स्टोरी

चौरासी नजिकका अजित : चौधरीले फसाए कि आफैं ?

By खबरहब

February 04, 2024

काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा समातिएका घरानियाँ व्यापारी अरुणकुमार चौधरीको सर्वत्र चर्चा छ । यही काण्डमा चौधरीभन्दा पहिल्यै पक्राउ परेका अर्का ८२ वर्षीय सुकिला–मुकिला भीआइपीको भने खासै चर्चा छैन ।

हिन्दु परम्पराअनुसार चौरासी गर्ने बेला हुन लागेका धनकुटे काजी अजितनारायण सिंह थापा यतिबेला सीआइबीको नियन्त्रणमा छन् । ८२ वर्षको उमेरमा प्रोस्टेडको बिरामीसमेत रहेका उनी ३८ वर्ष पहिल्यै गरेको कर्मका आधारमा प्रहरीको फन्दामा परेका हुन् ।

बाँसबारी छाला जुत्ता कारखानाको १0 रोपनी जग्गा चौधरी परिवारका नाममा विक्रीको निर्णय गर्दा थापा कार्यकारी प्रमुख थिए ।

पञ्चायत र बहुदल दुबै व्यवस्थामा सरकारी नियुक्ति खाएका अजित अघिल्लो सातासम्म पुरानो बानेश्वर नजिकै रातो ईंटाले बनेको निजी निवासमा घाम तापेर ‘रिटायर्ड लाइफ’ बिताइरहेका थिए । फलफूल किन्न घरबाट फुत्त बाहिर निस्कँदा पक्राउ परेका उनको गिरफ्तारीबारे श्रीमतीसमेत निकै समय बेखबर भइन् ।

बत्तीसपुतलीमा रहेको अजितनारायण सिंह थापाको  घर (माथि)

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई) को नियन्त्रणमा रहेका अजितमाथि प्रहरीले अरुण चौधरीसँगै अनुसन्धान गरिरहेको छ । करिब चार दशकअघि नै बाँसबारी छाला जुत्ता कारखानाको कार्यकारी प्रमुख रहेका उनले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णयमा सही गरेका थिए । अजितले यो काम नियतबस गरे वा चौधरी ग्रुपको षड्यन्त्रमा फसेर गरे ? अनुसन्धानपछि रहस्य पक्कै खुल्ने छ । यो प्रकरणमा तत्कालीन मन्त्रिपरिषद भन्दा माथि ‘भूमिगत गिरोह’ को पनि संलग्नता त थिएन ? यो पनि अनुसन्धानबाटै खुल्ला ।

डाँडापारिको घामजस्तै वयोवृद्ध अवस्थाको मानिसलाई प्रहरी हिरासतको साटो अस्पतालमा राख्नु मानवीय दृष्टिले अन्यथा मान्न नमिल्ने प्रहरीको तर्क छ । यस्तो वयोवृद्ध मानिस दोषी ठहर भएको अवस्थामा कानुनले नै केही प्रतिशत सजाय छुट हुने प्रवन्ध गरेको छ ।

को हुन् अजितनारायण ?

धनकुटाको मुगामा जन्मेका अजितनारायण सिंह थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका तेह्रदिने दाजुभाइ हुन् । नाताले उनी सूर्यबहादुरका भाइ एवं सुनीलबहादुर थापाका काका हुन् । तर, सूर्यबहादुर र अजितनारायणको राजनीतिक यात्रा भने सधैं ‘शत्रुतापूर्ण’ नै रह्यो । १३ दिने दाजुभाइ भए पनि अजित र सूर्यबहादुर थापाको परिवारबीच ‘इगो’ टस्सल पर्दै आएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहका स्कुले साथीसमेत रहेका अजित पञ्चायतकालमा आफ्ना दाजु सूर्यबहादुर थापाको विपक्षमा परिचालित भएको ‘भूमिगत गिरोह’ सँग नजिक मानिन्थे । पञ्चायतकालमा उनी आफ्ना दाजु सूर्यबहादुर थापाको विरोधी मानिने दरबारको फरक गुटमा रहे ।

पञ्चायती चुनावमा अजितले सूर्यबहादुर थापालाई हराउन धनकुटामा भरत भट्टराईलाई खडा गरेका थिए । तर, उनले सूर्यबहादुरलाई हराउन सकेनन् ।

मुगाली थापाहरुमध्ये ‘सिंह’ र ‘बहादुर’ दुबै खलक सम्पन्न मानिन्छन् । उनीहरुबीच कोभन्दा को कम भन्ने भावना अघिल्लो पुस्तादेखि नै थियो ।

 

मुगामा रहेको अजितनारायण सिंह थापाको  पुर्ख्यौली घर (माथि)

