देश/प्रदेश

माओवादीले एक वर्ष पुगेका मन्त्रीलाई फिर्ता बोलाउँदै

By ज्ञानु घिमिरे

June 04, 2024

काठमाडौं–नेकपा माओवादी केन्द्रले केही मन्त्रीहरू फेरबदल तयारी गरेको छ ।

माओवादीले १ वर्ष कार्यकाल पूरा गरेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउन लागेको एकजना पदाधिकारीले खबरहबलाई बताए ।

ती पदाधिकारीका अनुसार माओवादीबाट परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई फिर्ता बोलाउन लागेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार जेठ अन्तिम साता सम्ममा मन्त्रिपरिषद् हेरफेर गरिसक्ने प्रधानमन्त्रीको तयारी छ ।

यसका लागि उनी निरन्तर अनौपचारिक रूपमा नेताहरूसँग भेटघाटमा व्यस्त छन् ।

यता अर्थमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई भने निरन्तरता दिने माओवादीको तयारी छ ।

तर, सरकारको सन्तुलन मिलाउन संस्कृति, पर्यटन मन्त्री तामाङलाई भने मन्त्रालय फेरेर निरन्तरता दिने चर्चा छ ।

केही समय विनाविभागीय राखेर भए पनि नाउपाकी रञ्जितालाई यो सातासम्म सरकारमा लैजान लागिउको एमाले नेताहरु बताउँछन् ।

तर यसबारे कुनै औपचारिक निर्णय नभएको माओवादी महासचिव देव गुरुङले खबरहबलाई बताए ।

भाग मिलाउन माओवादी र एमालेले एक–एक मन्त्रालय छाड्ने

सरकारको सन्तुलन मिलाउनका लागि माओवादी र एमालेले १–१ मन्त्रालय छाड्ने सहमति भएको ओली निकट नेताहरूको भनाइ छ ।

एमालेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छाडेर भगवती चौधरीलाई अन्यमा पठाउने तयारी गरेको छ । यद्यपि उनलाई बिदा गर्ने या अन्य मन्त्रालयमा सार्न कि यथावत् दिनेबारे निर्णय भइनसकेको एमालेको भनाइ छ ।

एमालेले छोडेको मन्त्रालयमा जसपा अशोक राई पक्षलाई भाग लाग्ने छ । यसबारे राईले खबरहबलाई भने, ‘मन्त्रीपरिषद् हेरफेर हुँदा एउटा मन्त्रालय हामीलाई दिने सहमति भएको छ । तर कुन हुन्छ त्यो फाइनल भएको छैन ।’

अर्का नेताका अनुसार जसपालाई तीन मन्त्रालय र १ राज्यमन्त्री दिने शर्तअनुसार नै उपेन्द्र यादवलाई सरकारबाट निकालिएको हो । तर यसबारे राईले प्रतिक्रिया दिन चाहेनन् ।

जसपाबाट रञ्जु झाको नाम मन्त्री हुने लाइनमा रहेको पार्टी नेताहरू बत्ताउँछन् । सुशीला श्रेष्ठलाई पठाउनुपर्ने आवाज पनि पार्टीमा उठिरहेको ती नेताले बताए ।

तर अध्यक्ष राईले केही दिनअगाडि खबरहबसँगको कुराकानीमा श्रेष्ठ तत्काल मन्त्री हुने लाइनमा नरहेको बताए ।

जसपा नेपाल फुटाएपछि तीन मन्त्रालय पाउने सहमतिमा सरकारमा गएका कारण थप एउटा पनि दिनैपर्ने बाध्यता एमाले र माओवादीलाई रहेको एक नेताले बताए । वैशाख २३ गते बनेको जसपाका हाल सातजना सांसद छन् ।

तर डा. सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्र सरकारमा पनि दाबी गरे जसपालाई फकाएर्र मिलाउने पक्षमा नेताहरू देखिन्छन् ।

पर्यटनमा रञ्जिता, मधेसमा जनमत

सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भएको वार्तामा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जितालाई पर्यटन मन्त्रालय दिएर सरकारमा ल्याउने सहमति भएको छ ।

स्रोतका अनुसार तीन नेता बसेर नाउपालाई यो साताभित्रै सरकारमा ल्याउने सहमति भएको छ । अध्यक्ष श्रेष्ठले पनि आफू मन्त्री हुन लागेको खबरहबलाई बताइन् । उनले भनिन्, ‘कुरा फाइनल भएको छ । अब प्रधानमन्त्रीले बोलाउनु हुन्छ होला ।’

यस्तै, मधेस प्रदेश सरकारमा जनमत पार्टीलाई नेतृत्व दिने पनि सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका एक सदस्यले भने, ‘जनमतले केन्द्रमा पनि दाबी गरेको छ । तर उहाँहरुलदाई मधेसको नेतृत्व दिने हो ।’

जनमत अध्यक्ष राउतले पनि मधेस सरकारको नेतृत्व पाए केन्द्रमा समर्थन गरेर जान सक्ने सम्भावना रहेको खबरहबसँग बताएका थिए ।

यता प्रधानमन्त्रीनिकट स्रोतले पनि जनमतलाई मधेस सरकारको नेतृत्वमा पठाउन शीर्ष नेताहरू सहमति भइसकेको दाबी गरेको छ ।

ती नेताले भने, ‘बुधबारसम्म एकीकृत समाजवादीले पनि मधेस सरकार छाड्छ । जनमतबाट मुख्यमन्त्री हुनुहुन्छ । हामीले सहयोग गर्छाैं ।’

यता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गठबन्धनको सर्तअनुसार नै मधेसमा सरकार बन्ने बताइसकेका छन् । त्यहीअनुसार मंगलबार समाजवादीले मधेस सरकारबाट आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ ।

जनमत प्रवक्ता शरदसिंह यादवका अनुसार जेठ २८ अघि नै मधेसमा जनमतको सरकार बनाउने तयारी छ ।

माओवादीबाट को–कसको दाबी ?

माओवादीले अहिलेका मन्त्री फिर्ता गरेपछि आकांक्षीहरुमा सांसद माधव सापकोटा पहिलो नम्बरमा छन् । उनलाई सूचना तथा सञ्चार या परराष्ट्र मन्त्रालय दिने सम्भावना छ । यस्तै अन्य नेताहरूमा राजन दाहाल र महेन्द्रबहादुर शाही छन् । तीमध्ये एकजना मन्त्री हुने छन् ।

तामाङलाई शक्ति बस्नेतले छाडेको ऊर्जा मन्त्रालयमा पठाएर दाहाल या शाहीमध्ये एकले माओवादीले छोडेको मन्त्रालय सम्हाल्ने छन् ।

यता एकजना महिला सांसदलाई राज्यमन्त्रीमा पठाउनेबारे माओवादी पदाधिकारी बैठकमा कुरा भएको छ । राज्यमन्त्रीमा सुशीला श्रीपालीको नाम चर्चामा छ । यस्तै, छिरिङ लामाको पनि दाबी छ ।

तर छिरिङलाई अहिले राज्यमन्त्रीको जिम्मेवारी दिन प्रधानमन्त्री दाहाल तयार नभएको स्रोतको दाबी छ ।

माओवादीका एक पदाधिकारीले भने, ‘अघिल्लो पटक पदाधिकारी बैठकमा कुरा चलेको हो । तर नाममा ठ्याक्कै फाइनल भएको छैन । धेरैको दाबी भएकाले नाम टुंगिन बाँकी छ ।’