अन्तर्राष्ट्रिय

पञ्जाबमा सौर्य ऊर्जा जडान गर्ने घरधुरीको सङ्ख्यामा घट्यो

By खबरहब

July 04, 2024

काठमाडौं– सित्तैमा विद्युत् पाउने भएपछि भारतको पञ्जाबमा सौर्य ऊर्जा जडान गर्ने घरधुरीको सङ्ख्यामा कमी आएको पाइएको छ।

सरकारले पञ्जाबमा ३ सय युनिट विद्युत प्रतिमहिना सित्तैमा प्रदान गर्न थालेसँगै सौर्य ऊर्जा जडान गर्ने घरधुरीको सङ्ख्या घट्न थालेको हो ।

खालसाभक्सका अनुसार खासगरी फरिदाकोट र अमृतसरमा सौर्य ऊर्जा जडान गर्ने घरधुरी घटेका छन् । जालन्धरका सौर्य ऊर्जा जडान गर्ने एक जना विज्ञ परमिन्दर सिंहका अनुसार उच्च लागतका कारण पनि मानिसहरु सौर्य ऊर्जा जडान गर्न हच्किने गरेका छन् ।

उनका अनुसार सौर्य ऊर्जाको प्यानल जडान गर्न डेढदेखि दुई लाख भारतीय रुपैयाँसम्म लाग्दै आएको छ ।

समाचारमा जनाइएअनुसार र ३ सय युनिट प्रतिमहिनाभन्दा धेरै विद्युत् प्रयोग गर्ने घरधुरीले भने अझै पनि सौर्य प्यानल जडान गर्ने गरेका छन् । त्यसबाहेक पछिल्लो समय सौर्य प्यानल निजी आवासीय भवनभन्दा पनि सरकारी कार्यालयमा बढी जडान हुने गरेको छ ।