मुगामा कसको घर ठूलो र भव्य बनाउने भन्नेमा पनि थापाकाजीहरुमा प्रतिस्पर्धा थियो । सूर्यबहादुर थापाका पिता लप्टन टेकबहादुर थापाले विसं. २००१ सालमा बनारसबाट कालिगढ ल्याएर भव्य महल बनाएका थिए ।

सूर्यबहादुर थापा कहिलेकाहीँ घर जाने र बस्ने गरेका थिए । तर, सूर्यबहादुरका पिताले बनाएको सो महल सशस्त्र विद्रोहका बेला माओवादीले आगो लगाएर ध्वस्त बनाइदिए ।

अजितनारायणले अहिलेसम्म आफ्नो घरमा कांग्रेसको झण्डासमेत टाँगेर सम्हालेरै राखेका छन् भने सूर्यबहादुरका छोरा–नातिले घरको पुनर्निर्माण अझै गर्न सकेका छैनन् ।

स्व. सूर्यबहादुर थापाको पुर्ख्यौली घरको भग्नावशेष (माथि)

लप्टन टेकहादुर थापाले आफ्ना छोरा सूर्यबहादुर थापालाई काठमाडौं पढ्न पठाए । अजितनारायण सिंह पनि के कम ? उनी धनीहरुले पढ्ने दार्जीलिङको ‘नर्थ पोइन्ट’ अर्थात् चर्चित सेन्ट जोसेफ (क्याथोलिक) स्कुलमा भर्ना भए ।

काठमाडौंबाट दार्जीलिङमा पढ्न गएका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहसँग अजितनारायणको भेट र मित्रता त्यही जोसेफ स्कुलबाटै भयो ।

पञ्चायतकालमा सूर्यबहादुर थापा र अजितनारायणको राजनीतिक मैदान धनकुटा र काठमाडौं बन्न गयो । पञ्चायतकालमा सूर्यबहादुर थापाविरुद्ध सक्रिय बनेका अजितनारायण बहुदलपछि पनि लगातार आफ्ना दाजुविरुद्ध सक्रिय रहे ।

राजाले ०४० को दशकमा आफूलाई प्रधानमन्त्रीबाट हटाएका बेला सूर्यबहादुर थापाले आफूविरुद्ध भूमिगत गिरोह सक्रिय बनेको बताएका थिए ।

धनकुटाका हरेक चुनावमा अजितनारायणले आफ्ना दाजु सूर्यबहादुर थापालाई हराउन भूमिका खेल्दै आएका थिए ।

पञ्चायती व्यस्वस्थाको अन्तिम स्थानीय चुनावबाट पदमबहादुर बस्नेत (रामकाजी) धनकुटा जिल्ला पञ्चायतका सभापति निर्वाचित भए । तर, यसक्रममा सूर्यबहादुर थापाका निकट मानिने बस्नेतले अजितनारायणको चुनौती सामना गर्नु¥यो । त्यसबेला बस्नेतले १४ भोटको झिनो अन्तरले मात्रै जिल्ला सभापति जितेका थिए ।

धनकुटा क्षेत्र नम्बर २ बाट ०४८ को चुनावमा एमाले नेता गोपाल गुरागाईले जित्दा सूर्यबहादुर थापा दोस्रो बनेका थिए । त्यसबेला अजितनारायणले अर्जुन थापालाई नेपाली कांग्रेसबाट उठाएर दाजुलाई हराउन भूमिका खेले । परिणामस्वरुप, एमालेका गुरागाईले १७ हजार ७६३ लोकप्रिय पाए थिए भने सूर्यबहादुरले ८ हजार ५०८ मत मात्र पाए । तेस्रो बनेका अर्जुन थापाले ४ हजार ७५४ मत ल्याए ।

मध्यावधि चुनाव ०५१ मा पनि अजितनारायण थापाले आफ्ना दाजु सूर्यबहादुरलाई हराउन कांग्रेसका मनोहरनारायण श्रेष्ठलाई साथ दिए । तर, सूर्यबहादुरले मध्यावधि चुनाव जिते । एमालेका गोपाल गुरागाई दोस्रो र कांग्रेसका मनोहरनारायण श्रेष्ठ तेस्रो बने ।

अजितनारायणले ०५६ को चुनावमा फेरि आफ्ना दाजु सूर्यबहादुर थापाविरुद्ध आफ्नै बन्धु अर्जुन थापालाई धनकुटा क्षेत्र नम्बर २ मा साथ दिए । तर, त्यो चुनावमा पनि सूर्यबहादुर थापा पहिलो, एमालेका गोपाल गुरागाई दोस्रो र अर्जुन थापा तेस्रो बने ।

