समाचार

‘संघीय निजामती सेवा ऐन समयमा नआउँदा कर्मचारी व्यवस्थापनमा समस्या देखियो’ 

By खबरहब

July 04, 2024

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा ऐन समयमा नै आउन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले मुलुक संघीयतामा गएको लामो समय हुँदा पनि आवश्यक ऐन समयमा नै ल्याउन नसक्दा संघ र प्रदेशको कर्मचारी व्यवस्थापन गर्न कठिन भएको बताएका हुन् ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदा आफूले निकै दबाब महसुस गरेको उनको भनाइ छ । उनले निश्चित मापदण्ड नहुँदा स्थानीय तहमा खटाएका कर्मचारी कार्यस्थलमा जान नखोज्ने र गएका कर्मचारीहरूलाई पनि हाजिर गर्न नदिने प्रवृत्तिहरू देखा परेको धारणा राखे । मुलुकको राजनीतिक अस्थिरताका कारण पनि मन्त्रालयमा गएर सहज रूपमा काम गर्न नसकेको उनको भनाइ छ ।

उनले प्रदेश तथा स्थानीय तहमा सम्बन्धित निकायको अनुरोधमा सरकारबाट कर्मचारी व्यवस्था गरिँदै आएको जानकारी दिए ।