समाचार

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

By खबरहब

May 04, 2024

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर खड्काको प्यानलनै विजयी भएको छ ।

अध्यक्षका प्रत्यासी शरणकुमार राईलाई ९४ मतको अन्तरले पराजित गर्दै खड्का जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले ३१७ मत ल्याउँदा राईले २२३ मत ल्याए ।

अध्यक्षमा निर्वाचित भएका खड्का निवर्तमान उपाध्यक्ष हुन् भने राई निवर्तमान अध्यक्ष हुन् । दुवै जनाले प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।

यस्तै उपाध्यक्षमा किरण राई निर्वाचित भएका छन् । उनले मत ३११ ल्याए । उनका प्रतिस्पर्धि कृपाशुर शेर्पाले २१६ मत पाए । निवर्तमान जिल्ला सचिव रहेका राई पौवादुङमा गाउँपालिका अध्यक्षसमेत हुन् ।

एक्सन राईले ३४७ मत ल्याएर सचिवमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धि ज्ञानेन्द्र कार्कीले १६८ मत पाए । राई नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्षसमेत हुन् ।

खुल्ला उपसचिवमा दौलत राई निर्वाचित भएका छन् । राईले ३०४ मत ल्याउँदा उपसचिवका अर्का उम्मेदवार जगत चौहानले १७३ मत ल्याए । यसैगरी महिला उपसचिवमा रमा राई निर्वाचित भएकी छन् । रमाले २९२ मत ल्याउँदा मेरिका राईले २१६ मत ल्याइन् ।

पदाधिकारीमा निर्वाचित भएका सबै मकर खड्का समूहका हुन् । नेताहरुले सहमतिमा नेतृत्व चयनको प्रयास गरेपनि सर्वसम्मत हुन नसकेपछि दुई समूहले फरकफरक समूह बनाएका थिए ।

शनिबार सम्पन्न निर्वाचनमा ५७४ जना प्रतिनिधिले मतदान गरेका थिए ।