यता छ । यस्तै उनले केन्द्रले गरेको गठबन्धनमा पनि जिल्ला तहका नेता तथा कार्यकर्ता खुसी नभएको उनको भनाइ छ ।

वैतेश्वर गाउँपालिका अध्यक्ष समेत रहेका लामाले खबर हबलाई भने, ‘तल्लो तहका जनतालाई गुट उपगुटको जानकारी छैन । तर जनता निरास देखिएका छन् । माथिल्लो तहमा भएको गठबन्धनले जनतामा निरासा छाएको छ । गुट उपगुटको खेल माथिल्लो तहबाट अन्त्य हुनुपर्ने देखियो । माथिल्लो तहले गरेको कामको असर तल्लो तहमा देखिन थालेकाले यसलाई रोक्नुपर्छ ।’

उनले काम एकातिर राखेर कांग्रेस गुट बचाउन र गठबन्धन जोगाउन लाग्न नहुने बताए । सामान्य किसान र जनतालाई पनि गुट उपगुटको भुङ्ग्रोमा केन्द्रले लगाउन खोजेको बताउँदै यस्ता कुराको पछाडि नलाग्न उनी दोलखावासीलाई आग्रह गर्छन् ।

यस्तै दोलखा कांग्रेस सभापति बर्मा लामाले पनि कांग्रेसलाई जनताले आफ्नो नजिकको पार्टी मानेको तर जनताका कुरा सुन्न पछि हट्न थालेकाले चरम निराशा देखिएको बताए ।

चिसो मौसमका कारण १६ गतेबाट दोलखामा कांग्रेस अभियान सञ्चालन हुन नसकेको बताउँदै उनले भने, ‘३ दिन मात्र कार्यक्रम चलेको थियो । भीमेश्वर नगरपालिका वरिपरि मात्र कार्यक्रम गरेका थियौँ । तर जनतामा चरम निराशा देखियो । कांग्रेस अभिभावक पार्टी थियो । धेरै आसा गरेपनि त्यसअनुरूप काम गर्न सकेन । यसलाई परिमार्जन गरेर नयाँ ढंगबाट जानुपर्ने सुझाव जनताबाट आएको छ ।’

उनले भने, ‘जनताले तपाईँहरूले गर्नुहुन्न भने हामीले विकल्प पनि खोज्न सक्छौँ भन्नुभएको छ । सुधार गरेर कांग्रेस नयाँ बाटोबाट जानुपर्छ भन्नु भएको छ ।’ १६ गते बसेको जिल्ला कमिटी बैठकमा पनि केन्द्रीय प्रतिनिधि डा चन्द्रमोहन यादव राखेर सबै सुझाव सुनाएको लामाले बताए ।

गुट उपगुटको खेलले गर्दा कांग्रेस कमजोर हुँदै गएको बताउँदै यस्ता खेलको पछाडि नलाग्न कांग्रेससका माथिल्लो तहका नेताहरूलाई आग्रह गर्दै पाँचथरको फिदिम नगरपालिका ९ का वडा सचिव गंगा राईले पनि कांग्रेसलाई जागरूक बनाउन मौलाएको गुट अन्त्य गर्नुपर्ने बताए ।

९ का वडा अध्यक्षसमेत रहेका उनले खबरहबलाई भने, ‘गुटको खेलले कांग्रेस कमजोर भएको छ । यसको दोष माथिल्लो तहका नेतामा जान्छ । उहाँहरू सच्चिएर जानुपर्छ । समुदायमा कांग्रेस अभियानमा जनताले दिएको सुझाव पनि यही हो ।’

यस्तै नेपाली कांग्रेस अछाम क्षेत्र नं २ क पूर्व क्षेत्रीय सभापति हाल कमल बजार नगरपालिका प्रमुख यज्ञराज ढकालले पनि समुदायमा कांग्रेस अभियानले दिएका सुझावलाई कांग्रेसले नीति महाधिवेशनमा गम्भीर तरिकाले प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

तल्लो तहका कार्यकर्ता र जनताका कांग्रेस पार्टी सकिएको भन्ने भाष्य रहेको र जनताको काम बिर्सिएर अरूतिर केन्द्रित भएको कुराहरू भएकाले यसलाई कांग्रेसले चिर्न सक्नुपर्ने बताए ।

उनले भने, ‘साँचिक्कै कांग्रेस सच्चिने हो भने समुदायमा कांग्रेस अभियानमा वडा तहका जनताले राखेका निराशा र प्रस्तावको गम्भीर समीक्षा गर्नुपर्छ ।’उनले समुदायका कांग्रेस अभियानले जनताको कुरा वकालत गर्न सक्नुपर्ने बताए ।

उपनिर्वाचन हुने स्थानको चहल पहल

पूर्वको इलाम जिल्लामा पनि समुदायमा कांग्रेस अभियानको छुट्टै रौनक रहेको बताउने कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्का अभियानले उत्साह छाएको बताउँछन् ।

इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा हुने उप निर्वाचनले गर्दा पनि यहाँ माहोल तातेको उनको भनाइ छ ।

उनले खबरहबलाई भने, ‘हाम्रोमा पनि अभियान ४२ वटा वडामा व्यापक भएको छ । उत्साह छ । तर गठबन्धन प्रति भने कांग्रेस शुभेच्छुक र कार्यकर्ताहरू निरास छन् । क्षेत्र २ मा भने छिटो उपनिर्वाचन होस भन्ने आवाज पनि उठेका छन् ।’

इलाममा केन्द्रले प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई खटाएको छ । उनका अनुसार उपनिर्वाचन हुने भएकाले यहाँ कार्यकर्ता र नेताको चहलपहल व्यापक छ ।

यस्तै सुदूरपश्चिममा असार ६ गते प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । उनको क्षेत्र बझाङ १ क मा पनि उपनिर्वाचन हुने छ ।

यहाँ पनि कांग्रेसले गरेको समुदायमा कांग्रेस अभियानमा विशेष चहल पहल देखिएको कांग्रस बझाङ जिल्ला सभापति खड्गबहादुर बोहोराले बताए ।

उनले खबरहबलाई भने, ‘समग्र सुदुरपच्चिममा समुदायमा कांग्रेस अभियानको चाम छ । तर जनता केन्द्रीय नेताको व्यवहार र गठबन्धनबाट आजित भएको पाइयो ।’

बझाङ १ कमा विशेष कांग्रसको यो अभियानमा चाम देखिएको बताउँदै उनले भने, ‘निर्वाचनमा टिकट माग्ने र जनताले यो मान्छेलाई टिकट दिनुपर्छ भन्ने सम्म देखिएको छ । ख मा भन्दा क मा उपनिर्वाचन हुने भएकाले जनता अलिक उत्साही छन् ।