खेलकुद

प्रधानमन्त्री कप भलिबल : एभरेस्ट क्लब विजयी

By खबरहब

June 04, 2024

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत आज भएको महिलातर्फको खेलमा एभरेस्ट भलिबल क्लब विजयी भएको छ । एभरेस्टले न्यू डायमन्ड स्पोर्टस् क्लबलाई पराजित गरेको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा एभरेस्टले न्यु डयामन्ड स्पोर्टस् क्लबलाई ३-० सोझो सेटमा पराजित गरेको हो । एभरेस्टले पहिलो सेट २५-२१ अंकले, दोस्रो सेट २५-१९ अंकले तथा तेस्रो सेट २५-१८ अंकले जितेको हो ।

 जितसँगै एभरेस्टले तीन खेलबाट नौ अंक जोडेको छ । एभरेस्टले यसअघि कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबलाई ३-०  सोझो सेटमा पराजित गरेको थियो । 

यसैगरी न्यु डायमन्ड तीनवटै खेलमा पराजित भएको छ । यसअघि उसले सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ३-२ तथा नेपाल पुलिस क्लबसँग ३-१ सेटमा हार ब्यहोरेको थियो । 

आज सम्पन्न पुरुषतर्फका खेलमा गण्डकी प्रदेशले बूढानीलकण्ठलाई ३-१ सेटमा पराजित गर्‍यो । यसैगरी नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई तथा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई समान ३-० सोझो सेटमा हरायो ।

आजै भएको पुरुषतर्फको अर्को खेलमा हेल्प नेपालले सशसस्त्र प्रहरी बलको एपिएफ क्लबाई ३-० सेटले पराजित गर्‍यो ।