समाचार

सप्तरीका अग्निपीडितलाई राहत वितरण

By खबरहब

May 04, 2024

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री वितरण गरिएको छ । नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले पीडितलाई राहत वितरण गरेका हुन् ।

नेपाल मुस्लिम समाज सेवा सप्तरीका उपाध्यक्ष अफरोज आलमका अनुसार सप्तरीले महादेवा गाउँपालिका–१ चिम्टी टोलका अग्निपीडित ६२ परिवारलाई भाँडावर्तनलगायत सामग्री प्रदान गरेको हो ।

नेपाल–भारतमैत्री सङ्घले पीडितलाई १० किलो चामल, दुई किलो दाल र नुन, एक किलो चिनी लुङ्गी, साडी, तन्ना, झुल, प्रदान गरेको छ ।

सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटीले नियमितरूपमा पीडितलाई भोजनको व्यवस्था गरेको छ ।

गत मङ्गलबार महादेवा गाउँपालिका–१ चिम्टीमा आगलागी हुँदा ६२ परिवारका एक सय १४ वटा घर जलेका थिए ।