ब्रेकिङ स्टोरी

स्थानीय वायुको प्रभाव : काठमाडौं उपत्यकामा वर्षा

By खबरहब

June 04, 2024

काठमाडौं– स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ ।

काठमाडौँको दक्षिण–पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौँ उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले वर्षा गराएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो वायु प्रणालीले काठमाडौं उपत्यकामा एक घण्टाभन्दा बढी समयसम्म वर्षा गराउने र उत्तरतिर लागेर कमजोर हुँदै जाने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । यो प्रि मनसुन क्रियाकलाप भएको महाशाखाले जनाएको छ ।

हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

यस वर्षको मनसुन यही जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने विभागको पूर्वानुमान छ । यद्यपि मनसुन भित्रिने सरदर मिति केही दिन तलमाथि हुने विभागले बताएको छ ।