समाचार

पर्सामा ९० प्रतिशत रोपाइँ सकियो

By खबरहब

August 04, 2024

पर्सा– पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ ।

केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पर्सामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको बताए । उनले यो वर्ष पाँचदेखि सात प्रतिशतसम्म धान धेरै फल्ने अनुमान रहेको बताए ।

केन्द्रका अनुसार हालसम्म पर्सामा ४२ हजार तीन सय ९२ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । पर्सामा ४७ हजार एक सय तीन हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

गण्डक नहरबाट पनि समयमा नै पानी उपलब्ध भएकाले रोपाइँ सहज भएको हो । पर्सामा आर्थिक वर्ष २०७८–०७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन धान उत्पादन भएको थियो । यहाँका किसानले हरदिनाथ, सोनामन्सुली र सावित्री जातका धान रोप्दै आएका छन् ।