अपराध

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ 

By खबरहब

June 04, 2024

काठमाडौं– बेरोजगार युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट रकम लिए पश्चात् विदेश नपठाई सम्पर्क विहीन भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुम पश्चिम घर भई सुकेधारा बस्ने ३९ वर्षीय रुपेश राज गिरी, स्याङ्जा घर भई बुढानीलकण्ठ बस्ने ४५ वर्षीय राजु ढकाल र  धनुषा घर भई तीनकुने बस्ने २२ वर्षीय युवराज ठाकुर रहेका छन् ।

रुपेश राज गिरीले देव सिंह महता समेतलाई रोमानिया पठाइदिन्छु भन्दै आठ लाख रुपैयाँ ठगी गरेको, राजु ढकालले अर्जुन सुनुवारलाई दुबई पठाइदिन्छु भन्दै दुई लाख पचास हजार रुपैयाँ ठगी गरेको र  युवराज ठाकुरले सशांक राज बानियाँ समेतलाई  पोल्यान्ड पठाइदिन्छु भन्दै ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागी वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।