अन्तर्राष्ट्रिय

जेलबाट चुनाव लडेका अमृतपाल सिंहलाई ६३ हजारको अग्रता 

By खबरहब

June 04, 2024

काठमाडौं– भारतको पञ्जाबमा पर्ने खडुर साहिब लोकसभा सिटमा स्वतन्त्र उम्मेदवार अमृतपाल सिंहले अग्रता लिएका छन् । असमको कारागारमा बन्दी जीवन बिताइरहेका अमृतपाल सिंह निकटतम् प्रतिष्पर्धीभन्दा ६३ हजार मतले अगाडि छन् । 

भारतीय निर्वाचन आयोगको वेबसाइटमा अमृतपाल सिंहले १ लाख ५३ हजार ५८९ मत प्राप्त गरेका छन् । कांग्रेसका कुलवीर सिंह जीरा दोस्रो स्थानमा छन् । उनले ८९ हजार ६५४ मत ल्याएका छन् । 

भारतीय चुनाव आयोगका अनुसार पञ्जाबका १३ सिट मध्ये ६ सिटमा कांग्रेसको अग्रता छ । आम आदमी पार्टीले तीन सिटमा अग्रता बनाउँदा शिरोमणि अकाली दल दुई र दुई सिटमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् ।

अमृतपाल ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख हुन् । संगठन गठन गरेका दीप सिद्धुको सडक दुर्घटनामा मृत्यु भएपछि २०२२ सेप्टेम्बर २९ मा अमृतपाललाई प्रमुखमा नियुक्त गरिएको थियो ।  

अजनाला हिंसा पछि अमृतपालविरुद्ध कयौँ मुद्दाहरू दायर गरिएका थिए । उनीमाथि एनएसए (राष्ट्रिय सुरक्षा कानुन) पनि लगाइएको छ । अमृतपाल सिंहविरुद्ध एनएसएसहित १६ मुद्दाहरू लगाएको छ । उनी अहिले असामको डिब्रुगढ जेलमा बन्दी जीवन बिताइरहेका छन् ।