तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

भारतलाई ड्रोन बेच्न अमेरिका सकारात्मक

By खबरहब

February 04, 2024

काठमाडौं- भारतसँगको प्रस्तावित ड्रोन खरिदबिक्री सम्झौताप्रति अमेरिकाले सकारात्मक प्रतिक्रिया जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले भारतसँगको ड्रोन सम्झौताले रणनीतिक प्रविधि साझेदारीलाई बढावा दिएको उल्लेख गरेको हो ।

गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा दुई पक्षबीच ड्रोन खरिदबिक्री सम्झौताको घोषणा भएको थियो । घोषणा अनुसार भारतले अमेरिकाको रक्षा उपकरण निर्माता कम्पनी जनरल एटोमिक्सबाट प्रेडेटर ड्रोन खरिद गर्ने बताइएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले उक्त सम्झौताले रणनीतिक प्रविधि साझेदारी र क्षेत्रीय सैन्य साझेदारीलाई पनि वृद्धि गर्ने जनाए ।  भारतीय समाचार संस्था एएनआईका अनुसार प्रवक्ता मिलरले पछिल्ला केही वर्षयता भारत र अमेरिकाबीच रक्षा साझेदारीमा महत्वपूर्ण वृद्धि देखिएको पनि जनाए ।