समाचार

रास्वपा सभापति लामिछानेकै नेतृत्वमा सरकारमा जाने 

By खबरहब

March 04, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । 

आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सभापतिकै नेतृत्वमा सरकारमा जाने अनौपचारिक निर्णय गरेको हो । 

रास्वपा सचिवालयका एक नेताका अनुसार अर्थ मन्त्रालय पाए उपसभापति स्वर्णिम वाग्लेलाई नै सरकारमा पठाउने कि भन्ने छलफल भएको थियो । 

तर उपप्रधानसहित गृर्ह मन्त्रालय पाउने अनौपचारिक छलफल मध्यरातमा नेकपा एमाले, माओवादी, रास्वपा र जसपाको छलफलमा भएपछि सभापति नै नेतृत्वमा जाने कुरा भएको बैठकमा उपस्थित एक नेताले खबरहबलाई बताए ।  

ती नेताले भने, ‘कुनै राजनीतिक परिवर्तन नभए सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने पार्टीको सहमति छ ।’ 

आज बिहान बसेको पार्टीको बैठकले यसको निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई दिएको छ ।

अहिले सभापति लामिछाने बालुवाटार पुगेका छन् । रास्वपाबाट आज पार्टी सभापति मात्रले मन्त्रीको शपथ लिने छन् ।