बहुदल आएपछि पनि नेपाली कांग्रेससँगको निकटताका कारण विद्युत प्राधिकरण, नेपाल वायु सेवा निगम लगायतका विभिन्न ठाउँमा राजनीतिक नियुक्ति खाएका अजित प्रत्यक्ष राजनीतिमा भने जिल्ला तहभन्दा माथि उठ्न सकेनन् । सूर्यबहादुर भने पटक–पटक प्रधानमन्त्री भए ।

प्रधानमन्त्री वा मन्त्री बन्न नसके पनि अजितले बहुदलकालमा राजनीतिक नियुक्तिहरुबाट बञ्चित हुनुपरेन । सरकारी संस्थानलाई निजीकरण गर्ने लाइनका अगुवा कांग्रेस नेता डा. रामशरण महतको विश्वासपात्र रहेका कारण अजितले पञ्चायतकालमा जस्तै प्रजातन्त्रमा पनि सरकारी संस्थानहरुको जिम्मेवारी निभाए ।

दरबारसँग निकट रहेकै कारण अजितनारायण पञ्चायतकालमा बाँसबारी छाला जुत्ता कारखानाको कार्यकारी प्रमुख बन्न सफल भएका थिए । उनले बहुदलकालमा पनि नेपाली कांग्रेसमा लागेर विभिन्न संस्थानमा राजनीतिक नियुक्ति पाए । तर, कुनै पनि संस्थानमा उनको नेतृत्व सम्झन लायक रहेन ।

जीवनको उत्तरार्धमा सरकारी सम्पत्ति हिनामिनाको बात लागेका अजितनारायण पक्राउ परेपछि परिवारभित्र तरंग उत्पन्न भएको छ । भएकाले राष्ट्रपतिका सल्लाहकार सुनीलबहादुर थापाले काकालाई भेटेर स्वास्थ्य अवस्थाबारे बुझेका छन् । यसवापत उनले बचाऊमा लागेको आरोपसमेत खेपेका छन् ।

सूर्यबहादुर थापाको निधनपछि अन्ततः सुनीलबहादुर थापा पनि अजितनारायण सिंह थापा लागेको पार्टी नेपाली कांग्रेसमै एकाकार बनेका छन् । सायद यसले दुई परिवारबीचको पुरानो दुरी घटाएको छ ।

अजितनारायणका श्रीमती, दुई छोरा र एक छोरी छिन् । छोरी र जेठा छोरा अमेरिकामा छन् । कान्छा छोरा स्टाण्डर्ड चार्टर्ड बैंकमा काम गर्छन् । पूर्वमा अजितको आफ्नै विकास बैंकसमेत छ । पुर्ख्यौली रुपमै उनी सम्पन्न व्यक्ति हुन् ।

अजितकी छोरीले पूर्वमन्त्री भेषबहादुर थापाका छोरा भाष्कर थापासँग बिहे गरेका कारण अजित र भेषबहादुर नाताले सम्धी हुन् । तर, भेषबहादुरका छोराको अमेरिकामा भएको दु:खद निधनले दुबै परिवारमा शोक निम्त्याएको अवस्था छ । अजितकी छोरी र नातिनातिना हाल अमेरिकामै बस्छन् ।

विगतमा ज्ञानेन्द्रसँग सम्बन्ध रहेको र सूर्यबहादुर थापाको विपक्षमा उभिए पनि ०४६ पछि अजितनारायण प्रजातन्त्रवादी बने । मुगामा उनलाई समाजसेवीका रुपमा समेत मानिसहरुले लिन्छन् ।

विद्यालय, खानेपानी, पाटी पौवा निर्माणमा अजितले सहयोग गर्ने गरेको स्थानीय सम्झन्छन् ।  मुगामा रहेको घरको स्याहार पनि उनले अरुको भन्दा राम्रै गरेको देखिएको छ । अरु मुगाली थापाहरुले भने आफ्ना भग्न घरहरुको हेरचाह र स्याहार नगरी चटक्क छाडेका छन् ।

बाँसबारीमा अजितनारायणको संलग्नता के हो ?

बाँसबारी छाला जुत्ता कारखाना चीन सरकारको सहयोगमा २०२० सालमा बनेको हो । अहिले गंगालाल हृदयरोग केन्द्र रहेको ठाउँमा  कारखानाको ८३ रोपनी जमिन थियो ।

अजित नारायण सिंह थापाले आफू कार्यकारी प्रमुख रहेका बेला सञ्चालक समितिबाट निर्णय गराएर ०४३ भदौ १३ गते विनोद चौधरी र उनको परिवारले खोलेको ‘च्याम्पियन फुट वेयर’ लाई बाँसबारीको १० रोपनी सरकारी जग्गा दिने निर्णय गराए ।

