राजनीति

जम्बो कमिटीतिर एकीकृत समाजवादी- २९ पदाधिकारी, ३९९ जनाको केन्द्रीय समिति

By खबरहब

July 04, 2024

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या बढाउने भएको छ।

चार दिनदेखि काठमाडौंको कमलादीमा जारी दशौं महाधिवेशनले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूको संख्या पनि थपेको छ।

अहिले समाजवादीको विधानमा २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्य रहने व्यवस्था छ।

तर सहमतिबाट नेतृत्व चयन गर्नेभन्दै समाजवादीले २९ जना पदाधिकारी र ३९९ सय सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ।

शीर्ष नेतृत्व तहमा यसबारे सहमति भइसकेको छ । अब महाधिवेशनको हलबाट औपचारिक निर्णय हुन बाँकी रहेको केन्द्रीय सदस्य सुदेश पराजुलीले खबरहबलाई बताए ।

नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनमा १८५३ प्रतिनिधि सहभागी भएका छन् ।

अहिले नेकपा एमालेमा ३०१ जनाको केन्द्रीय कमिटी रहेको छ । उता मा‌ओवादीको केन्द्रीय कमिटी २९९ सदस्यीय छ ।

एमालेमा अहिले १५ सदस्यीय पदाधिकारी छन् भने माओवादीमा २१ सदस्यीय पदाधिकारी टिम रहेको छ ।