प्रतिकात्मक तस्वीर

समाचार

ललितपुरको चक्रपथमा दुईवटा आकाशे पुल निर्माण हुँदै

By खबरहब

June 04, 2024

ललिततपुर– ललितपुर महानगरपालिकाअन्तर्गत चक्रपथ क्षेत्रमा थप दुईवटा आकाशे पुल निर्माण भइरहेका छन् । 

महानगरपालिका–२ सानेपा र ललितपुर महानगरपालिका–१३ महालक्ष्मी स्थानमा नयाँ आकाशे पुल निर्माण भइरहेका काठमाडौँ चक्रपथ सडक विस्तार आयोजनाले जनाएको छ । ललितपुरको बालकुमारी, सातदोबाटो, एकान्तकुना, धोबीघाटमा आकाशे पुल निर्माण भइसकेका छन् । 

आयोजना प्रमुख कृष्णनाथ ओझाले यसअघि  चीन सरकारको सहयोगमा निर्माण भए पनि महालक्ष्मीस्थान र सानेपामा नेपाल सरकारले आफ्नै लागतमा आकाशे पुल निर्माणकार्य जारी रहेका जानकारी दिए । 

उनका अनुसार निर्माण हुँदै गरेका ती आकाशे पुल अपाङ्गतामैत्रीसमेत हुने छन् ।

पैदलयात्रुको सहजताको लागि आकाशे पुल निर्माण गर्ने सम्झौता विसं २०७५ मा भए पनि निर्माण कार्य भने केही महिनाअघिबाट मात्र सुरु भएको हो । सम्झौताअनुसार दुवै पुल आगामी आर्थिक वर्षभित्र निर्माण गरिसक्नुपर्ने छ । 

महानगरपालिका–२ का वडाध्यक्ष राजेश महर्जनले भीडभाड हुने मुख्य चोकमा आकाशे पुल निर्माण भएमा पैदलयात्रुलाई निकै सहज हुने बताए ।