त्यसबेला प्रतिरोपनी ८ लाख पर्ने जग्गालाई २ लाख ५० हजारका दरले बेच्ने निर्णय थापाले गराएका थिए । चौधरी परिवारले त्यो पैसा पनि सरकारलाई बुझाएन । पैसाको साटो उसले २५ सय कित्ता सेयर दिने भन्यो । ८३ रोपनी जग्गामा रहेको सरकारी बाँसबारी छाला जुत्ता कारखाना १० रोपनीवाला चौधरीको सेयर सदस्यका रुपमा कम्पनी रजिष्टारको कार्यालयमा खुम्चियो ।

यही क्रममा बहुदल आएपछि कांग्रेस सरकारले चीनले खोलिदिएको बाँसबारी छाला जुत्ता कारखाना ०४९ कात्तिक २४ गते भारतको कानपुस्थित छाला उद्योगलाई २ करोड २४ लाखमा बेच्यो । त्यसको पाँच वर्षपछि चौधरीले नेपाल सरकारको शेयर रहेको फुटवेयर कम्पनी निजी बनाए । चौधरीको जुत्ता उद्योग करिब ३ वर्ष चलेर ०४६ सालमा बन्द भयो । १० रोपनी जग्गा वापतको सरकारको सेयर पनि गायव भयो ।

चौधरीले सरकारसँग १० रोपनी जग्गा र शेयर किनेको रेकर्ड कतै छैन । यो अवस्थामा चौधरीले सरकारलाई एक पैसा नतिरी १० रोपनी जग्गा हडपेको आशंकामा सीआइबीले अनुसन्धान थालेको हो । अहिले यो जग्गाको मूल्य १ अर्ब ६० करोडसम्म पर्ने अनुमान छ ।

सरकारी जुत्ता कारखानाकै छेउमा खोजिएको निजी जुत्ता कम्पनीले सरकारी उद्योगलाई धरासायी बनायो । चौधरीको यो प्लानमा अजितनारायण थापा साक्षी बने ।

त्यसो त विनोद चौधरीले आफ्नो कितावमा दरबारका ऐश्वर्य र धीरेन्द्रसम्म राम्रो सम्बन्ध रहेको स्वीकार गरेका छन् । चौधरीको एपोलो स्टिलमा धीरेन्द्रको ४९ प्रतिशत सेयर समेत रहेको थियो । धीरेन्द्रको बंश विनासपछि त्यो सेयर ट्रष्टका नाममा आयो कि गायव भयो, त्यसको पनि छानविन भएको छैन ।

एकातिर चौधरी परिवारको धीरेन्द्रसँग व्यवसायिक पार्टनरको सम्बन्ध हुनु र अर्कोतर्फ बाँसबारीका कार्यकारी प्रमुख अजितको सम्बन्ध ज्ञानेन्द्र शाहसँग राम्रो हुनुले त्यसबेलाको जग्गा घोटालामा सरकारभन्दा माथिको प्रभाव र दबाव रहेको अनुमान समेत गरिँदै आएको छ ।

१० रोपनी जग्गा वापतको सरकारी शेयर गायव पारेर ०५४ पुस ४ गते निजी बनाएपछि चौधरीले फुटवेयर कम्पनी अंशवण्डा गरे । उक्त कम्पनीको प्रथम सञ्चालक अरुण चौधरीकी श्रीमती शीला चौधरी बनिन् । कम्पनीमा अब चौधरी परिवारका सदस्यहरु मात्र रहे, सरकारी सेयर गायव भयो ।

त्यसको २० वर्षपछि ०७४ चैत ९ गते च्याम्पियन फुटवेयरका मालिक अरुण चौधरी र श्रीमती शीला चौधरी २ जनामात्र रहे ।

त्यसको चार वर्षपछि ०७८ असार २८ गते कम्पनीको नाम फेरेर ‘सीजी चाँदबाग रेसिडेन्सी’ राखियो र व्यवसायिक प्रयोजनको महल बनाउन थालियो । त्यहाँको १० रोपनी जग्गामा साढे ८ सय विद्यार्थी अध्ययनरत चाँदबाग स्कुल चलिरहेकै छ । यहाँको जग्गाको मूल्य प्रतिरोपनी १६ करोडसम्म पर्ने स्थानीयको भनाइ छ, जुन चौधरीले किनेको नभएर पहिले सरकारलाई सेयर दिन्छु भनेर पछि आफ्नो नाममा नामसारी गरेको सीआइबीको दाबी छ ।

चीनले खोलिदिएको कारखाना भारतीय कम्पनीलाई कौडीको भाऊमा बेच्ने अनि सरकारको १० रोपनी जग्गा दरबारको समेत शक्ति प्रयोग गरेर चौधरीको हातमा पुर्‍याउने भूमिका खेलेका ज्येष्ठ नागरिकमाथि अब कस्तो कारवाही होला ? प्रहरीले गर्ने अनुसन्धान र त्यस आधारमा अदालतमा चल्ने बहस पैरवीपछि मात्र थाहा हुनेछ ।